गत मार्च ४ तारिख हृदयघातका कारण निधन भएका अस्ट्रेलियाका पूर्व क्रिकेट खेलाडी शेन वार्नको मङ्गलबार एक समारोहका बिच अन्तिम बिदाइ गरिँदै छ।
वार्नको प्रिय मैदान- मेलबर्न क्रिकेट ग्राउन्डमा ३० मार्चको बेलुकी ७ बजेपछि उनको सम्झनामा कार्यक्रम सुरु हुने र त्यसैको साथ उनको सार्वजनिक अन्तिम बिदाइ गरिने बताइएको छ।
आफ्ना केही साथीहरूसँग थाइल्यान्ड छुट्टी मनाउन गएका ५२ वर्षीय वार्न त्यहाँ रहेको रिसोर्टको कोठामा मृत भेटिएका थिए।
अस्ट्रेलियामा मात्र नभएर विश्व भरि नै ख्याति कमाएका वार्नको सम्मानमा मेलबर्न क्रिकेट ग्राउन्डको एक भाग उनको नाममा नामाकरण गरिने भिक्टोरियाको राज्य सरकारले यस महिनाको सुरुमा घोषणा गरेको थियो।

उनी निधन भएको समाचार आएपछि, मेलबर्न क्रिकेट ग्राउन्डमा रहेको उनको सालिक वरपर सर्वसाधारणहरूले सम्मान स्वरूप फुल, बियरको क्यान, चुरोटको बट्टाहरू र मिट पाई समेत छोडेका छन्।
एक छोरा र दुई छोरीका बाबु रहेका वार्नको परिवारले केही दिन अघि मात्र एक निजी कार्यक्रम आयोजना गरी उनको बिदाइ गरेको थियो।
हातमा जादु भएका बलर
वार्नले अस्ट्रेलियाको लागि खेल्न सुरु गर्दा, अन्तराष्ट्रिय क्रिकेटमा स्पिन बलिङको खासै महत्त्व थिएन।
तेज गतिको बलरहरूको खोजीमा सबै टोलीहरू रहन्थे। वेस्ट इन्डिजसँग कर्ट्नी वाल्स र कर्टली एम्ब्रोसजस्ता तेज गतिका बलरहरू थिए, र विपक्ष टोलीहरूलाई उनीहरूको सामना गर्न हम्मे हम्मे पर्थ्यो।
वार्न त थिए स्पिन बलर, धेरै बिस्तारै उनी बल फाल्थे।

त्यही माथि भारतसँग उनले टेस्ट करियर सुरु गर्दा, खासै सफलता पाएका थिएनन्। उनी विरुद्ध खेल्न कुनै गाह्रो हुने कुरै भएन।
तर वार्न साधारण स्पिन बलर थिएनन्। उनले फालेको बल, हावामै घुम्दै गई भुईँलाई छुन्थ्यो, अनि फेरि फनक्कै घुम्थ्यो।
विपक्ष ब्याट्सम्यानहरू चालनै पाउँदैनथे-, बल अहिले कता छ, अनि कता गइरहेको छ भन्ने भेउ पाउन्जेलसम्म, उनीहरूको विकेट चईट्। वार्न अनि खुसीयालीमा बुरुक्क उफ्रन्थे। ब्याट्सम्यान चाहिँ निराश भएर पेबेलिएन फर्कन्थे।
सन् १९९३ मा एशेज सिरिजमा वार्नले बेलायतका माईक ग्याटिङ्गलाई यस्तै बल फालेर आउट गरेका थिए।
बल सिधा जाला भनी सोचेका ग्याटिङ्गले, बललाई रोक्न आफ्नो खुट्टा अघि सारे। तर उनको खुट्टाको अघिल्तिर झरेको बल, भुईँ छुनासाथ झन्डै ४५ डिग्रीको कोण बनाई स्टम्सलाई छुन पुग्यो।
अहिले यही बललाई शताब्दीकै उत्कृष्ट बल भनी चिनिन्छ।

क्रिकेटको मुख पत्र- विजडनले वार्नलाई गत शताब्दीकै मुख्य पाँच खेलाडीहरूमध्ये एक भनी घोषणा गरेको थियो।
सन् २००७ सालमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका वार्नले टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट, ७०८ लिई नयाँ रेकर्ड बनाएका थिए।अहिले श्रीलङ्काली खेलाडी मुथैय्या मुरलीधरन, ८०० विकेट लिई अग्रस्थानमा रहेका छन्।
सन् १९९० को मध्यदेखि सुरु भएको अस्ट्रेलियाली क्रिकेटको सशक्त प्रदर्शनको लागि वार्नको ठूलो भूमिका रहेको छ।
टेस्ट क्रिकेटमा महाद्वन्द भनी चिनिने एशेज शृङ्खलामा उनले बेलायतका ब्याट्सम्यानलाई झुक्काई झुक्काई आउट बनाउँथे।
उनको बलिङ औसत २५.४१ रहेको थियो। यसको अर्थ, औसतमा एक विकेट लिन उनले पच्चीस रन दिनु पर्थ्यो। कुनै पनि बलर, त्यही माथि स्पिन बलरको लागि यो औसत निकै नै आकर्षक हो।
भारतीय उपमहाद्वीपमा सङ्घर्ष
तर टेस्ट क्रिकेट खेल्ने धेरै टोलीहरूलाई कडा चुनौती दिने वार्न, स्पिन बलरहरूको लागि महाभूमि मानिने भारतमा भने खासै सफल हुन सकेनन्। उनको बलिङ औसत २५ बाट ४७ पुगेको उनको रेकर्डले देखाउँछ।
सन् १९९८ को भारतविरुद्धको बहुचर्चित टेस्ट सिरिजमा, वार्नले मात्र १० विकेट लिन सफल भएका थिए, जबकि भारतीय स्पिनर अनिल कुम्बले १८ विकेट हात पार्न सफल भई, तिन टेस्टको शृङ्खलामा २-१ ले जीत हात पार्न सफल भएको थियो।

अस्ट्रेलियाका यी जादुमय स्पिनरसँगै श्रीलङ्काली टोलीका अर्का कसिश्मामय स्पिनर मुरलीधरनले पनि लगभग एकै समयमा अन्तराष्ट्रिय क्रिकेटमा सक्रिय रहेका थिए। तुलनात्मक रूपमा वार्नको बलिङ औसतभन्दा मुरलीधरनको राम्रो रहेको थियो।
वार्नको बलिङमा भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर, वि वि एस लक्ष्मण, राहुल द्रविण लगायतकाले निकै राम्रोको प्रदर्शन गरेपछि, भारतीय टोलीले त्यहाँ भएको शृङ्खलामा निकै राम्रो सफलता पाउन सकेको थियो।
तर खेल जीवनबाट सन्यास लिएपछि, वार्नले भारतमा सुरु भएको आइपिएल भनिने क्लबहरूबिच गरिने क्रिकेट प्रतिस्पर्धाको पहिलो संस्करणमा भाग लिएका थिए। राजस्थान रोयल्सको क्याप्टेन समेत रहेका वार्नले आइपिएलको पहिलो कपमा विजय हासिल गरेर इतिहास रचेका थिए।
सन्यास पछि क्रिकेटमा संलग्नता
सक्रिय खेलाडी जीवनबाट सन्यास लिए पनि वार्नले क्रिकेट छोड्न सकेका थिएनन्। उनी अस्ट्रेलिया, बेलायत, भारत लगायतका देशहरूमा क्रिकेट कमेन्ट्रीमा निकै सक्रिय रहेका थिए।
त्यस बाहेक नयाँ पुस्तालाई खेलको बारेमा तालिम र सीप प्रदान गर्ने विषयमा पनि वार्नको निकै माग रहेको थियो।
उनमा रहेको मानवीय सहयोगको भावनाको पनि अहिले पूर्व खेलाडीहरूले चर्चा गरिरहेका छन्।

श्रीलङ्काली क्रिकेटका क्याप्टेन रहेका अर्जुना रनतुङ्गा र तिलकरत्ने दिलशान लगायतका खेलाडीहरूले, श्रीलङ्कामा सन् २००४ को सुनामी पछि उद्धार र राहत कार्यक्रममा वार्नको सक्रियताको कदर गर्दै उनको प्रशंसा गरेका छन्।
उता नेपालमा पनि वार्नको सम्झनामा एक क्रिकेट टुर्नामेन्ट आयोजना हुँदै छ।
नेपालको पूर्व राष्ट्रिय खेलाडी आमिर अख्तरको अगुवाइमा हुन लागेको यस प्रतिस्पर्धामा नेपाल, भारत, बङ्गलादेश, मलेसिया लगायतका क्लबहरूले भाग लिने बताइएको छ।
