धोकाबाट सम्पत्ति आर्जन गरेको कसुरमा एक नेपालीलाई तीन वर्षभन्दा बढी जेल सजाय

ठगीबाट सम्पत्ति आर्जन गरेको अभियोगमा मेलबर्न बस्दै आएका भरत केसीलाई तीन वर्ष १० महिना जेल सजाय सुनाइएको छ ।

Melbourne County Court

County Court of Victoria. Source: SBS

केसीले २ वर्ष ६ महिना परोल बिना बिताउनु पर्ने न्यायाधीश एन्ड्रु टिनेले भिक्टोरियाको काउन्टी कोर्टेमा सोमबार २१ मार्चमा भएको सुनुवाइमा बताएका हुन्। 

नेपालमा रहेका परिवारलाई पैसा पठाउने वाचा गरेर मानिसहरूबाट पैसा लिएको, तर त्यो पैसा नपठाएकोमा उनीमाथि २० वटा अभियोग लागेका थिए।  

अदालतको अनुसार ४० वर्षीय केसीले सन् २०१४-१५ को समयमा आयात-निर्यातको काम गर्दथे र अस्ट्रेलियाबाट नेपाल पैसा पठाउने काम सुरु गरेका हुन्। 

“तपाईँले अस्ट्रेलियाको बैङ्क र आर्थिक प्रणालीको बारेमा थाहा नभएका मानिसहरूको फाइदा उठाउँदै, आफूले प्रदान नगर्ने सेवाको दिन्छु भन्दै उनीहरूबाट पैसा लिनु भयो,” न्यायाधीश टिनेले सोमबार भएको सुनुवाइमा बताए।  

तपाईँले ती सबै दोष स्वीकार गर्नु भएको छ र यो आचरणले तपाईँलाई विश्वास गर्ने मानिसहरूलाई गहिरो प्रभाव पारेको छ भन्ने कुरा बुझेको तपाईँको प्रस्तुतीकरणमा उल्लेख भएको छ।

अदालतमा पेस गरिए अनुसार केसी २० वटा विभिन्न समयमा मानिसहरूबाट १,९६३ डलरदेखि करिब ३६,६१७ डलरसम्म पैसा लिएका थिए। त्यो कूल रकम करिब २ लाख २० हजार अस्ट्रेलियाली डलर रहेको छ।  

अदालतको अनुसार सन् २०२० जुलाई ३० तारिखमा पक्राउ परेदेखि सुनुवाइको दिनसम्म उनी ५९९ दिन प्रहरी हिरासतमा रहेका थिए।  

यसरी आफ्नो पैसा गुमाएका मध्य धेरैजसोको केसीसँग मोबाइल फोनमार्फत नेपाली भाषामा कुरा भएको र भेट नभएको अदालतले बताएको थियो।  

केसी ती सेवाको बारेमा फेसबुक मार्फत पनि विज्ञापन दिएको बताइएको थियो।  

न्यायाधीशका अनुसार केसीका कार्यले थुप्रै मानिसहरूलाई कठिन परिस्थितिमा पुराएको थियो, जस मध्य कति अन्तराष्ट्रिय विद्यार्थीलाई आफ्ना विश्वविद्यालय शुल्क र भाडा तिर्न वा राम्रोसँग खान पनि गाह्रो थियो।  

“केही पीडितहरूले ठूलो रकमको कुरा गरेका थिए, उनीहरूले आफ्नो जीवन बचत नै तपाईँलाई दिएर गुमाए,” न्यायाधीश टिनेले सुनुवाइको क्रममा बताए।  

र अर्को समयमा नेपालमा रहेका अभिभावकले अस्ट्रेलियामा महामारीको बेला कठिन अवस्थामा भएको आफ्नो छोरालाई भनी पैसा पठाएको बताएका थिए - तर त्यो पैसा ती छोराले पाएनन्।

न्यायाधीशले बताए कि कतिपय पीडितले आफ्नो घर-सम्बन्ध गुमाए भने, कतिलाई आफ्नै मानिसहरूबाट विश्वास उठेको छ।  

केसीले नक्कली नाम, मूल्यहीन चेक र विभिन्न बहाना प्रयोग गरेर मानिसहरूलाई टारेको, र प्रहरीलाई गुनासो गरेमा या कुनै कानुनी कदम लिएमा उनीहरूलाई पैसा फिर्ता नदिने धम्की दिएको अदालतमा बताइएको हो।  

उनले कहिलेकाहीँ मानिसहरूलाई पैसा तिरेको भन्दै स्क्रिनशटहरू पठाउने गरेको र थोरै रकम फिर्ता गरेको न्यायाधीश बताए।  

“तपाईँले मानिसहरूलाई गल्तीले चेकमार्फत बढी पैसा तिरेको भन्दै उनीहरूलाई पैसा फिर्ता माग्नु भएको थियो, जब वास्तवमा एक सेन्ट पनि पैसा तिरिएको थिएन,” न्यायाधीश टिनेले सुनुवाइको क्रममा केसीलाई बताए। 

केही पैसा फिर्ता भए तापनि केसीका कार्यहरू गम्भीर र आपराधिक भएको उनले बताए।  

तपाईँले आफूलाई विश्वास गरेका यी मानिसहरूको फाइदा उठाउनु भयो। यो निकै लज्जास्पद, गम्भीर र आपराधिक थियो। यस किसिमको आचरणको कडा निन्दा गरिनु पर्छ, र म यसको निन्दा गर्छु। तपाईँलाई आफू देखेर लाज लाग्नु पर्छ।

सन् २००८ मा अस्ट्रेलिया आए पछि कुनै आपराधिक इतिहास नभएका केसीले २०२० ० मा पक्राउ पछि सुनुवाइको दिनसम्म गरी ५९९ दिन हिरासतमा बिताएका छन्।  

सजाय पूरा गरे पछि उनलाई नेपाल फिर्ता पठाइन्छ कि पठाइँदैन भन्ने कुराको अहिले निर्णय भएको छैन।  


Share

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now