पर्थ विमानस्थलमा मध्य रातमा पहिलो अन्तर राज्य उडानको अवतरण सँगै आगमन कक्ष खुसी साटासाट गरेका दृश्यले भरिएका थिए।
पश्चिम अस्ट्रेलियाले आफ्नो सीमा खोले पछि पर्थमा पहिलो उडान अवतरण भए पछि यात्रुहरू भावुक भएका दृश्य देखिएका हुन्।
कोरोनाभाइरस महामारीका समयमा लागु गरिएको ७०० दिन लामो कडा सीमा नियमहरू पश्चात् अन्ततः पश्चिम अस्ट्रेलियाले खोप लगाएका यात्रुहरूलाई आफ्नो राज्यमा स्वागत गरेको छ।
बिहीबार मात्र २२ घरेलु र पाँच उडानबाट करिब ५,००० मानिसहरू राज्यमा आउँदै छन्। र त्यस पछिका हप्तामा १० औँ हजार अन्यले पश्चिम अस्ट्रेलिया प्रवेश गर्दै छन्।
सीमा खुलेपछि मध्य रातमा अवतरण गर्ने विमान थियो सिड्नीबाट उडान भरेको क्वानटसको 'रेड आइ'।
त्यस पछि डोमेस्टिक टर्मिनलमा २०० बढी यात्रुहरूलाई परिवार र साथीहरूले स्वागत गरेका थिए।
टेलिभिजनमा प्रसारित भिडियोमा उनीहरूले भावुक हुँदै "म एकदम उत्साहित छु !" र "अन्ततः" भनेको देखिएको छ।
ती यात्रुहरू मध्येका एक थिए सङ्घीय विपक्षी नेता एन्थनी अल्बनिजी। उनी पिएर्स र हस्लक सिटहरूका लागी बिहीबार र शनिवार हुने चुनावी अभियानका क्रममा त्यहाँ पुगेका हुन्।

त्यस्तै प्रधान मन्त्री स्कट मोरिसनले पनि सीमा खुलेपछि पश्चिम अस्ट्रेलियाको भ्रमण गर्ने अपेक्षा गरिएको थियो तर उनीमा कोभिड-१९ सङ्क्रमण देखिएका कारण सिड्नीमा नै आइसोलेसनमा रहेका छन्।
पश्चिम अस्ट्रेलिया हवाई यात्रुहरूका लागी आफ्नो सीमा खोल्ने निर्णय लिने देशकै अन्तिम राज्य हो।
सीमा खुल्ला गरिए पनि राज्यमा अझै पनि केही प्रतिबन्धहरू रहेका छन्।
जस अन्तर्गत यात्रुहरूले तिन मात्रा खोप लगाएको हुनुपर्छ भने यात्रा छुट सम्बन्धी फर्म भर्नु पर्छ। त्यस्तै टर्मिनलमा मास्क लगुना अनिवार्य छ। र विमान भित्र मास्क लगाउने नियम त राष्ट्रिय स्तरमा नै रहेको छ।
"अस्ट्रेलिया अन्ततः एकसाथ रहेको छ।" क्वान्टसका प्रमुख एलन जोयसले बताए।
राज्यका प्रिमियर मार्क म्याक्ग्वविन फेब्रुअरीमा नै राज्यको सीमा खोल्ने योजनामा थिए तर अस्ट्रेलियामा गर्मी याममा ओमिक्रन भेरीएन्टको कोभिड-१९ सङ्क्रमण फैलन थाले पछि उनले आफ्नो सो योजनालाई पछाडि धकेलेका थिए।
