डिसेम्बर १ तारिखदेखि अस्ट्रेलियाको भिसा लिएका केही मानिसहरूका लागि खुल्ने भनिएको देशको सीमा, अब अर्को १५ दिनका लागि बन्द नै रहने भएको हो।
ट्रान्जिटमा रहेका यात्रुहरूका हकमा भने, अस्ट्रेलियन बोर्डर फोर्सले आफ्नो स्वविवेकको प्रयोग गर्दै देशमा प्रवेश कसलाई दिने र कसलाई नदिने भनेर निर्णय गर्ने पनि बताइएको छ।
यसरी अस्ट्रेलिया प्रवेशका लागि अनुमति पाउने यात्रुहरुले भने उनीहरु जाने राज्य वा प्रदेशको क्वारेन्टिन नियमहरू पालना गर्नुपर्ने छ।
हाल भिक्टोरिया र न्यु साउथ वेल्स प्रवेश गर्ने यात्रुहरूले घरमा नै ७२ घण्टासम्म क्वारेन्टिन गर्नुपर्ने नियम लागू छ भने अन्य राज्य तथा प्रदेशहरूमा, दैनिक यात्रु सङ्ख्या सम्बन्धी कोटा प्रणाली लागू हुनुका साथै १४ दिने सरकारी क्वारेन्टिन सुविधामा बस्नुपर्छ।

अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकृत पअल केलीको सल्लाहमा सङ्घीय मन्त्रीपरिषद्ले सीमा सम्बन्धी उक्त पछिल्लो निर्णय लिएको हो।
यसअघि, प्रधानमन्त्री स्कट मोरिसनले दक्ष कामदार, विद्यार्थी लगायत शरणार्थी, वर्किङ होलिडे र अस्थायी पारिवारिक भिसा वाहकहरूका लागि अस्ट्रेलियाको ढोका डिसेम्बरको पहिलो दिनदेखि खुल्ने घोषणा गरेका थिए।
सोमवार साँझ जारी एक सरकारी विज्ञप्तिका अनुसार सीमा खोल्ने निर्णयलाई हाल अस्थायी रूपमा रोक्का गर्दा अस्ट्रेलियालाई ओमिक्रन भेरिएन्टका बारेमा राम्ररी बुझ्न सहयोग पुग्नेछ।
“अस्ट्रेलियालीहरू आश्वस्त रहन सक्छन् कि हामी कोभिड र यसका उदीयमान चुनौतीहरूसँग सामना गर्ने बलियो स्थितिमा छौँ,” उक्त विज्ञप्तिमा भनिएको छ।
“हामी स्वास्थ्य विज्ञहरूको नेतृत्वमा सुझबुझ पूर्वक प्रमाणमा आधारित उत्तरदायी काम जारी राख्नेछौँ। हामी भाइरससँगै आफ्नो जीवनयापन गर्दै, सुरक्षित रूपमा (देशलाई) खोल्न र खुलै राख्न सक्छौँ भनेर यस कदमले सुनिश्चितता प्रदान गर्नेछ।”
मोरिसनले देशका राज्य तथा प्रादेशिक सरकार प्रमुखहरू सम्मिलित हुने राष्ट्रिय मन्त्रीपरिषद्को बैठक पनि बोलाएका छन्।
मङ्गलवारका लागि आह्वान गरिएको उक्त बैठकमा ओमिक्रन बारे अस्ट्रेलियाको प्रतिक्रिया सम्बन्धी थप छलफल हुने बताइएको छ।
Additional reporting by AAP.
