सन् २०२० मा सङ्घीय सरकारको जबकीपर र जबसीकर कार्यक्रमहरूका लागि अस्ट्रेलियामा रहेका अस्थायी भिसा वाहकहरू अयोग्य थिए।
तर यो वर्ष भने कोरोनाभाइरस महामारीका कारण आफ्नो आय गुमाउन पुगेका केही योग्य अस्थायी भिसा वाहकहरूले भने कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने आर्थिक सहायतासम्म पहुँच पाउन सक्ने बताइएको छ।
विशेष गरी, कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि भन्दै जारी भएका स्वास्थ्य आदेशहरूका कारण आय गुमाउनु भएको अस्थायी भिसा वाहक हुनुहुन्छ भने त्यस प्रकारका आर्थिक सहायताका लागि तपाईँ पनि योग्य हुन सक्नुहुन्छ।
तर, थुप्रै अन्य मानिसहरू चाहिँ फेरी पनि सरकारी सहयोगका लागि अयोग्य हुन सक्छन्।
रेडक्रस अस्ट्रेलियाकी आप्रवासन कार्यक्रमकी प्रमुख भिक्की माउका अनुसार थुप्रै मानिसहरू आधारभूत आवश्यकताका सामग्रीहरू जोहो पनि गर्न नसक्ने अवस्थामा छन्।
उनी भन्छिन् कि कोभिड-१९ लकडाउनका बखत चरम आर्थिक अभावको अवस्थामा रहेका मानिसहरूलाई रेड क्रस अस्ट्रेलियाले सहायता पुर्याउँदै आइरहेको छ।

एकल मानिस तथा परिवारहरूले २०० डलरदेखि ४०० डलरसम्म एकमुष्ट सहायता पाउन सक्छन् - खाना र औषधीहरू जस्ता एकदमै जरुरी आवश्यकताहरूका निम्ति।
महामारी सुरु भए यता सङ्घीय सरकारले १६ करोड डलर लगभग २०० जति च्यारिटी वा दानमा चल्ने सामाजिक संस्थाहरू र सामुदायिक समूहहरूलाई अतिरिक्त अनुदान स्वरूप उपलब्ध गराइसकेको छ।
सेटलमेन्ट सर्भिसेज इन्टरनेस्ननल - एसएसआइमा आपतकालिन राहत संयोजकका रूपमा कार्यरत ग्यारी पेजका अनुसार उनको संस्थामा सहयोग माग्दै आउने मानिसहरूको सङ्ख्या यसपालि बढेको छ।
उनी भन्छन् कि उच्च मागका कारण सेवा दिन थप गाह्रो हुँदै गइरहेको छ।

अस्थायी भिसामा रहेका मानिसहरू लगायत शरण माग्दै अस्ट्रेलिया आइपुगेका मानिसहरूलाई सहायता प्रदान गर्न सरकारी रनिजी क्षेत्र दुवैबाट अनुदान पाउने एसएसआइको शरणार्थी कार्यक्रमकी प्रबन्धक मार्गरेट ब्रिकवूडका अनुसार अघिल्लो वर्षभन्दा यसपालि लागू लकडाउनका बेला सहयोगको माग ५० प्रतिशतले बढेको छ।
उनी भन्छिन् कि लकडाउनका नियमहरूले केही ठाउँका मानिसहरूलाई मद्दत पाउन थप गाह्रो भएको छ।
सेटलमेन्ट सर्भिसेज इन्टरनेस्ननलका स्वयम्सेवकहरुले सिड्नी वरपर बस्ने एक्लै बस्ने व्यक्ति र परिवारहरूलाई हरेक मङ्गलवार र बिहीवार खाना लगायत अन्य सहायता पुर्याउने गरेका छन्।
त्यसरी वितरण हुने राहत सामाग्री लकडाउन सुरूभए यता परिवर्तन भइसकेको ब्रिकवूड बताउँछिन्।

एक तथ्याङ्क अनुसार हालसम्म रेडक्रस अस्ट्रेलियाद्वारा वितरण गरिएको सङ्कटकालीन राहत लगभग १६०,००० मानिसहरूले पाइसकेका छन्।
आपतकालिन आर्थिक सहायता एकटकको लागि मात्र उपलब्ध हुने सुविधा भएता पनि आफूहरूले पारिवारिक हिंसा र अन्य केही कमजोर मानिसहरूका लागि भने सहयोगको पहल गरिदिने उक्त संस्थाकी भिक्की माउको भनाई छ।
आपतकालिन राहत १९७ संस्थाहरूबाट अस्ट्रेलियाभर झन्डै १,३०० स्थानहरूबाट उपलब्ध छ। यी स्थानहरूको सूचि डिपार्टमेन्ट अफ सोसल सर्भिसेजको वेबसाइटमा गएर हेर्न सकिन्छ।
यदि तपाईँ वा तपाईँले चिनेका कसैले पारिवारिक हिंसा भोगिरहनु भएको छ भने १८०० RESPECT मा फोन गर्नुहोस्। खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने फोन वा मोबाइलबाट ००० थिच्नुहोस्।
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
