निर्मला बलात्कार र हत्या प्रकरणमा थप ५ प्रहरी अधिकृत निलम्बन
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँच जना प्रहरी अधिकृतलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
उच्च स्तरीय छानबिन समितिको प्रतिवेदनलाई आधार मानेर गृह मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, सिआइबीका प्रहरी नायव उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको जानकारी दिएको छ ।
गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित उच्च स्तरीय छानबिन समितिले शनिबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएका थिए ।
यसअघि गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई निलम्बन गरेको थियो।

..
निर्मलाका निम्ति न्याय माग्दै देशभर प्रदर्शन
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिलाउन राजधानी लगायत देशभर विशाल प्रदर्शन भएको छ। श्निबार राजधानीसहित पोखरा, पाँचखाल, रोल्पा र पाल्पा लगायत ठाउँमा निर्मला पन्तलाई न्याय दिलाउन प्रदर्शन भएको थिए।
घटना भएको ५० दिन बितिसक्दा सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै नागरिक समाज र सामाजिक अभियन्ताको अगुवाईमा ‘निर्मलाका निम्ति न्याय’ नारासहित काठमाडौंमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको थियो।
...
न्यायका लागि छट्पटिरहनु दुःखद: राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेकी छन् ।
राष्ट्रिय बाल दिवसलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु र आमा न्यायका लागि छट्पटिरहनु दुःखद रहेको प्रतिक्रिया दिएकी थिइन् ।
उनले बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गरेकी थिइन् ।

...
चिकित्सकलाई आन्दोलन नगर्न अन्तरिम आदेश
सर्वोच्च अदालतले अत्यावश्यकीय सेवाअन्तर्गत पर्ने चिकित्सा सेवा ठप्प पार्ने कार्य नगर्न र नगराउन चिकित्सकका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
फौजदारी संहितामा राखिएको इलाजसम्बन्धी प्रावधानमा आपत्ति जनाउँदै चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेपछि परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।
न्यायाधीश दीपकराज जोशीको इजलासले सरकार र चिकित्सक संघबीच भएको सम्झौतासमेत यथास्थितिमा राख्न आदेश दिएको थियो ।
..

खुस्बुलाई एएफसी ड्रिम अवार्ड
एसियन फुटबल फेडेरेसन (एएफसी) ले सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड २०१८ प्रदान गरेको छ । बुधबार मलेसियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्व अन्तर्गतको सम्मेलनमा खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको राखेपले जानकारी गराएको थियो।
एएफसीले प्रत्येक वर्ष तीन विधाअन्तर्गत कर्पोरेट, नन–गभर्नमेन्ट अर्गानाइजेसन र व्यक्तिगततर्पm यो अवार्ड प्रदान गर्दै आइरहेको छ । खुस्बुलाई एएफसीले व्यक्तिगत विधाअन्तर्गत अवार्ड प्रदान गरेको थियो।
सडक बालबालिकाका लागि आश्रय दिँदै आएकी खुस्बुलाई एएफसीको सोसियल रेस्पोन्सिबिलिटी कमिटीका अध्यक्ष अहमद इद एल हर्बीले अवार्ड प्रदान गरेका थिए ।
खुस्बुलाई अवार्डसँगै नगद १० हजार अमेरिकी डलरसमेत प्रदान गरिएको थियो ।
सेल्टर नेपालकी अध्यक्ष खुस्बुले एक हजार सडक बालबालिकालाई फुटबलको माध्यमबाट विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकी थिइन् ।
...




