SKIP TO MAIN CONTENT

एज्ड केयरका वृद्धहरूलाई पिटेको आरोप पूर्व नर्सिङ असिस्टेन्ट अस्मिता पाण्डेद्वारा स्वीकार

एक पूर्व नर्सिङ असिस्टेन्टले, गत वर्ष उत्तर-पश्चिमी सिड्नीको वृद्ध हेरचाह केन्द्रका निवासीहरूमाथि हातपात गरेको आरोप, सोमबार अदालत सामु स्वीकार गरेकी छिन्।

A representative picture of Estia Health aged care facility.
A representative picture of Estia Health aged care facility. Source: AAP / DANIEL POCKETT

2 min read

Published

Updated

By Dinita Rishal

Source: SBS



Skip to article content

एपिङस्थित एस्टिया हेल्थका चार जना वृद्ध निवासीहरूलाई मारपिट गरेको आरोप सम्बन्धी मुद्दाको सुनुवाइका लागि अस्मिता पाण्डे सोमबार पारामाटाको स्थानीय अदालतमा उपस्थित भएकी थिइन्।

उनले आफूमाथि लागेका सामान्य कुटपिटका चार वटा आरोपलाई स्वीकार गरेकी हुन्।

शारीरिक हानि हुने कुटपिटको अर्को आरोप भने अदालतले फिर्ता लिएको जानकारी एसबीएस नेपालीलाई दिएको छ।

गत वर्षको २६ मार्चमा आफ्ना ९२ र ८७ वर्षका दुई निवासीहरू माथि कुटपिट भएको घटनाका बारेमा एस्टिया हेल्थले प्रहरीलाई सम्पर्क गरेको थियो।

प्रहरीका अनुसार ती ८७ वर्षीय महिलाको अनुहारका चोट लागेको थियो।

त्यसपछि भएको अनुसन्धानमा अर्का दुई जना ९५ वर्षीय महिलाहरूलाई पनि थप्पड हानेको भन्ने पत्ता लागे पछि पाण्डेलाई मार्च ३० तारिखमा होमबुशको एक घरबाट पक्राउ गरिएको थियो।

PARRAMATTA LOCAL COURT STOCK
Asmita Pandey appeared at Parramatta Local Court in Parramatta, Sydney for her hearing on Monday 30 January 2023. Source: AAP / Miklos Bolza

ती दुई महिलाहरू मध्य एककी छोरीले घटनाको बारेमा च्यानल नाइनसँग सोमबार कुरा गरेकी थिइन्।

"आफूले हेरचाहको लागि कतै राखेको व्यक्ति प्रति कसैले गलत व्यवहार गरेको कुरा सुन्न निकै गाह्रो हुन्छ," रस्लिन पेश्केले बताएकी हुन्।

एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत शन बिल्टनले सोमबार एक प्रेस विज्ञप्तिमार्फत घटनाको लागि माफी मागेका थिए।

"हामीले आरोपहरूको बारेमा थाहा पाउने बित्तिकै, प्रहरी र एज केयर क्वालिटी एन्ड सेफ्टी कमिसनलाई जानकारी गर्‍यौँ र ती निवासीहरूको परिवारसँग भेट्यौँ," विज्ञप्तिमा भनिएको थियो।

अनि हामीले तुरुन्तै उक्त कर्मचारीलाई कामबाट निकाल्यौँ।
शन बिल्टन, एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत

यस पछि, पाण्डेमाथि सन् २०२२ को जुन२९ तारिखदेखि आठ हप्तासम्म इन्टेरिम प्रोहिबिसन अर्डर (आईपीओ) लागू भएको थियो।

हेल्थ केयर कम्प्लेन्ट्स ऐन १९९३ अन्तर्गत, आईपीओले उनलाई सशुल्क या स्वैच्छिक रूपमा कुनै पनि स्वास्थ्य सेवा प्रदान गर्नबाट वञ्चित गर्दछ।

वर्तमान आईपीओ १९ डिसेम्बर २०२२ देखि थप आठ हप्तासम्मको लागि लागू गरिएको पनि हेल्थ केयर कम्प्लेन्ट्स कमिसनले बताएको छ।

अस्मिता पाण्डे विरूद्धको मुद्दाको फैसला १७ मार्चमा हुने अदालतले बताएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now