मुख्य बुँदा:
- प्रधानमन्त्री एन्थोनि एल्बनिजीद्धारा अस्ट्रेलियाली अध्यागमनमा ल्याइएको परिवर्तनहरूको बचाउ
- एसबिएससँगको अन्तर्वार्ताका क्रममा भिसामा भइरहेको ढिलाइका बारेमा आफ्नो धारणा सार्वजनिक
आफ्नो सरकारको पहिलो बजेटमा अध्यागमन सम्बन्धी भएका परिवर्तनहरूका बारेमा प्रधानमन्त्री एन्थोनि एल्बनिजीले बचाउ गरेका छन्।
एसबिएससँगको कुराकानीका क्रममा प्रधानमन्त्री एल्बनिजीले अध्यागमन सुधारका लागि ठुलो बजेट विनियोजन गरेको बताए।
अक्टोबरको बजेट मार्फत चार वर्षका लागि सरकारले गृह मामिला विभागलाई ५७ करोड डलर उपलब्ध गराउन लागेको पनि प्रधानमन्त्रीले बताएका छन्।
“गृह मामिला विभागका लागि पर्याप्त बजेट विनियोजन भएको छ, भिसाको प्रोसेसिङ्ग अव चाँडो हुन्छ,” उनले भने।

भिसामा भइरहेको ढिलाइका बारेमा एसबिएससँग कुरा गर्दै एल्बनिजीले गठबन्धन सरकारले करिब १० लाख भिसा पेन्डीङ्गमा राखेको र यसले गर्दा अस्ट्रेलियामा कामदारको अभाव भएको बताए।
“यसले पारिवारिक पुनर्मिलनलाई असर पारिरहेको छ, अस्ट्रेलिया आउन चाहने मानिसहरू प्रभावित भइरहेका छन् भने हाम्रो अर्थव्यवस्थालाई पनि यसले असर पारेको छ,” उनले भने।
“हामीले चुनाव अघि वाचा गरेजस्तै, आवश्यक लगानी गरेका छौ।”
तर बजेट प्रति सबै जना खुसी छैनन्, मानिसहरूको अपेक्षा बजेटले पुरा गर्न नसकेको केहीको भनाई छ।
सङ्घीय सरकारको बजेटमा के छ?
गठबन्धन अन्तर्गतको पूर्व सरकारले गृह मामिला विभागबाट ८७ करोड डलरको बजेट कटौती गरेको थियो भने दक्ष र पारिवारिक भिसाको कोटा वार्षिक १६०,००० कायम गरेको थियो।
विभिन्न कारणले भिसा प्रोसेसिङ्गको समय लम्बिँदा, अस्ट्रेलियाका व्यवसायहरू कामदार अभावका कारण आत्तिएका थिए।
एल्बनिजी सरकारले भने स्थायी बसोबासको सङ्ख्या बढाएर सन् २०२२/२३ का लागि १९५,००० पुर्याउने बताएको छ।
यस बाहेक प्रशान्त क्षेत्रका मुलुकहरूका लागि ३,००० थप भिसा उपलब्ध गराउने पनि सरकारको बाचा छ।
यसै गरी दक्ष कामदारको भिसाको सङ्ख्यालाई यस अघिको ७९,६०० बाट बढाएर १४२,४०० पुर्याउने पनि सरकारले जनाएको छ।
यसै गरी पारिवारिक भिसा तर्फ, अभिभावक भिसाको हाल रहेको ४,५०० सङ्ख्यालाई बढाएर लगभग दोब्बर अर्थात् ८,५०० पुर्याइएको छ।
यसै गरी बालबालिका र पार्टनर भिसा आवेदनमा कोटाको सीमा लागु नगर्ने पनि सरकारको निर्णय छ।
यस बाहेक, करिब ५०० वटा अन्य पारिवारिक भिसा र १०० वटा विशेष भिसाहरू पनि उपलब्ध हुनेछन्।
मानवीय भिसाको सङ्ख्या १३,७५० नै रहने भए पनि आगामी चार वर्षका लागि अफगानी शरणार्थीहरुका लागि १६,५०० भिसा उपलब्ध गराइने छ।

भिसाको प्रोसेसिङ्ग समय प्राथमिकतामा
सिप एवम् रोजगार सम्मेलनका दौरान सेप्टेम्बर महिनामा करिब ५०० जना नयाँ कर्मचारी भर्ती गरिने अध्यागमन मन्त्री एन्ड्रु जाइल्स जानकारी गराएका थिए।
जसका लागि सरकारले ३ करोड ६० लाख डलर छुट्टाएको पनि उनले बताए।
करिब १० लाख भिसाका बारेमा निर्णय हुन बाँकि रहेको पनि उक्त सम्मेलनमा जानकारी गराएका थिए।
अक्टोबर १४ मा एक विज्ञप्ति मार्फत मन्त्री जाइल्सले विभागले करिब २० लाख आवेदन माथि निर्णय गरेको भए पनि अझै ८७२,००० आवेदनका बारेमा निर्णय हुन बाँकि रहेको बताए।
मे महिनामा अस्थायी दक्ष कामदार भिसा प्रोसेसिङ्ग समय सरदर ५३ दिन रहेकोमा जुनमा ४२ दिनमा झरेको पनि विज्ञप्तिमा बताइएको छ।
महामारीका कारण बन्द रहेको सीमा खुलेसँगै ठुलो मात्रामा आवेदन परेको उनको भनाई थियो।
“अस्ट्रेलियाले ठुलो मात्रामा भिसा आवेदन प्राप्त गरेको छ, १ जुन २०२२ यता, झन्डै २२ लाख आवेदन परेका छन्, सन् २०२१ को सोही समयमा ४९५,००० भिसा आवेदन परेका थिए,” उनले भने।
मन्त्रीले २६० जना थप कर्मचारी भर्ती गरिसकेको र बाकि कामदारहरू थप्ने र तालिम दिने काम भइरहेको बताएका छन्।

सरकारी बजेटले भिसालाई के असर गर्छ?
बजेट अघि अध्यागमन विभागका पूर्व सचिव अब्दुल रिज्भीले, भिसाको आवेदनमा आएको बृद्धीलाई मध्यनजर गर्दै, सरकारले वाचा गरेको ३ करोड ६० लाख डलर बजेटले नपुग्ने बताएका थिए।
तर यस अघिको सरकारले कटौती गरेको ८७ करोड डलरलाई यस सरकारले फिर्ता गर्छ कि गर्दैन भन्ने कुरा, कटौती गरिनु कारणबाट मात्र थाहा हुने उनले बताए।
“केही आवश्यक कारण भएको खण्डमा ती फिर्ता हुदैनन्,” उनले भने।
“तर अहिले भिसा आवेदन वृद्धि र यसले निर्णय दिने समयमा पारेको प्रभावका बिच कटौतीले झनै ठुलो समस्या सिर्जना गर्छ।”

पैसा समस्याको एउटा भाग मात्र भएको र, दशकौँदेखि अन्य समस्याहरू पनि उब्जिरहेका उनी बताउँछन्।
“विभागको संस्कृति पनि परिवर्तन भइरहेको छ, जसले भिसा प्रोसेसिङ्गको समय लम्बी रहेको छ,” उनले भने।
“निर्णय गर्नेहरूले स-साना कारणहरूले पनि भिसा रद्द गर्दै आइरहेका थिए।”
यस अघिको सरकारले कटौती गरेको पुरै बजेट फिर्ता नगरिएको भए पनि एल्बनिजी सरकारले भविष्यमा सुधारका लागि अध्यागमन प्रणालीको व्यापक समीक्षाको घोषणा गरेको छ।
समीक्षा सन् २०२३ सम्ममा उपलब्ध हुने आशा गरिएको छ।
के थप भिसाहरू पनि उपलब्ध हुनेछन्?
चुनावका दौरान लेबरले अस्थायी प्रोटेक्सन भिसा हटाउने र वैद्य कारण रहेका मानिसहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउने बताएको थियो।
रिज्भी, मानवीय कार्यक्रम अन्तर्गत उनीहरूलाई गणना गर्न सक्ने सम्भावना रहेको र मानवीय भिसाको सङ्ख्यामा वृद्धि हुन सक्ने बताउँछन्।
मानवीय भिसा अन्तर्गत अस्ट्रेलियाले सन् २०२२/२३ का लागि १३,७५० सङ्ख्या तोकेको छ।
यस बाहेक अफगानी शरणार्थीका लागि चार वर्षको दौरान १६,५०० भिसा उपलब्ध हुने बताएको छ।
तर सरकारले अहिलेसम्म उक्त भिसा सङ्ख्यामा परिवर्तन गरिसकेको छैन।
शरणार्थी सम्बन्धी संस्था असाइलम सीकर रिर्सोस सेन्टरले भने सरकारले वाचा गरेका कुरा पुरा नगरेको भन्दै दुख व्यक्त गरेको छ।
शरणार्थीहरूलाई सामाजिक सेवाहरू प्रदान गर्ने, टेम्पररी प्रोटेक्सन भिसा हटाउने र मानवीय भिसाको सङ्ख्यामा वृद्धि गर्ने जस्ता वाचा पुरा नगरेको सेन्टरको गुनासो छ।
“सन् २०२२/२३ को बजेटले, शरण खोज्ने मानिसहरुका लागि सहानुभुती प्रदान गर्ने र निष्पक्ष देशका रुपमा जनताको अपेक्षा पुरा गर्न सकेन्,” विज्ञप्तीमा उल्लेख गरिएको छ।
