विज्ञहरूका अनुसार जब दुई छुट्टा छुट्टै भाइरसका स्ट्रेन एकैठाउमा आएर मिसिन्छन् र यनीहरुको जिनोमिक क्षेत्रहरू समेत समावेश भई नयाँ एकल स्ट्रेनको विकास हुन्छ, यसलाई रिकम्बिन्यानट्स अर्थात् पुनः संयोजनबाट बन्ने भेरीएन्टको मान्यता दिइन्छ।
हाल धेरै किसिमका भेरीएन्टहरु रहेको अवस्थामा पुनः संयोजनबाट हुने सङ्क्रमणलाई सामान्य घटनाका रूपमा लिनु पर्ने पनि विज्ञहरूको धारणा छ।
Deltacron 'डेल्टाक्रन' र XE 'एक्स इ' यसका माउ भेरीएन्ट डेल्टा र ओमिक्रन भन्दा कसरी फरक छन् त?
'डेल्टाक्रन' र 'एक्स इ' पुनः संयोजन भएका या भनौँ रिकम्बिन्यानट्स हुन्।
डेल्टाक्रनसँग, डेल्टा र ओमिक्रनका जेनेटिक अर्थात् आनुवंशिक गुणहरू समावेश भएका छन् भने एक्स इ भेरीएन्टमा भने ओमिक्रनका दुई सब भेरीएन्ट बिए.१ र बिए.२ का गुणहरू समावेश भएका छन्।
बिए.१ को तुलनामा बिए.२ निकै सङ्क्रामक मानिएको छ, अस्ट्रेलिया र अन्य केही मुलुकमा यसको सङ्क्रमण निकै उच्च छ।
अस्ट्रेलियाका केही राज्यमा अत्याधिक सङ्क्रमणको जिम्मेवार रहेको मानिएको बिए.२ को सङ्क्रमणको उच्च बिन्दु यही अप्रिल महिनाको मध्यसम्ममा पुग्ने स्वास्थ्य अधिकारीहरूले अपेक्षा गरेका छन्।
यता विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रनका भिन्न भिन्न स्ट्रेनहरू बिए.१.१, बिए.३ सँगै बिए.४ र बिए.५ लाई पनि निगरानीमा राख्न थालेको छ।
के हामीले चिन्ता लिनु पर्ने अवस्था छ?
विश्व स्वास्थ्य सङ्गठनकी प्रमुख विशेषज्ञ डाक्टर मारिया भान केरखोभ डेल्टाक्रनका बारेमा थाहा भए पनि यसलाई पत्ता लगाउने क्षमता निकै कम रहेको बताउँछिन्।
“हामीले पुनःसंयोजनबाट उत्पन्न भएका यी भाइरसबाट महामारीमा कुनै असर परेको देखेका छैनौ, गम्भीरतामा पनि कुनै परिवर्तन भएको देखेका छैनौ, यद्यपि धेरै अध्ययनहरू जारी नै छन्,” उनले भनिन्।
यस्तै धारणा न्यु साउथ वेल्स हेल्थ प्याथोलोजिका निर्देशक एवम् मेडिकल भाइरोलोजिष्ट प्राध्यापक डोमिनीक ड्वायरको पनि छ, उनका अनुसार पुनः संयोजनबाट बनेका डेल्टाक्रन जस्ता भेरीएन्ट यिनका मौलिक भेरीएन्ट डेल्टा वा ओमिक्रन जस्ता चिन्ताजनक छैनन्।
“डेल्टाक्रनको प्रभावका बारेमा क्लिनिकल तथ्याङ्कको अभावकाबीच, कम चिन्ता भए तापनि त्यस्ता भेरीएन्टका बारेमा अध्ययन जारी छ, तिनीहरू आजसम्म केही हदसम्म दुर्लभ छन्, यद्यपि अस्ट्रेलिया जस्ता अन्य धेरै देशबाट डेल्टा हराउदैछ,” प्राध्यापक ड्वायरले एसबीएससंग भने।

डेल्टाक्रन, अमेरिका र बेलायतमा फैलनु अघि गत फेब्रुअरीमा पहीलोपटक उत्तरी फ्रान्समा फेला परेको हो।
गत अप्रिल ८ का दिन न्यु साउथ वेल्समा एक र क्वीन्सल्याण्डमा डेल्टाक्रनका १२ वटा सङ्क्रमण दर्ता भएका छन्।
गत १९ जनवरीमा बेलायतमा पत्ता लागेको एक्स इ भेरीएन्ट भने, बिए.२ भन्दा १० प्रतिशत बढी सङ्क्रामक रहेको अनुमान गरिएको छ यद्यपि यसका बारेमा थप अनुसन्धान जरुरी रहेको पनि बताइएको छ।
एक्स इ लाई ओमिक्रनको पुनः संयोजनमा विकास भएको हो भनी विश्व स्वास्थ्य सङ्गठनले पुष्टि गरिसकेको छ।
न्यु साउथ वेल्सका स्वास्थ्य अधिकारीहरूले पनि बिए.१ र बिए.२ को पुनः संयोजनमा बनेको भेरीएन्ट फेला पारेता पनि यसलाई एक्स इ भनेर व्याख्या गरिसकेका छैनन्।
प्राध्यापक ड्वायरका अनुसार एक्सइ र एक्सजि, बिए.१ र बिए.२ को संयोजनबाट बनेका हाइब्रिडहरू हुन्।
“अस्ट्रेलियामा फेला परेका एक्सइ (बेलायत र उत्तर युरोपमा फेला परे जस्तो) होइन, तिनीहरू दुर्लभ देखिन्छन्,” उनले भने।
के डेल्टाक्रन विरुद्ध हालका खोप प्रभावकारी छन्?
प्राध्यापक ड्वायरका अनुसार खोपले मुख्यतया भाइरसको स्पाईक प्रोटिन विरुद्ध काम गर्छ।
त्यसकारण डेल्टाक्रनमा रहेको स्पाईक क्षेत्र डेल्टा वा ओमिक्रन कुनबाट बनेको छ भन्ने कुरामा निर्भर हुने ड्वायर बताउँछन्।
“डेल्टा वा ओमिक्रन भाइरसको तुलनामा डेल्टाक्रनमा खोपको प्रभावकारिता फरक हुने कुनै प्रमाण छैन,” उनले भने।

यता सिड्नी स्थित ग्लोबल हेल्थ न्यूरोलोजी ल्याब र कोभिड–१९ रिप्रोग्राम ग्लोबल कन्सोरटियमका निर्देशक सोनु भास्कर भन्छन् कि डेल्टाक्रनलाई नियन्त्रण गर्न अन्य कोभिड–१९ संस्करणमा जस्तै सिद्धान्तहरूको आवश्यकता छ।
“यो राम्रो समाचार हुन सक्छ यद्यपि हामीले डेल्टाक्रनलाई बेवास्ता गर्ने गल्ती गर्नु हुँदैन, अस्ट्रेलिया र विश्वव्यापी रूपमा यो कसरी विकसित बन्दै छ भन्ने जान्नका लागि यसको जिनोमिक सर्भीलेन्सको ग्यारेन्टी हुनु पर्दछ,” उनले भने।
“यस बाहेक यस भेरीएन्टका एक भन्दा बढी प्रकार पनि हुन सक्छन्, जुन विश्वव्यापी रूपमा फैलिरहेको छ, किनकि बेलायत र अमेरिकामा रिपोर्ट भएका भाइरस फ्रान्समा रिपोर्ट गरिएका भन्दा फरक छन्।”
के हालका खोप एक्स इ विरुद्ध प्रभावकारी छन्?
प्राध्यापक ड्वायरका अनुसार एक्स इ मा रहेको स्पाईक प्रोटिन ओमिक्रनबाट आएको मानिएकाले खोपले काम गर्नु पर्ने हो।
“तर यस कुरामा निश्चित हुनका लागि पर्याप्त तथ्याङ्कहरू छैनन्, यी पुनः संयोजनहरू अहिलेसम्म असामान्य नै छन्,” प्राध्यापक ड्वायर भन्छन्।
सुरक्षा
डाक्टर भान केरखोपको बुझाइमा भाइरस हामीसँगै छ।
“यो साँच्चै तीव्र रूपमा फैलिरहेको छ, हामीले हामीसँग पहुँच भएका सबै उपकरणहरूको प्रयोग गर्न आवश्यक छ, यो भनेको खोप हो र अझै महत्वपूर्ण खोप लगाउनु हो,” उनले भनिन्।
“हामीले यो सुनिश्चित गर्नु जरुरी छ कि जब तपाईँको पालो आउँछ, तपाईँले पूर्ण खोप लगाउनुहुन्छ।”
“हामीले शारीरिक दुरी, मास्क लगाउने, भिडभाडमा नजाने झ्याल ढोका खुला राख्ने जस्ता उपायहरूको पालना गर्नुपर्छ।”
डाक्टर भास्कर न्यु साउथ वेल्समा डेल्टाक्रन वा एक्स इका थप भेरिएन्ट फैलिरहेका होलान् भन्ने कुरालाई इन्कार गदैनन्।
त्यसैले पनि न्यु साउथ वेल्समा अस्पतालमा भर्ना भएका र आइसियुमा रहेकाहरूको जिनोम सिक्वेन्सीङ्ग गर्नमा जोड दिइएको छ।
