दक्षिणी अफ्रिकाबाट सिड्नी आएका दुई व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिए पनि पछिल्लो समय निकै चिन्ताजनक भनिएको ओमिक्रन भेरिएन्ट रहे नरहेको बारे भने जाँच भइरहेको छ।
ओमिक्रन विश्वका धेरै स्थानमा डेल्टा भेरिएन्ट भन्दा बढी जोखिम युक्त हुन सक्ने भन्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ सँगै अस्ट्रेलियाले पनि नौ दक्षिण अफ्रिकी राष्ट्रबाट हुने उडानहरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
साउथ अफ्रिका, बोट्सवाना, लेसोथो, जिम्बाब्वे, मोजाम्बिक, नामिबिया, एस्वाटिनी, सेसेल्स र मलावीबाट आउने अस्ट्रेलियाका स्थायी बासिन्दा रहेका यात्रुहरू बाहेकलाई प्रवेश निषेध गरिएको हो।
ती देशहरूबाट अस्ट्रेलिया प्रवेश गरिसकेकाहरूले भने अनिवार्य दुई हप्ता होटेल क्वारेन्टिनमा बस्नु पर्ने छ।
रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
“चिन्ताको भेरिएन्ट”
विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रन भेरिएन्टलाई चिन्ताको विषय रहेको बताएको छ।
सङ्गठनका अनुसार नोभेम्बर २४ मा पहिलो पटक रिपोर्ट गरिएको उक्त भेरिएन्ट वंशाणुगत विशेषतामा परिवर्तन भएर सजिलै फैलने, असर धेरै पार्न सक्ने र उपचार गर्न गाह्रो हुने प्रकारको रहेको भन्दै यसलाई सङ्गठनले "भेरिएन्ट अफ कन्सर्न" का रूपमा राखेको हो।

यस वर्गीकरणले विश्व भर भेटिएको डेल्टा र केही कमजोर किसिमका अल्फा, बेटा र गामा मध्ये ओमिक्रन अहिलेसम्मकै सबैभन्दा चिन्ताजनक प्रकार रहेको देखाएको छ।
कोरोनाभाइरसको अत्यधिक उत्परिवर्तन क्षमताको ओमिक्रन भेरिएन्ट दक्षिण अफ्रिकाको ग्वाटेंग प्रान्तमा युवा वर्गमा निकै छिटो फैलिएको पाइए पछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई चिन्तित पार्ने किसिमको भएको बताएको हो।
सङ्गठनकी मारिया भान कर्कोभले प्रारम्भिक प्रमाणहरूले यसबाट पुन: सङ्क्रमण हुने जोखिम उच्च रहेको देखाएको बताएकी छिन्।
अस्ट्रेलियालीले डराउनु पर्दैन: ग्रेग हन्ट, स्वास्थ्य मन्त्री
अस्ट्रेलियामा खोप लगाउनेहरूको सङ्ख्या उच्च रहेको भन्दै मन्त्री ग्रेग हन्टले अस्ट्रेलिया तथा यहाँका बासिन्दाहरू कुनै पनि किसिमको नयाँ कोरोनाभाइरस भेरिएन्टको सामना गर्न तयार रहेको भन्दै ओमिक्रनबाट डराउनु पर्ने अवस्था नरहेकोमा जोड दिएका छन्।
त्यस्तै प्रमुख स्वास्थ्य अधिकारी पल केअलीले नयाँ आगन्तुकहरूका लागी अस्ट्रेलिया प्रवेश गर्ने व्यवस्थाहरूमा केही कडाइ गरिने र ओमिक्रनको जोखिम रहेको दक्षिण अफ्रिकाबाट अस्ट्रेलिया यात्रा गर्न प्रतिबन्ध लगाइने बताएका छन्।
त्यस्तै स्वास्थ्य मन्त्री हन्टले यदि आवश्यक परेको खण्डमा अझ कडा किसिमको कदम चाल्न पनि सरकार पछि नहट्ने बताएका छन्।

त्यस्तै क्वीन्सल्यान्डका अधिकारीहरूले पनि मानिसहरूलाई ओमिक्रन भेरिएन्टबाट नडराउन भनेको छ।
अहिले जारी रहेको प्रतिबन्धहरू राज्यवासीलाई सुरक्षित राख्न पर्याप्त भएको उनीहरूको भनाइ छ।
राज्यका उप-प्रमुख स्वास्थ्य अधिकारी पिटर येट्केन भन्छन् अन्तर्राष्ट्रिय आगन्तुकहरू होटेल क्वारेन्टिन बस्ने गरेका छन् भने अन्तर्राष्ट्रिय उडान खुल्ला गरिएका राज्यबाट आउने अन्तर राज्य यात्रुहरूलाई घरमा क्वारेन्टिनमा राखिने व्यवस्था जारी रहेकाले नयाँ भेरिएन्ट बाट तर्सिहाल्नु नपर्ने उनको भनाइ छ।
न्यु साउथ वेल्स डोमिनिक पेरोटेले ओमिक्रनले महामारी अझै सकिएको छैन भन्ने मानिसहरूलाई सम्झाएको बताएका छन्।





