शान्तिमय जीवन बिताउन र अहिंसक माध्यमबाट व्यक्तिगत र पारस्परिक समस्या समाधान गर्ने अपनाइन सकिने उपायबारे तास्मानियामा नेपाली भाषी भुटानी समुदायलाई लक्षित एक प्रशिक्षण कार्यशाला आयोजना भएको छ।
राज्यको सामुदायिक सहायता कोष, तास्मानियन कम्युनिटी फण्डको लगानीमा अस्ट्रेलियाली रेड क्रसद्वारा सञ्चालित उक्त कार्यशाला गत जुलाई ३१ देखि अगस्ट २ सम्म चलेको थियो।
गत आठ वर्षदेखि तास्मनिया निवासी र पेशाले नर्स रहेकी पवित्र सुब्बा द्वारा उक्त कार्यशालाको नेतृत्व गरिएको थियो।

समस्या समाधानका लागि अहिंसक विकल्प कसरी अपनाउन सकिन्छ भन्नेबारे सिकाउने यस्तो कार्यशाला नेपाल लगायत विश्वका ६० बढी देशहरूमा सञ्चालन हुने गरेको छ।
अस्ट्रेलियामा चाहिँ अहिलेसम्म अफगानिस्तानदेखि मध्यपूर्व र अफ्रिकी पृष्ठभूमिका समुदायहरूमा रेडक्रसद्वारा यस्ता कार्यशाला आयोजना गरिँदै आएको छ।
तर नेपाली भाषी भुटानी समुदायका लागि भने 'पीसफुल पाथवेज प्रोजेक्ट' अन्तर्गत रहेको 'अल्टरनेटिभ्स टु भायलेन्स' नामको यो कार्यक्रम पहिलो पटक आयोजना भएको हो।
के हो अल्टरनेटिभ्स टु भायलेन्स (एभीपी)?
सन् १९७५ मा संयुक्त राज्यको न्यु योर्क स्थित ग्रीनह्यभेन जेलमा रहेका बन्दीहरु बिचका समस्या सुल्झाउने प्रयासका साथ यसको सुरुवात गरिएको थियो।
धार्मिक कार्य अन्तर्गत सुरु भएको उक्त योजना अहिले विभिन्न राष्ट्रहरूमा जेल, विद्यालय र अन्य सामुदायिक तहका द्वन्द्व वा मनमुटाबलाई अहिंसक तरिकाले सुल्झाउन प्रयोग हुने गरेको बताइन्छ।
विभिन्न किसिमका गतिविधि, खेल, र साम्प्रदायिक भेलाद्वारा समस्यामा रहेकाहरूलाई आफ्नो समुदायको सामु आफ्ना विचार र समस्याहरू व्यक्त गर्न, र त्यससँग लड्न सक्ने आत्मबल विकास गर्न उक्त कार्यशालाले सहयोग गर्ने रेड क्रसको भनाइ छ।

आफूले गत वर्ष एभीपी बारे थाह पाएको बताउँछिन् पवित्र सुब्बा।
एसबीएस नेपालीसँगको कुराकानीमा तीन दिने कार्यशालामा भाग लिने मौका पाएपछि आफ्नो समुदायका लागि पनि यस्ता कार्यक्रम धेरै महत्त्वपूर्ण रहने निष्कर्षमा आफू पुगेको उनले बताइन्।
आफ्नो देश छोडेर आउनु परेको बाध्यता, परिवार र नातेदारहरूबाट छुट्टिनु परेको पीडा, र नयाँ ठाउँमा भाषा राम्ररी नआए तापनि जेन तेन काम गरेर आफ्नो जीविकोपार्जन गर्नुपर्ने कठिनाइहरूले शरणार्थी समुदायका थुप्रै मानिसहरूलाई मानसिक रूपमा नकारात्मक प्रभाव पारेको हुन्छ।
त्यस्तै तास्मेनियाको भुटानी शरणार्थी समुदायमा पनि धेरै जनाले अदृश्य रूपमा यस्ता समस्याहरू भोग्दै आइरहेको सुब्बाको भनाइ छ।
आफ्ना आमाबुवाले पनि भुटानबाट नेपाल आएर शरणार्थी शिविरहरूमा धेरै दुख भोग्नु परेको याद गर्दै, विकसित देशमा आइसकेपछि पनि सामना गर्नु पर्ने अवस्थाहरूको बारेमा उनले यसो भनिन्, "आफन्तहरू देखि लिएर छिमेकी हरू - उनीहरूसँग छुट्नुको पीडादेखि लिएर यहाँ छुट्टै वातावरणमा आउँदा खेरि उहाँहरूले आफ्नो भाषामा आफ्ना पीडाहरू व्यक्त गर्न सक्नु हुन्न।"
मुख्यतः आफ्ना दबेका विचार र भोगाइहरूलाई कसरी अरू समक्ष प्रस्तुत गर्न सकिन्छ भन्ने बारे प्रत्यक्ष अनुभव गराउनका लागि आफ्नो समुदायमा एभिपी वर्कशप आयोजना गरेको उनले बताइन्।
उनको जस्तो कथा अरू थुप्रैको पनि हुन्छ।
किन भुटानी समुदाय?
अस्ट्रेलिया आउने भुटानी शरणार्थी र आप्रवासी कामदारहरूको कठिनाइहरूलाई मध्यनजर गर्दै सञ्चालन गरिएको पीसफुल पाथवेज परियोजनाका संयोजक हुन् जेभियर लेन-मलिन्स।
अस्ट्रेलियाली रेड क्रसमा कार्यरत रहेका मलिन्स भन्छन, " वर्षौँको समस्याका कारण भुटानीहरूले धेरै दुख भोगेका छन्। उनीहरू लामो समयका लागि आत्मनिर्भर हुनबाट वञ्चित भएका कारणले अरूको सहयोगका आडमा बाच्न बाध्य थिए।"
पछिल्लो सात वर्षदेखि तास्मेनियामा आप्रवासी समर्थन क्षेत्रमा कार्यरत रहेका उनले भुटानी पृष्ठभूमिका सुविधाकर्ताहरुले महिनौँको कडा परिश्रमपछि स्वयम्ले यो वर्कशप सञ्चालन गरेकोमा धेरै खुसी व्यक्त गरेका छन्।
"यो कार्यशालालाई तीन दिनमा तीन तहका सीप सिकाउने उद्देश्यले तयार पारिएको हुन्छ।पहिलो दिन आधारभूत स्तर, दोस्रो दिन उन्नत स्तर, र तेस्रो दिन सुविधाकर्ता कौशल प्रशिक्क्ष्यनको तालिम दिइन्छ। त्यसैले सहभागीहरूले पहिलो दिन देखि अन्तिम दिन सम्मको पुरै तालिम लिन जरुरी हुन्छ," मलिन्स भन्छन्।
आफ्ना विभिन्न निजी कारणले गर्दा सहभागीहरूले तुरुन्तै अन्य उपस्थितहरुसंग मिलिहाल्न र आफ्ना विचार र समस्याको बारेमा खुल्न हिचकिचाउने हुनाले आयोजकहरूले एक पछि अर्को गर्दै बिस्तारै गतिविधिहरू गराउने गरेका छन्।
यस विषयमा मलिन्सले भने," सबै भन्दा पहिला हामी समूहमा सबै जना सुरक्षित महसुस गरेका छन् कि छैनन् भनी हेर्छौँ। त्यसपछि बिस्तारै आफ्नो परिचय गर्ने, आफ्नो बोल्ने क्षमता विकास गर्ने, र आफ्ना मनमा लागेका कुराहरू खोल्ने तर्फ लाग्छौँ।"
सुब्बाले आफ्नो अनुभव सुनाउँदै भनिन्, "अरू वर्कशपहरू भन्दा यो निकै भिन्न हुन्छ। एक जना मान्छे बोल्ने भन्दा पनि, जो-जो सहभागी हुनुहुन्छ, उहाहरुले पालै पालो आफूलाई लागेको कुराहरू व्यक्त गर्न पाउनु हुन्छ।"

प्रत्येक सहभागीको फरक विचार र फरक समस्या हुन सक्छ।
कसैलाई द्वन्द र उत्पीडनजस्ता विश्व स्तरका समस्याले सताएको हुन सक्छ भने कसैलाई जातीय भेदभाव या पति-पत्नीबीचको मनमुटाबजस्ता निजी अनुभवले पिरोली रहेको हुन सक्छ।
सम्पूर्ण प्रक्रियाको उद्देश्य सहभागीहरूलाई आदेश दिनु भन्दा पनि विभिन्न गतिविधि, खेल र सामुदायिक मेलमिलापद्वारा आफै अनुभवी रूपमा सिक्न दिनु हो।
त्यस्तै, कसैलाई पनि आफ्ना अतीतका तीता पल याद गर्न या भन्न मन नलागेका अनुभवहरूलाई पोख्न जोर नदिइने हुनाले सबैले आफूलाई के भन्न मन छ, क विषयमा मद्दत लिन मन छ, त्यसको मात्र कुरा गर्न सक्छन्।
प्रयोग गरिने मुख्य गतिविधिहरू मध्य नाट्य रूपान्तरण, सामूहिक रूपमा आफ्ना कुराहरू खोल्ने, र जोडी-जोडीमा आफ्ना विचार र गुनासा पोखिने गरिन्छ।
"यो वर्कशपले चाहिँ - ओ हो! यस्तो पनि गर्नु पर्ने रहेछ भन्ने महसुस गराउँछ। यहाँको मुख्य विषयवस्तु आफ्नो शक्ति रूपान्तरण विभिन्न तरिकाहरू हुन्, जुन हामीले आफ्नो जीवनमा अपनाउन सक्छौँ।"
पहिलो पटक गरिएको कारणले सुब्बा र उनका सहकर्मीहरूले आफ्नो समुदायका मानिसहरूलाई फोन गरेरै निम्तो दिएका थिए।
कसैले समय मिलाउन सकेनन्, तर उपस्थित भएका सहभागीहरूले भने निकै सकारात्मक प्रतिक्रिया दिएको उनले बताइन्।
"उहाँहरूले चाहिँ एकदम राम्रो लग्यो र जो यस्तो पीडामा हुनुहुन्छ, उहाँहरूलाई हामीले यो कुराहरू सिकाउनु पर्छ भन्ने प्रतिक्रिया सहभागीहरू बाट आयो।"

पहिलो वर्कशपको सफलतापछि आउने समयमा यसले कस्तो मोड लिन्छ भनेर सोध्दा सकारात्मक हुँदै सुब्बाले भनिन्,"भर्खर सुरु भयो, त्यति मै सहभागीहरूले बोल्ने कुराहरूमा पहिला झकझकाउनु हुन्थ्यो भने, अहिले एक किसिमको परिवर्तन देख्न थालेका छौँ, जहाँ उहाहरुले आफ्ना समस्याहरू राख्न सक्नु हुन्छ।"
त्यसै गरी मुख्यतः आफ्नो समाजको पितृसत्तात्मक प्रकृतिका कारण खुलेर आफ्ना विचार राख्न पछि परेका महिलाहरूलाई यस वर्कशपले निकै मद्दत गर्ने उनले बताइन्।
घरेलु हिंसादेखि लिएर आफ्नै मनमा लागेका दुबिधाहरूका लागि पनि यो कार्यकै एक खुला मञ्च हो।
व्यक्तिगत र सामाजिक दुवै स्तरमा फाइदा पुराउने भएर सुब्बाले आफ्ना समुदायबासीहरुलाई सानो ठुलो जस्तो सुकै दुबिधा परे तापनि यस अभियानमा सहभागी हुन अनुरोध गरेकी छिन्।
नेपाली भाषी भुटानी शरणार्थीलाई लक्षित फेसबुक पेज 'अस्ट्रेलियन भुटानीज सोसाइटी अफ नर्दन तास्मेनिया' मा पनि हालै भएको यस कार्यक्रम र भविष्यमा हुने अन्य वर्कशपहरूको बारेमा जानकारी राखिने गरिएको छ।
यी वर्कशपहरू निःशुल्क छन्, र स्वयंसेवकका रूपमा काम गर्न चाहने मानिसहरूले रेड क्रसलाई पनि सम्पर्क गर्न सक्नेछन्।
