अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा विदेशमा फसेका ४८५ अस्थायी भिसा वाहकको कामको अधिकार गुम्ने जोखिमलाई हेरी सरकारले यो कदम चालेको हो ।
स्नातक तहको पढाई पछि प्राप्त हुने ४८५ भिसा प्राप्त गरेका तर अस्ट्रेलियाले कोरोना महामारीको जोखिम कम गर्न सीमा बन्द गर्दा अस्ट्रेलिया आउन नपाएका वा विदेशमा फसेकाहरूले प्रतिस्थापन भिसा वा रिप्लेसमेन्ट भिसाका लागि आवेदन दिन पाउने भएका छन्।
सङ्घीय सरकारले बिहीबार निर्णयका बारेमा जानकारी दिँदै वर्तमान भिसा वाहक वा सन् २०२० को फेब्रुअरी महिनाको एक तारिख वा त्यस पछि भिसा समाप्त भएका मानिसहरूलाई भिसा पुनः प्राप्त गर्नका लागि आवेदन हाल्न आग्रह गरेको छ।
उनीहरूले उक्त भिसाको अवधिको बराबर समय अवधिका लागि भिसाको आवेदन हाल्न पाउने अध्यागमन मन्त्री एलेक्स हकले बताएका छन्।
४८५ भिसा भर्खरै स्नातक सक्काएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलियामा काम जारी राख्नका लागि प्रदान गरिन्छ।
अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा विभिन्न मुलुकमा फसेका भिसाधारीहरूले आफूले पाएको अधिकार गुमाउने हो कि भन्ने चिन्ता जताउँदै आएका थिए।
एसबीएस न्युजको जानकारी अनुसार ४८५ भिसा पाएका ३० हजार भन्दा बढी मानिसको भिसाको समयावधि सकिएको वा सकिने अवस्थामा रहेको छ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि टेम्पररी ग्र्याजुएट भिसा सम्बन्धी केही प्रमुख परिवर्तनहरू यस प्रकारका छन्:
- कोर्सवर्कद्वारा मास्टर्स गर्न टेम्पररी ग्र्याजुवेट भिसा (सबक्लास ४८५) अन्तर्गत अस्ट्रेलियामा बस्न र काम गर्न पाउने समयलाई बढाएर दुईबाट तीन वर्ष पुराउने पुर्याउने निर्णय भएको छ । रिसर्चद्वारा मास्टर्स गर्ने विद्यार्समयावधि सँग मिल्दो बनाउन यो कम चालिएको हो। यो परिवर्तन सन् २०२१ डिसेम्बर १ तारिखदेखि गरिने छ।
- टेम्पररी ग्र्याजुवेट भिसा (सबक्लास ४८५) को ग्र्याजुवेट वर्क स्ट्रीममा रहनेहरू १८ महिनाको साटो २४ महिनासम्म अस्ट्रेलियामा बस्न पाउने छन्।
- स्नातक तह पूरा गरेका आवेदकहरूले दक्ष पेसाको सूचीमा (skilled occupation list) रहेको पेसालाई छान्न आवश्यक रहने छैन। यो परिवर्तन सन् २०२२ जुलाई १ तारिखदेखि गरिने छ।
यस बाहेक भिसा सम्बन्धी नयाँ नीतिमा स्नातक भिसा प्राप्त गर्दा अस्ट्रेलिया बाहिर बसेर गरेको पढाइको समयलाई पनि गणना गर्न विद्यमान उपायहरूको प्रयोग गरिने बताइएको छ।
सरकारले पूर्ण खोप लगाएका दक्ष आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थी र मानवीय भिसा वाहकहरू डिसेम्बर १ तारिख देखि अस्ट्रेलिया आउन सक्ने निर्णय गरेको केही समयमै सरकारको नयाँ निर्णय बाहिर आएको हो।
अध्यागमन मन्त्री एलेक्स हकले भिसा व्यवस्थामा गरिएका परिवर्तनहरूले अस्ट्रेलियाको सीमा खुल्दै गर्दा विद्यार्थीहरूलाई “आवश्यक राहत” दिएको बताएका छन्।

एक विज्ञप्ति जारी गदै मन्त्री हकले यी परिवर्तनहरूले महामारीका दौरान यहाँ रहेका दक्ष प्रवासीहरूको योगदानलाई मान्यता दिने र उनीहरूलाई अस्ट्रेलिया बस्न प्रोत्साहित गर्ने पनि बताए।
“अस्ट्रेलियामै रहेका योग्य कामदारले विशेष गरी स्वास्थ्य, आतिथ्य र रिजनल क्षेत्रका व्यवसायहरूलाई सहयोग प्रदान गरिरहनेछन्,” उनले भने।
“परिवर्तन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मात्रै नभई हाम्रो अर्थतन्त्रको पुन:प्राप्तिको एक महत्त्वपूर्ण भाग हो र यसले हामीलाई दक्ष कामदार कायम राख्न र आकर्षित गर्न मद्दत गर्नेछ।”
झन्डै दुई वर्ष देखि देश बाहिर रहेका भिसा वाहकहरूले आफूले प्राप्त गरेको कामको अधिकार गुम्ने चिन्ता जारी गरेपछि सरकारी पछिल्लो निर्णय आएको हो।
जारी सीमा व्यवस्थालाई बरकरार राख्दै आगामी ६ महिनाका लागि सन् २०२२ को १ जनवरी देखि ३० जुन सम्म आफ्नो भिसाको म्याद समाप्त भएको वा हुने, विदेशमा रहेका भिजिटर भिसा वाहकलाई आवेदन शुल्क मिनाहा गर्ने निर्णय गरेको पनि सरकारले बताएको छ।
“यस निर्णयले सुरक्षित ठानिएपछि यात्रुहरू आएर यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्नेछ,” मन्त्री हकले विज्ञप्तिमा भनेका छन्।

यता प्रभावितहरूको भिसा विस्तारको पक्षमा उभिएका ग्रिन्सका सिनेटर निक म्याकीमले सरकारी घोषणाले दसौँ हजार मानिसलाई राहत मिलेको बताएका छन्।
सरकारले यात्रा प्रतिबन्धका कारण प्रभावित बनेका स्किल्ड रिजनल अस्थायी भिसा वर्ग अन्तर्गतका ४८९, ४९१ र ४९४ प्राप्त गरेका मानिसहरूका लागि पनि भिसा बिस्तार गर्ने निर्णय गरेको छ।
मन्त्री हकले स्थायी बसोबासका लागि आवश्यक कामका नियम पूरा गर्न यसले सहयोग गर्ने बताएका छन्।
यसै गरी सरकारले अर्को वर्ष विद्यार्थीहरूलाई स्वागत गर्ने तयारी गर्दै गरेको शिक्षा क्षेत्रलाई थप रकम उपलब्ध गराउने पनि बताएको छ।
नयाँ उपायहरूमा नियामक शुल्क बापत करिब २ करोड ८० लाख बराबरको राहत प्रदान गरिने पनि सरकारी भनाई छ।
अन्तर्राष्ट्रिय विद्यार्थीलाई अङ्ग्रेजी शिक्षा प्रदान गर्ने संस्थाहरूलाई ९० लाख बराबरको राहत दिइने बताइएको छ।
हालको ऋण शुल्कमा छुटलाई पनि २०२२ सम्म लम्बाइएको छ जसले ३० हजार भन्दा बढी विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शिक्षा तथा युवा मन्त्री एलेन टजले सन् २०२२ मा अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनलाई तीव्रता दिने बताए छन्।
थप अद्यावधिक जानकारीका लागि सङ्घीय गृह मामिला विभागको वेबसाइटमा जानुहोस्।
