SKIP TO MAIN CONTENT

"कोभिड-सेफ" यात्रा: अस्ट्रेलियाली विमानस्थल खोल्ने तयारी कस्तो छ?

अस्ट्रेलियाको सीमा सम्बन्धी व्यवस्था हेर्ने निकायका प्रमुखले महामारी पश्चात् बोर्डर खुल्दा अवलम्बन गरिने कामको सङ्केत दिएका छन्।

Perth Airport
Perth Airport Source: Wikimedia Commons

4 min read

Published

Updated



Skip to article content

कमिस्नर माइकल आउटरामले एक अनलाइन गोष्ठीलाई सम्बोधन गर्ने क्रममा आफूले अङ्ग्रेजी भाषा बोलिने पाँच प्रमुख पश्चिमी जगतका मुलुकहरूसँग सीमा खुलेपछि चालिने कदमहरू बारे छलफल चलिरहेको बताएका हुन्।

अस्ट्रेलियन बोर्डर फोर्स (एबीएफ) भनिने अस्ट्रेलियाली सीमा बलका आयुक्त आउटरामका अनुसार आफूहरूको तत्काल अस्ट्रेलियाली सीमा खोल्ने कुनै योजना नरहेता पनि निकट भविष्यमा सीमाहरू खुलेर अन्तर्राष्ट्रिय यात्रा पुनः सञ्चालनमा आए अस्ट्रेलिया तम्तयार रहन हाल अन्य देशहरूसँग वार्ता गरिरहेको छ।

माइकल आउटरामले भने कि संयुक्त राज्य अमेरिका, बेलायत, छिमेकी न्युजील्यान्ड र क्यानडा जस्ता राष्ट्रहरूसँग हाल अस्ट्रेलियाले कोभिड-१९ पछिको समयमा हुने सीमा व्यवस्थापन बारे सिकिरहेको छ।

“युरोप र उत्तर अमेरिकामा के भइरहेको छ भन्ने कुरा हाम्रो लागि रोचक छ किनकि  कोरोनाभाइरस निकै फैलिरहेकै बेला पनि उनीहरूले आफ्नो सीमा सुचारु राख्न कोसिस गरिरहेको छ जस्तो देखिन्छ," उनले भने।

Border Force (ABF) Commissioner Michael Outram.
Border Force (ABF) Commissioner Michael Outram. Source: AAP

आयुक्त आउटरामले अस्ट्रेलिया सहित बोर्डर फाइभ भनिने का ती अन्य देशका सीमा बलका अधिकारीहरूसित मासिक रूपमा वार्ता तथा अन्य छलफल चालू रहेको पनि बताए।

"हामी महिनै पिच्छे कुराकानी गरिरहेका छौँ, नोट साटासाट गरिरहेका छौँ, हामी आफूहरू कसरी काम गरिरहेका छौँ - एक अर्कालाई बताई रहेका छौँ; तपाईँको देशमा के भइरहेको छ, कसरी समस्याहरू समाधान गरिरहनुभइरहेको छ भनेर सोधखोज गरिरहेका छौँ।"

यसै गरी उनले इन्डोनेसिया, जापान, सिङ्गापुर, मलेसिया लगायतका देशका आफ्ना समकक्षीहरूसँग पनि फोन वार्ता चलिरहेको जानकारी उक्त अवसरमा दिए।

"राष्ट्रिय मन्त्रीपरिषद्ले हरियो बत्ती देखाउने बित्तिकै हामी ती अनुभवका आधारमा अस्ट्रेलियाको कार्यदिशा लागू गर्नेछौँ," सीमा बलका आयुक्तले भने।

"जस्तो कि हामीले सिङ्गापुरमा (अन्तर्राष्ट्रिय यात्रा सुचारु गर्न) के भइरहेको छ भनेर अध्ययन गरिरहेका छौँ  अनि न्युजील्यान्डसँग बायो सेक्योर करिडर बनाउन काम भइरहेको छ।"

People wearing protective surgical masks at Changi Airport in Singapore.
People at Changi Airport in Singapore. Source: AAP

सिङ्गापुरमा भइरहेको कामको बारेमा बयान गर्दै उनले अगाडी भने, "त्यहाँ केही यात्रुहरूलाई प्रस्थानको ७२ घण्टा अगावै कोभिड टेस्ट गर्नुपर्ने नियम छ।"

"र, साथै उनीहरूले यात्रा भन्दा १४ दिन अघिसम्म आफूले भनेकै देशमा रहेको पनि प्रमाणित गर्नुपर्छ जसबाट हामी कम जोखिम भएका गन्तव्य र हटस्पटहरू छुट्ट्याउन सकौँ।"

आउटरामले अन्तर्राष्ट्रिय यात्रुहरूले उडान भर्नु अघिका सबै चरणहरू पार गरे १४ दिने क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता पनि हट्न सक्ने सङ्केत दिएका छन्।

"त्यसपछि, मेरो बिचारमा ओर्लँदा ओेेर्लंदै वा अवतरण गरेको एक-दुई दिनमा परीक्षण गरेर १४ दिनको सट्टा केही दिन मात्र क्वारेन्टिनमा बस्न मिल्ने पनि हुनसक्छ," उनले कमिटी फर इकोनोमिक डेभेलप्मेन्ट अफ अस्ट्रेलिया (सेडा)को अनलाइन गोष्ठीका सहभागीहरूलाई सम्बोधन गर्दै भने।

Sydney Airport earlier in the pandemic.
Sydney Airport earlier in the pandemic. Source: Getty

यी व्यवस्थाका अलावा कमिस्नर माइकल आउटरामले देश भित्रैकै निकायहरूसँग पनि विभिन्न स्तरमा काम भइरहेको बताएका छन्।

"हामीले हवाई अड्डा सञ्चालकहरूसँग पनि धेरै काम गरिरहेका छौँ, जस्तो कि सिड्नीमा हामीले विमानस्थललाई दुई भागमा विभाजन गर्नुपर्ने आवश्यकता देखेका छौँ - एउटा रातो क्षेत्र र अर्को हरियो क्षेत्र," उच्च जोखिम भएका स्थानबाट र बायो सेक्योर करिडरबाट आउने यात्रुहरू बिच कुनै संसर्ग हुन नपाओस् भन्ने सोच बारे स्पष्ट पार्दै उनले भने। 

"यसको अर्थ के पनि हो भने सबै बोर्डर एकसाथ एक्कासि खुल्ने छैनन्। विभिन्न मानिसका लागि शायद विविध नियम लागू हुन्छन् होला।"

मध्य मार्चदेखि अस्ट्रेलियाको सीमा गैर नागरिक तथा अस्थायी भिसा धारकहरूका लागि बन्द छ।

अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ९ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारी

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now