सङ्घीय चुनावमा निर्वाचित भएको खण्डमा चिनिया नेतृत्वसँग सम्बन्ध सुधारका लागि वार्तामा प्रवेश गर्न आफू 'धेरै खुसी' हुने प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।
सोमबार एसबीएस रेडियोसँगको कुराकानीका क्रममा प्रधानमन्त्री स्कट मोरिसनले चिनिया समुदायको खुलेर प्रशंसा गरे।
कोभिड–१९ महामारी पछिको आर्थिक पुनर्स्थापनामा उल्लेख्य योगदान दिएको भन्दै उनले यसलाई “अद्भूत योगदान” भएको बताए।
यद्यपि बेईजिङ्गले 'अनुचित' र 'जबरजस्ती' व्यापार प्रतिबन्ध लगाएको भन्दै प्रधानमन्त्रीले चिन्ता पनि व्यक्त गरेका छन्।
गत हप्ता चिनिया पानी जहाज अस्ट्रेलियाको नजिक पानीमा आएपछि रक्षा मन्त्री पिटर डट्टन र प्रधानमन्त्रीले चर्को आलोचना गरेका थिए।
शनिवारका लागि तय भएको सङ्घीय निर्वाचनले ६ हप्तादेखिको दलहरूको चुनावी रस्साकस्सीलाई अन्त्य गर्दैछ।
यद्यपि ठूला दल लेबर र लिबरलले निर्वाचन पछि सरकार बनाउने अवसर पाए चीनसँगको सम्बन्धलाई कसरी अगाडी बढाउने भन्ने बारेमा आ–आफ्ना योजना सार्वजनिक गरिरहेका छन्।
चिनिया अस्ट्रेलियाली समुदायले भने चुनावी अभियानका क्रममा गठबन्धन र लेबरले चिनिया सरकारप्रति प्रयोग गरेको भाषाले अस्ट्रेलियामा विभाजन सिर्जना गरिरहेको बताइरहेको छ।
“चीन र अस्ट्रेलियाका जनता–जनताबिचको सम्बन्ध निकै बलियो रहेको म ठान्दछु, चिनिया जनता अस्ट्रेलियामा आएर बिदा मनाउन चाहन्छन्, यहाँ पढ्न चाहन्छन्, राम्रो सम्बन्ध राख्न चाहन्छन्, व्यापार व्यवसाय गर्न चाहन्छन्,” प्रधानमन्त्रीले भने।
“र यो हामी हेर्न चाहन्छौ, तर त्यति हुँदा हुँदै पनि अस्ट्रेलियाका लागि स्वतन्त्रता महत्त्वपूर्ण कुरा हो, चिनिया सरकार लगायत कुनै पनि मुलुकले जबरजस्ती गर्न खोजेको अवस्था हामी चाहँदैनौ।”
सन् २०२० मा अस्ट्रेलियाले कोभिड–१९ को उत्पत्ति कसरी भयो भन्ने बारेमा छानबिनका लागि अमेरिका लगायतका देशको समर्थन गरे पछि चीन अस्ट्रेलिया सम्बन्ध चिसिँदै गएको हो।
त्यसको लगत्तै प्रतिक्रिया स्वरूप चीनले जौ, वाईन, समुन्द्री खाना, गाईको मासु लगायतका सामाग्री निर्यातमा रोक लगाएको थियो।
“म त्यो समयको प्रतीक्षामा छु जब हामी फेरी सहकार्य गर्न सक्छौ, त्यसको लागि हामी निरन्तर लागि रहन्छौ,” स्कट मोरिसनले भने।
“तर त्यो अस्ट्रेलियाली सार्वभौमसत्ता, वा हाम्रो महत्त्वपूर्ण स्वतन्त्रताका मूल्यमा भने कहिल्यै पनि हुनेछैन।”
प्रधानमन्त्रीले चिनिया समुदायका अस्ट्रेलियाली सबैभन्दा देशभक्त आप्रवासी भएको पनि बताए।
“महामारीको समयमा, बिशेषगरि जब वुहानमा भाइरस देखिएको थियो, चिनिया समुदायका अस्ट्रेलियालीहरुले अविश्वसनीय काम गरे,” प्रधानमन्त्रीले भने।
“मानिसहरू चीनबाट अस्ट्रेलिया फर्किरहेका थिए, उनीहरूले अपनाएको सावधानीले अन्य देशको तुलनामा महामारी कम गर्न सफलता हासिल भयो।”

चुनावी अभियानहरूका क्रममा प्रधानमन्त्री मोरिसन र विपक्षी नेता अल्वनिजीले बहु सांस्कृतिक समुदायमा पुगी आफ्नो मत सुरक्षित गर्ने कोसिस गरिरहेका छन्।
“अस्ट्रेलियामा बहुसांस्कृतिकताले सफलता पाउनुको कारण मानिसहरू अलग भएका कारणले होइन बरु मानिसहरू एकसुत्रमा बाँधिनुका कारणले हो,” प्रधानमन्त्रीले भने।
मे १२ मा ग्ल्याडस्टोनमा क्वीन्सल्याण्डका सिनेटर मुर्रे वाट, फ्लिीनका लागि लेबरका उम्मेदवार म्याट बर्नेट र अस्ट्रेलियाको पहिलो मुस्लिम फ्रन्चबेन्चर एड हासिकसँगको चुनावी प्रचारका क्रममा कस्तो अनुभव भयो भन्ने प्रश्नमा चाहिँ प्रधानमन्त्रीले इटालियन समुदायबाट पाएको प्रतिक्रियाले आफ्नो 'हृदय' छोएको बताए।
“त्यहाँ रहेका इटालियन समुदायका केही सदस्यकहरुले मलाई भने की उनीहरू जीवनमा पहीलोपटक लेबरलाई भोट दिँदै छन् किनकि उनीहरू आधुनिक अस्ट्रेलियाको प्रतिबिम्ब खोजी रहेका छन्,” उनले भने।
“आधुनिक अस्ट्रेलिया हुजीक र अल्वनीजि नाम गरेका मानिसहरूबाट बनेको छ, र बनेको छ वाट र म्याट जस्ता मानिसहरूबाट पनि।”
सङ्घीय निर्वाचनमा जित हासिल गरे अल्वनीजि पहिलो इटालियन–अस्ट्रेलियाली प्रधानमन्त्री बन्नेछन्।

युक्रेन युद्धमा मानवीय प्रयास
युक्रेनमा रुसी सेनाको आक्रमण पछि सरकारले गत मार्च महिनामा युक्रेनबाट हुने भिसा आवेदनमा विशेष प्राथमिकता दिने बताएको थियो।
प्रधानमन्त्रीले युक्रेनमा जारी द्वन्द्वबाट भागेकाहरूलाई हालसम्म करिब ७५०० भिसा दिइएको जानकारी पनि गराए।
उनले केही मानिसहरू युद्ध समाप्ति भएपछि आफ्नो घर फर्कन चाहने भन्दै युरोपका विभिन्न देशहरूमा रहेकाहरूको चाहाना पनि उस्तै रहेको बताए।
“अस्ट्रेलियाले द्वन्द्व अवधिभर युक्रेनलाई उच्च तहमा सहयोग गरिरहेको छ,” प्रधानमन्त्रीले भने।
प्रधानमन्त्रीले दोस्रो कार्यकालका लागि निर्वाचित हुने कोसिसलाई जारी राखेका छन्।
आफ्नो दलभित्रको निर्वाचनमा टर्नबुललाई पछि पारेपछि उनी सन् २०१८ मा प्रधानमन्त्री नियुक्त भएका हुन्।
यता सन् २०१९ को चुनावमा हार बेहोरेपछि अल्वनिजी लेबरको नेतृत्वका लागि छनोटमा परेका एक मात्र व्यक्ति हुन्।
त्यसपछि भने उनी लेबरको नेतामा निर्विरोध निर्वाचित भएका थिए।
