हास्यकलाको अनुहार फेर्दै नेपाली युवाहरू

Nepali stand up comedy in Australia

Source: SBS Nepali

हरेक दिन मञ्चमा उभिएर हास्यव्यङ्ग्य प्रस्तुति दिन असम्भव रहने विगतको अवस्थालाई पछिल्लो समयमा नेपाली युवाहरूले फेरिदिएका छन्।


वर्षमा एक पटक गाईजात्राको समयमा हुने विभिन्न कार्यक्रमहरू पर्खेर बस्नु पर्ने नेपाली मनोरञ्जन क्षेत्रमा हास्यव्यङ्ग्य प्रस्तुतिहरूले सधैँ प्रमुख हिस्सा ओगट्ने गरेको छ।

गाईजात्रालाई सामाजिक तथा राजनीतिक विकृतिहरू प्रति कटाक्ष गर्न पाउने एक मात्र दिनका रूपमा पाउने विगत बोकेको नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा पछिल्लो समय युवा पुस्ताहरूको आकर्षण बढेको छ।

नेपाली युवाहरूले आफ्नो हास्यव्यङ्ग्य कलालाई प्रस्तुत गर्न मञ्च पाउन थाले पछि विभिन्न सामाजिक सञ्जालहरू मा भाइरल हुँदा प्रस्तुति शैलीले पनि भिन्नै स्वरूप लिएको छ।

विशेष गरी मञ्चमा उभिएर दर्शक श्रोतालाई हँसाउन खोज्दा उनीहरूको भाषा छनौटलाई लिएर मिश्रित धारणाहरू आउने गरेका छन्।

यसै क्रममा शुक्रबार रक्डेल न्यु साउथ वेल्समा पनि हाँस्छ अस्ट्रेलिया नामक कार्यक्रम आयोजना गरिएको छ।

stand up comedy_nepali youth_nepali comedy
Source: sbs nepali

कार्यक्रममा उपस्थित कलाकार तथा दर्शकहरूलाई स्ट्याण्ड अप कमेडी प्रति युवाहरूको आकर्षण र यससँग जोडिएका विभिन्न पाटोहरूबारे कुरा गरेका थियौँ।

टेलिभिजनहरूमा पनि युवाहरूको गायन, नृत्य तथा अभिनय प्रतिभा देखाउनका लागी कार्यक्रमहरू सञ्चालनमा ल्याइए पनि हास्य कलालाई चलचित्र वा टेलीशृंखलाहरूमा मात्र समावेश गरिन्थ्यो।

परिणाम स्वरूप सामाजिक सञ्जालहरूको सहयोगमा पछिल्लो समयमा नेपाली युवा पुस्ताहरूले यस क्षेत्र प्रतिको आफ्नो रुचि खुलेर प्रस्तुत गरेका छन्।

सामाजिक सञ्जाल र स्ट्याण्ड अप कमेडी

कार्यक्रममा उपस्थित सबै स्ट्याण्ड अप कमेडियनहरूले सामाजिक सञ्जालले युवाहरूलाई हास्यकलासँग जोड्न मदत पुर्‍याएको बताएका छन्।

तर पनि सामाजिक सञ्जालमा आउने नकारात्मक टिप्पणीहरूले केही हदसम्म कलाकारहरूलाई निरुत्साहित पार्ने गरेको एकजनाको भनाइ थियो।

"जति पनि हामीमा लुकेको कलाहरूलाई बाहिर मान्छेहरूको अगाडी ल्याउन मदत गर्ने भनेको मिडिया नै हो तर त्यसो भनिरहँदा त्यहाँ आउने नकारात्मक कमेन्टले कलाकारहरूलाई निरुत्साहित गरेको जस्तो लाग्छ।"

stand up comedy_nepali youth_nepali comedy
Performers waiting for their turn. Source: sbs nepali

उनकै भनाइमा सही थाप्दै अन्याकलाकारहरूले पनि सामाजिक सञ्जाल कै कारण आफूहरू यहाँ सम्म आएको बताएका छन्।

सामाजिक सञ्जालहरूमा भाइरल भएका कतिपय स्ट्याण्ड अप कमेडीका सामाग्रीहरूमा हँसाउन कै लागी अपशब्दहरूको प्रयोग हुने गरेको भन्दै यस्ता प्रस्तुतिहरूको आलोचना हुने गरेका छन्।

भाषा छनौट

गाली गलौजपूर्ण भाषा प्रयोग कत्तिको जरुरी छ त भन्ने सम्बन्धमा कार्यक्रम हेर्न आएका एक दर्शक उत्सव आचार्य दर्शकलाई के कुराले छुन्छ भन्ने कुराले महत्त्व राख्ने बताउँछन्।

दर्शकको भावनासँग जोडिने गरी समाजमा बहिष्कृत विषयका बारेमा पनि हास्यव्यङ्ग्यको माध्यमबाट कुरा गर्न सकिने उनको भनाइ छ।

अर्का दर्शक आकाश बुढाथोकीको बिचारमा चाहिँ सभ्य भाषा प्रयोग गरेर पनि हँसाउन सम्भव रहेको छ।

stand up comedy_nepali youth_nepali comedy
Source: sbs nepali

उनी भन्छन् समाजमा नपच्ने शब्दहरूलाई पनि व्यङ्ग्यात्मक ढङ्गबाट प्रस्तुत गर्न सकिन्छ।

त्यस्ता शब्द प्रयोग गर्छु भन्ने मनसायले मात्र नभएर कथाले मागेको हो भने त्यसलाई दर्शक श्रोताले सहज रूपमा लिने उनको भनाइ रहेको छ।

"तर जबर्जस्ति हँसाउन कै लागी अरू कुनै शब्दहरू प्रयोग नगरेर अरू कलात्मक बनाउन नसकेर त्यो शब्दहरू ल्याएको हो भने त्यो कुरा अडियन्सले यत्तिकै पनि थाहा पाउँछन्।"

हँसाउन कत्तिको सजिलो ?

आफ्नो प्रस्तुतिका लागी पालो पर्खेर बसेका युवाराज राउतले मञ्चमा जानु पूर्व धेरै नै आशङ्कित हुने गरेको बताएका छन्।

त्यसरी नै उनी सँगै बसेका बबिन बानिया आफ्नै शैलीमा कुरा गर्ने भएकोले दर्शक नहाँस्दा पनि खासै फरक नपर्ने बताउँछन् तर दर्शकको हाँसोले प्रोत्साहन मिल्ने भने उनले स्वीकारे।

stand up comedy_nepali youth_nepali comedy
Source: sbs nepali

दर्शकलाई हँसाउन कतिको गाह्रो छ भनेर सोध्दा रुपक बुढाथोकीले मजाकिया शैलीमा भने "लास्टै गाह्रो छ, पेटमा काउकुती लगाउने कुरा भएन, बोलीले गर्नु पर्छ गाह्रो छ।"

मनित दाहालले मानिसलाई हँसाउन सर्वप्रथम उनीहरूले बुझ्ने किसिमले सरल तरिकाले प्रस्तुति दिनु पर्ने बिचार व्यक्त गरे।

"सही शब्दहरूको चयन र वास्तविकतासँग जोडियो भने हँसाउन त्यति गाह्रो हुँदैन।"

कार्यक्रमबारे

कार्यक्रमका प्रस्तोता दिनेश लामिछानेले हरिवंश आचार्यद्वारा निभाइएको चर्चित पात्र हरिबहादुरको दुरुस्तै नक्कल गरेका थिए।

stand up comedy_nepali youth_nepali comedy
Dinesh Lamichhane as Chari Bahadur. Source: sbs nepali

मह सञ्चारको निर्माणमा बनेको मदन बहादुर हरि बहादुर टेलीश्रिङ्खलामा चरीबहादुरको नामले दिनेश लामिछाने आफैँ यस्तै भूमिकामा देखिएका थिए।

हास्यव्यङ्ग्य सम्बन्धित नै कार्यक्रम भएकाले सहभागी स्ट्याण्डअप कमेडियनहरुको प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण हुने नै भयो।

कार्यक्रममा प्रस्तुति दिएका कलाकारहरूले अस्ट्रेलियामा नेपालीहरूको दैनिकी साथै समसामयिक विषयहरूलाई आफ्नो प्रस्तुतिको मुख्य विषय बनाएका थिए।

stand up comedy_nepali youth_nepali comedy
Prabin Acharya giving his musical performance. Source: sbs nepali

कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन गीत सङ्गीतहरू पनि प्रस्तुत गरिएका थिए।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now