रोयल होबार्ट अस्पतालमा उपचार गराइरहेका एक वृद्धावस्थाका मानिसको मृत्युका साथै तास्मानियामा कोरोनाभाइरस सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने अस्ट्रेलियाभर १९ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्।
तास्मानियाका प्रिमियर पिटर गटविनले उक्त दोस्रो मामिलाको पुष्टि गर्दै उक्त घटनाले “हामी सबैलाई सन्देश छ” भनेका छन्।
“यो भाइरस घातक छ, यो भाइरसले तपाईँलाई मार्नेछ,” गटविनले भने।
“सामाजिक दुरी र अन्य नियमहरूको पालना गरे ज्यान बच्छ, तपाइको परिवारको र हाम्रो समुदायमा जीवन जोगिन्छ।”
यस अघि, सोमवार राज्यको बर्नी स्थित नर्थ वेस्ट रिजनल अस्पतालमा एक ८० वर्षिया वृद्धाले कोभिड-१९ सङ्क्रमणका कारण आफ्नो ज्यान गुमाउन पुगेकी थिइन्।
तास्मानिया राज्यकी स्वास्थ्य मन्त्री सेरा कर्टनीका अनुसार यी दुवै मृत्युहरूको सम्बन्ध रुबी प्रिन्सेस क्रुज जहाजसँग रहेको छ।

रुबी प्रिन्सेस क्रुज जहाजका कारण अस्ट्रेलियामा कोभिड-१९ सङ्क्रमण हुने मानिसहरूको सङ्ख्या सयौँ रहेको बताइँदै गर्दा सार्वजनिक स्वास्थ्य निर्देशक मार्क भिचले मङ्गलवार ज्यान गुमाउने पुरुष पनि उक्त जहाजका यात्रु रहेको खुलाए।
तास्मानिया हालसम्म कोरोनाभाइरस सङ्क्रमणका ६९ मामिलाहरू पुष्टि भइसकेका छन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
