अस्ट्रेलियन भिजिटर भिसाका लागि पखाई समय
- पर्यटक भिसाका लागि नेपालबाट परेका आवेदनमा ८३.३ प्रतिशतले भिसा पाए।
- चीनिया पर्यटकले भिसाका लागि चार महिनासम्म कुर्नु पर्यो।
अस्ट्रेलिया भ्रमणका लागि आउन चाहने पर्यटकहरूले भिसाका लागि चार महिनासम्म कुर्नु परेको गृह मामिला विभागको एक रिर्पोटले खुलासा गरेको छ।
धेरै समय कुर्नु पर्नेमा चाहिँ चिनिया पर्यटक परेका छन्।
गृह मामिला विभागको पर्यटक भिसा सम्बन्धी एक रिपोर्ट सार्वजनिक भएपछि प्रणालीगत ढिलाइका कारण मानिसहरूले भिसाका लागि लामो समय कुर्नु परेको यर्थाथलाई स्पष्ट पारेको छ।
यस बाहेक रिर्पोटले व्यापारिक र पर्यटक भिसामा अस्ट्रेलिया आउन चाहने मानिसहरूको पुष्ठभुमीमा पनि उल्लेख्य परिवर्तन आएको देखाएको छ।
सन् २०२२ को १ अप्रिलदेखि ३० जुनसम्मको समयलाई आधार बनाएर सार्वजनिक भएको रिर्पोटका अनुसार, सब क्लास ६०० र ६७६ अन्तर्गतका पर्यटक भिसाका लागि आएका ७५ प्रतिशत आवेदनको निर्णय हुन सरदर ५९ दिन लागेको छ।
सन् २०१९ मा भिसा प्राप्त गर्न लाग्ने समय भन्दा यो झन्डै २६९ प्रतिशतले बढी हो।
यसै गरी बिजनेस भिसा अन्तर्गतको छोटो समयका लागि बस्ने भिसा सब क्लास ४५६ र बिजनेस भिजिटर सब क्लास ६०० अन्तर्गतको भिसा प्राप्त गर्न सरदर ७ दिन लाग्नेमा यो समय पनि बढेर १५ दिन पुगेको छ।

भिसा प्राप्त गर्नका लागि लाग्ने समय बढे तापनि, भिसाका लागि परेका आवेदन भने कम रहेको रिर्पोटमा देखाइएको छ।
सन् २०१९ को सोही अवधि अर्थात् अप्रिलदेखि जुन महिनामा करिब १३ लाख आवेदन परेकोमा, यो सङ्ख्या यस वर्ष भने करिब आधा अर्थात् ६९५,३४३ रहेको छ।
निर्णयका लागि किन यति समय लागि रहेको छ त?
अप्रिल देखि जुनकाबिचमा अस्ट्रेलियाली सङ्घीय राजनीतिमा परिवर्तन आएको थियो।
चुनावमा लेबरले जित हासिल गरेसँगै एन्थोनि एल्बनिजी सरकारमा नयाँ प्रधानमन्त्रीका रूपमा आएको समय पनि यही हो।
निकै अगाडी देखिको आवेदनहरूका बारेमा निर्णय गर्नु पर्ने भएकाले ढिला भएको गृह मामिला विभागका प्रवक्ताले एसबीएसलाई जानकारी दिएका छन्।
प्रवक्ताले भिसाको प्रक्रियालाई थप सुव्यवस्थित बनाउन नीतिगत परिवर्तन गरिरहेको पनि बताएका छन्।
विभागका अनुसार यो अवधिमा २८ लाख अस्थायी र आप्रवासी भिसाहरू माथि निर्णय भइसकेको छ।
जसमा १५ लाख पर्यटक भिसा, १९९,००० विद्यार्थी भिसा र ४३,००० अस्थायी दक्ष भिसा रहेको पनि विभागको भनाई छ।
विभागले छिटो छरितो रूपमा काम अगाडि बढाउन २६० कर्मचारी थपेको पनि जनाएको छ।
गृह मामिला विभागका पूर्व सचिव अबुल रिज्भी जुलाई–सेप्टेम्बरको रिपोर्ट नआएसम्म भिसा आवेदनमा निर्णय छिटो आइरहेको भनेर भन्न नसकिने बताउँछन्।
“अहिले केही छिटो भइरहेको हुन सक्छ, तर यो एकै पटक हुने कुरा होइन,” उनले भने।
गृह मामिला विभागको वेबसाइटमा ७५ प्रतिशत भिसाका लागि सरदार ६३ दिनको समय लाग्ने बताइएको छ।

केही देशका लागि लामो पखाई
चीन जस्ता केही देशका आवेदनहरूमा भने आवेदकहरूले भिसा प्राप्त गर्न १२० दिनसम्म कुर्नु परेको देखिएको छ।
सन् २०१९ मा अधिकांस चीनिया पर्यटकका भिसा ९ दिनमा आएको बताइन्छ।
विभागले चिनिया पर्यटकको भिसामा ढिलाइका बारेमा केही नबताए पनि, पूर्व सचिव रिज्भी भने चीनका विभिन्न स्थानमा कोभिड–१९ का कारण भएका लकडाउन र पछिल्लो समय अपराधीहरूले अस्ट्रेलियन भिसाको दुरुपयोग गरेका रिर्पोटहरुका कारण पनि ढिलाइ भएको हुन सक्ने बताउँछन्।
यता अमेरिकाबाट आउने बिजनेस भिसाको आवेदनको निर्णय हुन पनि ५२ दिन कुर्नु पर्ने देखिएको छ।
पहिले यस्ता भिसाको प्रोसेसिङ्ग समय केवल १५ दिन थियो।
गत वर्षको अप्रिल-जुन महिनामा पर्यटक भिसाका लागि सामान्यतया १६० दिन र बिजनेस भिसाका लागि ३४२ दिनसम्मको समय लागेको थियो।

अस्ट्रेलिया आउने मानिसहरूको सङ्ख्यामा पनि कमी
अस्ट्रेलिया आउने मानिसहरूको सङ्ख्या पनि सन् २०१८/१९ को भन्दा अहिले ९ गुणाले कमी आएको रिपोर्टमा देखिएको छ।
सन् २०२१/२२ मा केवल ६९९,७२५ जनाले अस्ट्रेलिया भ्रमण गरेका छन्।
जबकि सन् २०१८/१९ मा ६५ लाख मानिस अस्ट्रेलिया आएका थिए।
अहिले भारतबाट आउने सबैभन्दा धेरै अर्थात् १७ प्रतिशत छन् भने बेलायतबाट आउनेको सङ्ख्या १५ प्रतिशत छ।
चीन बाट आउने मानिसको सङ्ख्या केवल २.३ प्रतिशत रहेको छ।
जबकि सन् २०१८/१९ मा अस्ट्रेलियामा आउने मध्ये करिब १७ प्रतिशत चीनबाट हुन्थे।

यसै गरी पर्यटक भिसाका लागि आवेदन दिने मानिसको पुष्ठभूमीमा पनि परिवर्तन आएको रिर्पोटले देखाएको छ।
कोभिड–१९ महामारी अघि चीनबाट १७ प्रतिशत पर्यटक आएकोमा अहिले चिनिया पर्यटकको सङ्ख्यामा ९५ प्रतिशत गिरावट आएको छ।
अहिले भारत सबैभन्दा बढी भिसा आवेदन गर्ने मुलुकमा परेको छ भने यस पछि बेलायत,सिंगापुर, मलेसिया र अन्तिममा चीन परेका छन्।
पछिल्लो समय सिंगापुरबाट आउने पर्यटकको सङ्ख्या भने निकै निकै बढेको छ।
गृह मामिला विभागका पूर्व सचिव रिज्भी चीन, हङ्गकंङ्ग र जापानमा कोभिड प्रतिबन्धहरू रहेकाले सिंगापुरका पर्यटकले अस्ट्रेलियालाई रुचाएको बताउँछन्।

बिजनेस भिसा पाउन मुस्किल
यसै गरी रिर्पोटले बिजनेस भिसा प्राप्त गर्न पनि कठिन हुँदै गएको देखाएको छ।
सन् २०१८/१९ मा ५०४,७८२ बिजनेस भिसा दिइएको भए पनि, तीन वर्ष पछि आएर बिजनेस भिसा पाउने मानिसहरूको सङ्ख्या १२०,१०३ मा झरेको छ।

अस्ट्रेलियाली भिसा पाउन मुस्किल परेका देश
यस वर्षको अप्रिलदेखि जुनका बिचमा आवेदन परेका पर्यटक र बिजनेस भिसा मध्ये ९१.९ प्रतिशतलाई भिसा प्रदान गरिएको तथ्याकंले देखाएको छ।
सन् २०१९ को सोही समयमा आवेदन परेका मध्ये ९४.६ प्रतिशतले भिसा पाएका थिए।
यस वर्षको अप्रिलदेखि जुनसम्म थाइल्यान्डबाट परेका आवेदन मध्ये जम्मा ६६ प्रतिशतले मात्र भिसा पाएका छन्।
जबकि अमेरिकाबाट आएका आवेदनमा ९५ प्रतिशतलाई भिसा दिइएको छ।
नेपालबाट पर्यटक भिसाका लागि परेका आवेदनमा ८३.३ प्रतिशतले भिसा प्राप्त गरेका छन्।
लेबननबाट परेका आबेदनमा पनि केवल ७१ प्रतिशतले भिसा पाएका छन्।
