कोरोनाभाइरस महामारीका कारण सन् २०२० को मार्च महिनादेखि ठप्प भएको आप्रवास सम्बन्धि कार्यक्रम नयाँ आर्थिक वर्षमा देशको आर्थिक गतिविधि पुनर्जागरण गर्ने गरी सुरु गरिने मोरिसन सरकारले बताइसकेको छ।
यस सम्बन्धमा केही परिवर्तनहरू लागू भइसकेका छन् भने बाँकी परिमार्जनहरू आउँदा दिनहरूमा हुनेछन्।
सरकारले घोषणा गरेको नयाँ नीति अनुरूप हाल अस्ट्रेलियामा नै रहेका तर अस्थायी भिसामा पर्यटन र कृषि क्षेत्रमा कार्यरत मानिसहरूले आफ्नो बसाइँ लम्ब्याउन सक्नेछन्।
त्यसै गरी देशभित्र रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू जो डिसेबिलिटी, एज्ड केयर, मेडिकल, कृषि, पर्यटन र हस्पिट्यालिटी उद्योगहरूमा काम गर्छन्, उनीहरूले पाक्षिक रूपमा ४० घण्टा भन्दा बढी नै रोजगारी गर्न मिल्ने गरी बाटो सरकारले खोलिदिएको छ।
सङ्ख्यामा आप्रवास
सङ्घीय सरकार सन् २०२१/२२ को आप्रवास कार्यक्रम १६०,००० मा सीमित गर्ने आफ्नो योजनामा अडिग छ जसमा अगिल्लो कार्यक्रम वर्ष - २०२०/२१ का दक्ष कामदारहरूको निमित्त छुट्ट्याइएको ७९,६०० स्थानहरूलाई समावेश गरिएको छ।
गृह मामिला मन्त्रालयका एक प्रवक्ताले एसबीएस रेडियोलाई बताए अनुसार आगामी कार्यक्रम वर्ष अस्ट्रेलियामा रोजगारी सृजना गर्ने, लगानी बढाउने र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने भिसाका कोटीहरूलाई प्राथमिकतामा राखिने छ।
सन् २०२०/२१ मा बिजनेस, इन्भेस्टमेन्ट एन्ड इनोभेसन प्रोग्राम अन्तर्गतको भिसा उपलब्धतालाई झन्डै दोब्बर तुल्याउँदै १३,५०० र ग्लोबल ट्यालेन्ट इन्डिपेन्डेन्ट प्रोग्राम श्रेणीको भिसालाई तीन गुणाले बढाउँदै १५,००० पुर्याइएको थियो।

यस पटक पनि ती श्रेणीका भिसाहरूलाई प्राथमिकतामा राखिए तर तिनको सङ्ख्यामा भने केही तलमाथि हुनसक्ने मन्त्रालयको भनाई छ।
"कोभिड-१९ बाट उत्पन्न अनिश्चित स्वास्थ्य, सीमा र आर्थिक अवस्थामाथिको प्रतिक्रिया स्वरूप स्किल्ड स्ट्रिम अन्तर्गतका भिसा बाँडफाँडमा लचिलोपन अपनाउने काम जारी नै रहने छ," ती प्रवक्ताले भने।
विशेष गरी इम्प्लोएर-स्पन्सर्ड भनिने रोजगारदाताले प्रायोजन गर्ने भिसाहरूको मागमा देखिएको वृद्धिलाई ध्यानमा राखेर सरकारले भिसा बाँडफाँडमा परिवर्तन गर्न लागेको जानकारहरू बताउँछन्।
पारिवारिक भिसाहरू
कार्यक्रम वर्ष २०२१/२२ को पारिवारिक श्रेणीका भिसाहरू पहिलेका वर्ष झैँ ७७,३०० मा कायम गरिएको बताइएको छ।
सरकारले देश बाहिरबाट आवेदन दिनुपर्ने केही भिसाका प्रकारमा अस्ट्रेलिया भित्रैबाट पनि आवेदन दिन पाउने गरी छुट प्रदान गरेकाले पार्टनर भिसाको लागि प्रशासनिक काम सुरु गरिसकेका मानिसहरूले आफ्नो भिसाको लागि अन्य समयभन्दा चाँडो काम हुने अपेक्षा गर्न सक्ने जानकारहरू बताउँछन्।
तर अब भने दुई चरणमा सम्पन्न हुने गरी परिवर्तन भएको पार्टनर भिसाको प्रक्रिया थप लम्बिने पनि बताइएको छ।

यसरी दुई चरण गरेर प्रक्रिया पुरा हुने पार्टनर भिसाको लागि नयाँ व्यवस्था अनुरूप अब प्रायोजक स्वयम नै पहिले स्वीकृत हुनुपर्ने छ र त्यस पश्चात् मात्र उनीहरूका पार्टनरले भिसाका लागि पार्टनर भिसाका लागि आवेदन हाल्न सक्नेछन्।
यो नयाँ व्यवस्था लागू भइसकेपछि पार्टनर भिसा प्रायोजकले आफू स्वीकृत हुन कति समय लाग्छ भनेर कुनै सङ्केत प्राप्त नभएको माइग्रेसन एजेन्ट जुली विलियम्स बताउँछिन्।
अर्को महत्त्वपूर्ण परिवर्तन भनेको पार्टनर भिसा अन्तर्गतको सबक्लास ८०१/१०० का आवेदक तथा उनीहरूका प्रायोजक यानि स्पन्सर दुवैले अङ्ग्रेजी भाषाको परीक्षा दिनुपर्नेछ।
कृषि भिसा
कृषि भिसा विशेष रूपमा आसियान समूहका १० राष्ट्रहरूका लागि लक्षित गर्दै घोषणा गरिएको नयाँ व्यवस्था हो।
यस अघि संयुक्त अधिराज्यसँगको खुल्ला व्यापार सम्झौता अन्तर्गत बेलायती ब्याकप्याकरहरूले ८८ दिन अस्ट्रेलियाली खेतहरूमा काम गरिसकेपछि मात्र उनीहरूको वर्किङ होलिडे भिसा नवीकरण हुने व्यवस्था मोरिसन सरकारले खारेज गरिदिएको थियो।
थाइल्यान्ड, क्याम्बोडिया, ब्रुनाई, बर्मा, फिलिपिन्स, मलेसिया, लाओस्, भियतनाम, सिङ्गापुर र इन्डोनेसियाका कामदारहरूले यस नयाँ व्यवस्था अन्तर्गतको भिसाका लागि योग्य हुनेछन्।
नेपाली कामदारहरू पनि अस्ट्रेलिया ल्याउने योजना बारे हामीले यहाँ रहेको नेपाली सामुदायिक संस्थाहरुको महासङ्घ फेन्काका अध्यक्ष डाक्टर राजु अधिकारीसँग गरेको कुराकानी सुन्नुहोस्: null
आसियान समूहका देशहरूका बासिन्दाका लागि भने उक्त नयाँ भिसा सन् २०२१ को अन्त्यसम्ममा उपलब्ध भइसक्ने सङ्घीय कृषि मन्त्री डेभिड लिटलप्राउडको भनाई छ।
कामदारको कमी
मोरिसन सरकारले ४०८ कोभिड-१९ महामारी भिसा मार्फत अन्तर्राष्ट्रिय सीमा बन्दका कारण देशमा कामदारहरूको कमीलाई सम्बोधन गर्ने प्रयास गरेको छ।
जुली विलियम्स भन्छिन् कि पर्यटन र हस्पिट्यालिटी उद्योग दुवैलाई महामारीबाट प्रभावित भन्दै उच्च प्राथमिकताको सूचिमा राखिएको छ जुन अस्ट्रेलियामा नै रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि फाइदाजनक छ।
प्राथमिकतामा परेका पेशाहरूको सूचि विस्तारित
प्रायोरिटी माइग्रेसन अकुपेसन लिस्ट वा पीएमएसओ लिस्टमा एकाउन्टेन्ट, इन्जिनियर, सफ्टवेयर डिभेलेपर र सेफ लगायत २२ नयाँ पेशाहरू सूचिकृत गरिएको छ।
कोरोनाभाइरस पछिको समयमा अस्ट्रेलियाको अर्थतन्त्र उकास्न ती पेशाहरुलाई अत्यन्त आवश्यक भन्दै सरकारले उक्त सूचीमा थपेको हो।
यसबारे हामीले अध्यागमन एजेन्ट शम्भु कँडेलसँग गरेको कुराकानी सुन्नुहोस्: null
यो पछिल्लो कदमसँगै उक्त सूचीमा कुल ४१ पेशाहरू सूचीकृत भएका छन्।
अन्य पेशाका लागि परेका भिसा आवेदनभन्दा पीएमएसओलाई विशेष ग्राह्यता प्राप्त हुने पनि सरकारी भनाई छ।
अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा पनि उक्त सूची अन्तर्गत रहेका पेशाका भिसा धारकहरूले यात्रा छुटका लागि पनि निवेदन गर्न सक्छन्।
अस्ट्रेलियाली नागरिकताको शुल्कमा वृद्धि
जुलाई १, २०२१ देखि अस्ट्रेलियाली नागरिकता लिन आवेदन हाल्ने बढी शुल्क तिर्नुपर्नेछ।
३० जुनसम्म २८५ डलर रहेको अस्ट्रेलियन नागरिकता आवेदन शुल्क नयाँ आर्थिक वर्ष लागेसँगै ४९० हुने भएको हो।
यसै गरी, वंशजको आधारमा लिइने नागरिकताको शुल्कमा पनि बढोत्तरी भएको छ जसअनुसार जुलाई १ तारिख उप्रान्त २३० डलर
रहेको शुल्कमा झन्डै ३७ प्रतिशत वृद्धि हुँदै ३१५ डलर कायम गरिएको छ।
अभिभावकको आवेदनमा सम्मिलित गरिएका १५ वर्ष मुनिका बालबालिकाहरूको हकमा भने कुनै शुल्क नलागेता पनि एकल रूपमा बालबालिकाको नामबाट भरिने आवेदन बुझाउँदा भने साबिकको १८० डलरको सट्टा ३०० डलर तिर्नुपर्नेछ।
