आफ्नै पार्टीको नेतृत्व प्रति खनिए प्रचण्ड र मेलम्ची ठेक्का रद्ध: गत ७ दिन नेपालमा

Prachanda speaking in Bharatpur.

Prachanda speaking in Bharatpur. Source: RSS

नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी सरकारप्रति जनाए असन्तुष्टि र खानेपानी मन्त्रालयले इटालीयन कम्पनी सीएमसी दि राभेनासंगको मेलम्ची ठेक्का सम्झौता रद्ध। गत ७ दिनका नेपालका केहि प्रमुख समाचार।


आफ्नै पार्टीको नेतृत्व प्रति खनिए प्रचण्ड

नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी सरकारप्रति असन्तुष्टि जनाएका छन्। राजधानी काठमाण्डूमा शुक्रबार आयोजित एउटा पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उनले सरकारले संघियता कमजोर पार्ने गरी अघि बढेको पनि आरोप लगाए।

उनले माओवादीलाई सिद्धाएको ठानिएमा अर्को माओवादी जन्मिने र अझ ठूलो लडाइँ हुने चेतावनी पनि दिए। "बिस्तारै बिस्तारै अब माओवादीहरुलाई सिद्धयाइ हालियो भन्ने कसैले ठानेको छ भने त्यो दूर्भाग्यपूर्ण हुन्छ। अर्को माओवादी जन्मिन्छ झन् ठूलो लडाई हुने खतरा आउँछ। सोचौं अहिलेको स्थितिमा देशले त्यो धान्न सक्ला," उनले भने।

"हामीले नगरे पनि,  हामीले जहाँ छौं त्यही उभिँदा उभिँदै पनि मधेशमा एक ढङ्गले र पहाडमा अर्को ढङ्गले बिकराल स्थिति सृजना हुनसक्छ। त्यो हिजो जस्तो सजिलै १२ बुँदे, शान्ति सम्झौतामा हस्ताक्षर र सजिलै देशलाई अघि बढाउने युगान्तकारी परिवर्तनतर लागने नहुन पनि सक्छ।"

नेकपा एमालेसंग एकता गरे यता पहिलो पटक उनको यस्तो अभिव्यक्ति आएको हो। भेनेजुएला प्रकरओबारे नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको फरकमत बाहिर आएपछि प्रचण्डले दिएको यस्तो चेतावनीलाई धेरैले नयाँ पार्टीमा देखिको दरारका रुपमा लिएका छन्।

प्रचण्डले आफ्नै दलका नेता गृहमन्त्री भएका बेला शान्ति सम्झौता विपरित प्रहरीले गिरफ्तार गर्न थालेको प्रति आपत्ति जनाए। जनआन्दोलन,  शान्ति सम्झौता र संविधानको मर्म अनुसार शान्ति प्रकृया कार्यान्वयन् नभएको उनले बताए।

Nepal's foreign minister Mr Pradeep Gyawali.
Nepal's foreign minister Mr Pradeep Gyawali. Source: RSS

भेनेजुएला बारे ओली र प्रचण्डको फरक मत

भेनेजुएला प्रकरण बारे नेपालका सत्तारुढ दल नेकपाका दुईजना अध्यक्षहरुबीच मतभेद देखिएको छ। केहि साता अघि सत्तारुढ दलका एकजना अध्यक्ष प्रचण्डले भेनेजुएलामा उत्पन्न राजनीतिक संकटमा बाहिरी हस्तक्षेप भएको भन्दै त्यसको विरोधमा वक्तव्य निकालेका थिए। 

उनको वक्तव्यका कारण शक्तिशाली राष्ट्र अमेरिकासंगको कुटनीतिक सम्बन्ध बिग्रन सक्ने खतरा रहेको परराष्ट्र मामिलाका जानकारहरुले औंल्याएका थिए।

त्यस लगत्तै परराष्ट्र मन्त्रालयले पनि एउटा वक्तव्य जारी गर्यो। तर त्यो पनि सन्तुलित नभएको बताइएको छ। उक्त विषयमा नेकपाको सचिवालयले पनि सोमवार अर्को विज्ञप्ति निकालेको थियो।

नभन्दै अघिल्लो साता नेपाल सरकारले विभिन्न कुटनीतिक नियोगका अधिकारीहरुलाई डाकेको कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‌यान्डी बेरी उपस्थित भएनन्।

त्यसलगत्तै राजदूत बेरीले प्रधानमन्त्रीलाईनै भेटेको विवरणहरु बाहिर आए।

उक्त भेटपछि जनतासंग प्रधानमन्त्री भन्ने एउटा कार्यक्रमा प्रधानमन्त्री ओलीले भेनेजुएला प्रकरणमा पार्टीका अर्का अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्ति चिप्लिएको भन्दै घुमाउरो पारामा कूटनीतिक गल्ती भएको स्वीकारे। कार्यक्रम प्रस्तोताको एउटा प्रश्नको जवाफ दिँदै भने, "म त्यसबेला नेपालमा भएको भए त्यस्तो किसिमको विज्ञप्ति पनि आउने थिएन।"

प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको केहि घण्टापछि नै प्रचण्डले त्यसको विरोधमा बोले।

चीतवनमा सञ्चारकर्मीहरुले भेनेजुएला प्रकरणबारे राखेका जिज्ञासाको उत्तरमा उनले नेकपा सचिवालय बैठकले जारी गरेको विज्ञप्ती अगाडि सार्दै भेनेजुएला मामिलामा आफ्नो आडा आधिकारीक रहेको बताए।

"प्रधानमन्त्री समेतको सचिवालयको बैठक बसेर हस्तक्षेपको विरोधमा नै वक्तव्य जारी भएको हुनाले अब अरु कुराले केहि अर्थ राख्दैन," प्रचण्डले भने।

दुई अध्यक्षबीच देखिएको मतभेदले पार्टी एकिकरणमा समेत असर पार्नसक्ने आशंका धेरैले व्यक्त गरेका छन्।

मेलम्ची ठेक्का रद्ध

खानेपानी मन्त्रालयले इटालीयन कम्पनी सीएमसी दि राभेनासंगको ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरेको हो। उक्त कम्पनीले बिचमै काम छाडेर गएपछि राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको काम अलपत्र परेको थियो।

मेलम्ची खानेपानी विकास समितिको बोर्डको बिहिवार बसेको बैठकले ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरेको हो। सन् २००१मा शुरु भएको उक्त आयोजना विभिन्न कारणले सकिन सकेको छैन।

पछिल्लो घटना क्रमका कारण यो अझ केहि वर्षपछि धकेलिने अधिकारीहरु स्वयंमले स्विकारेका छन्।

राजदूतले लिए सपथ

दुई देशका राजदूत तथा न्यूयोर्कका लागि नेपालको स्थायी प्रतिनिधिले शुक्रबार सपथ लिएका छन्।

जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई, संयुक्त राष्ट्र संघ, न्यूयोर्कका लागि नेपालको स्थायीप्रतिनिधि अमृतबहादुर राई र इजरायलका लागि नेपालको राजदूत अन्जान शाक्यले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

President Bidhya Devi Bhandari administering oath of office to Nepali ambassadors.
President Bidhya Devi Bhandari administering oath of office to Nepali ambassadors. Source: RSS

नेत्रहिन महिला टोलीले जित्यो क्रिकेट श्रृङ्खला

पहिलो अन्तराष्ट्रिय श्रृङ्खला खेलेको नेपाको नेत्रहिन महिला क्रिकेट टोली विजयी भएर स्वदेश फर्केको छ। पाकिस्तानमा उसै विरुद्ध खेलेको पाँच खेलको श्रृङ्खला नेपालले जितेको हो। नेपालले सन् २००९ देखिनै नै नेत्रहिन महिला टोली बनाएको थियो। 

एनसेललाई लाभकर तिर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभकर एनसेल र विदेशी कम्पनी आजिएटाबाट असुल गर्न सरकारलाई बुधबार परमादेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको बृहत पूर्ण इजलासले एनसेल, सेयर बारोबार रहेका बिदेशी कम्पनी तथा अधिवक्ता भावेश गौतका रिट निवेदन खारेज गर्दै कर तिर्नुपर्ने फैसला सुनाएको हो। एनसेलको प्रभावकारी नियन्त्रण आजिएटा कम्पनीकै नियन्त्रइमा रहेका कारण करको दायित्व पनि एनसेल र उसैको हुने निर्णय सर्वोच्चले गरेको हो।

तर उक्त किनबेच बापत एनसेल र आजिएटाले कति लाभकर तिर्न पर्ने हो भन्ने अझै निर्क्योल नभएको अधिकारीहरुले बताएका छन्। "सर्वोच्च अदालतले फैसलाको पूर्णविवरण पठाएपछि पुन: हिसाब गरेर एनसेलसंग कर असुली गरिने छ,"अर्थमन्त्री युवराज खतिवडाले भने। 

निर्मलाको हत्याबारे संसदमा प्रश्न उठ्यो

कन्चनपूरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याभएको लामो समय बितिसक्दा पनि हत्यारा पत्ता नलागेको विषय फेरी संसदमा उठेको छ। योसाता सासंदहरुले मन्त्रीहरुलाई प्रश्न सोध्ने कार्यक्रम रहेको थियो। जसमा प्रतिपक्षी दलका सासंदहरुले गृहमन्त्री रामबहादुर थापालाई यसविषयमा प्रश्न गरेका थिए।

Home minister Ram Bahadur Thapa answering question from Nepali Congress MP in Parliament.
Home minister Ram Bahadur Thapa answering question from Nepali Congress MP in Parliament. Source: RSS

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एकजना सासंद डीला संग्रौलाले गृहमन्त्रीलाई, "निर्माला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरी मुद्दा किन चलाइएन? बलात्कार र हिंसाको श्रृङ्खला कहिले रोकिएला?" भनी प्रश्न गरेकी थिइन्।

त्यसो जवाफमा गृहमन्त्री थापाले अनुसन्धान जारी रहेको जवाफ दिएका थिए। "यसबारे अनुसन्धानमा लापरवाही गर्ने प्रहरीलाई कारबाही गरिसकेको छ। कुनै अपराध प्रहरीले तुरुन्तै पत्ता लगाउन सक्दैन। यो प्रकरणले पनि समय लिएको छ," गृहमन्त्री थापाले भने।

घटना भएको ६ महिना बितिसक्दा पनि प्रहरीको अनुसन्धानले दोषी पत्ता लगाउन नसकेको विषयले निकै चर्चा पाएको छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now