कोल्सले आफ्ना सुपर मार्केट तथा मदिरा बेच्ने लिक्वर डिभिजनमा स्टोर प्रबन्धकका रूपमा काम गर्ने कर्मचारीहरूलाई ६ वर्षको दौरानमा कुल २ करोड डलर कम हुने गरी तलब दिएको स्वीकार गरेको छ।
कोल्सले आफ्नो ६ महिने खुद्रा व्यापार रिपोर्ट सार्वजनिक गर्दै कुल ७२.५ करोड डलरको कारोबार गरेको जनाउने क्रममा आफूले कम तलब वितरण गरेको पनि खुलाएको हो।
उसका अनुसार क्रिसमसमा सोचे अनुरूपको कारोबार गर्न सफल भएपछि आफ्नो दोस्रो त्रैमासिक कारोबार अवधिमा राम्रो कमाई गरेको बताइएको छ।

तर, आफू मातहतका करिब एक प्रतिशत कर्मचारीले जेनेरल रिटेल इन्डस्ट्री अवार्ड भनिने एक कामदार सुविधा सम्झौता अन्तर्गत पाउनु पर्ने तलब दर भन्दा कम तलब वितरण भएको एक आन्तरिक समीक्षाका क्रममा पत्ता लागेको बताइएको हो।
उक्त प्रतिवेदन अनुसार कोल्सका सुपर मार्केट तथा लिक्वर स्टोरमा काम गर्ने करिब पाँच प्रतिशत प्रबन्धकहरूले सही तलब पाएका थिएनन्।
कम्पनीका अनुसार, आफ्नो अरू उद्यम सम्झौताहरू अन्तर्गत भर्ना गरिएका कर्मचारी बारे भने उक्त प्रतिवेदनले अध्ययन गरेको छैन।
कोल्सका प्रमुख कार्यकारी स्टिभ केनका अनुसार बाह्य विज्ञहरूको सहयोगमा आफ्नो समीक्षालाई अन्तिम रूप दिने कार्य हाल भइराखेको छ।
“समीक्षा समाप्त हुनासाथ हामी प्रभावित साथीहरू, पूर्व तथा हाल कार्यरत, सबैलाई हिसाबमिलान गरी पाउनुपर्ने तलब दिने छौँ,” उनले भने।
कोल्सको चिरपरिचित प्रतिद्वन्द्वी वूलवर्थ्सले आफ्ना कर्मचारीहरूलाई ३० करोड डलर जति कम तलब दिएको अघिल्लो वर्ष खुल्न आएको थियो।

