सरोज खत्रीको किराना पसल होबार्टको बहु सांस्कृतिक परिषद्को कार्यालयको सडक पारि नै रहेको छ।
तर उनले व्यवसाय सञ्चालनको क्रममा त्यस क्षेत्रमा केही हदसम्म रङ्गभेदी क्रियाकलाप अनुभव गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
विगत तीन वर्षदेखि नेपाली सामाग्रीहरूको किराना पसल संचालन गर्दै आएका सरोज खत्रीले त्यस क्षेत्रमा रहेका अन्य सांस्कृतिक पृष्ठभूमिका समुदायबाट निकै साथ र समर्थन प्राप्त गरे पनि त्यस क्षेत्रमा आप्रवासी लक्षित आक्रमण भइरहेको अनुभूति गरेका छन्।
उनी भन्छन्, दुई वर्षको अवधिमा उनको पसलमा दुई नै पटक चोरी भइसक्यो।
"पछिल्ला दुई वर्षमा मेरो पसलमा दुई पटक चोरी भयो के, भने पछि यहाँ निर लक्षित समुदाय चाहिँ आप्रवासीहरू जस्तो लाग्छ।"
अन्य आप्रवासी पृष्ठभूमिका व्यक्तिहरूको व्यवसायमा पनि चोरी भएको घटनाबारे थाहा पाएपछि उनमा यो आशङ्का पलाएको उनी बताउँछन्।

उनले सुरक्षालाई लिएर आफ्नो चिन्ता व्यक्त गरिरहेको समयमा सडक पारी पट्टि सो क्षेत्र समेट्ने क्लार्क निर्वाचन क्षेत्रका वर्तमान सङ्घीय सांसद तथा आगामी निर्वाचनमा पनि जन प्रतिनिधिको दौडमा रहेका एन्ड्रु विल्की आउँदै थिए।
एसबीएस रेडियोले सञ्चालन गरेको निर्वाचन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुन आएका विल्कीलाई सरोज खत्रीको चिन्ताबारे प्रश्न गरिएको थियो।
विल्कीले रङ्गभेदी सोचले उत्प्रेरित अपराधका बारेमा आफूलाई जानकारी नभए पनि केही घटनामा त्यो सोच रहेको हुन सक्ने बताए।
"मलाई अपराध जातीय रूपमा उत्प्रेरित भएको कुनै ठोस प्रमाण भएको बारेमा थाहा छैन, मलाई शङ्का छ कि केही तोडफोड र त्यस प्रकारका चीजहरूमा भने यो हुन सक्छ।"
व्यवसाय सञ्चालन गर्दा सुरक्षाको चिन्ता त छदै छ तर त्यही चिन्ता लिएर प्रहरीकोमा जाँदा प्रहरीको प्रतिक्रियाबाट पनि निराश भएको सरोज खत्रीले बताएका छन्।
"बाहिर एउटा झन्डा, ओपनको साइन राखे त्यो चोरेर लग्यो। पुलिसलाई कल गरे पुलिसहरू डिमोटिभेट गर्छ हामीलाई। त यति सानो कुराको लागी प्रेस चार्ज गर्न चाहन्छस् भन्छ। "
प्रहरीको प्रतिक्रियाका बारेमा बोल्दै सांसद विल्कीले सरकारी निकाय र त्यसमाथि पनि प्रहरीले सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउनु पर्नेमा जोड दिए ।
यो घटनाबारे अझ विस्तृतमा बुझेर यदि प्रहरीको प्रतिक्रिया बहु सांस्कृत पृष्ठभूमिका आधारमा प्रेरित भएको पाइए आफूले नै आधिकारिक गुनासो राख्ने समेत उनको भनाइ थियो।
तर यसो भनी रहँदा उनले आफू समक्ष यस्ता गुनासाहरू अरू समुदायबाट पनि आएको र टास्मेनियाको प्रहरीलाई अझ बढी तालिमको आवश्यकता रहेको बिचार राखे।
"मैले के देखेको छु भने यस्ता किसिमका गुनासाहरू विभिन्न मानिसहरूबाट समय समयमा म समक्ष आएका छन्। र मलाई लाग्छ यहाँ टास्मेनियामा केही कुराहरू सुधार गर्न सकिन्छ। "
उनी थप्छन्, "मलाई लाग्छ हामीले प्रहरीलाई दिने तालिमहरू अझ राम्रो बनाउन सकिन्छ र मेरो बिचारमा संस्कृतिबारेको चेतना त्यस्ता तालिमहरूमा समावेश गर्न सकिन्छ, भिन्न पृष्ठभूमि भएका मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्ने सम्बन्धमा।"
साथै विल्कीले सरोज खत्रीको पसलमा गएर उनीसँग यो घटना बारे बुझेका थिए।
भेटबारे एसबीएस नेपालीसँग कुरा गर्दै खत्रीले, यसबारे प्रहरी आयुक्तसँग कुरा गर्ने विल्कीले प्रतिबद्धता व्यक्त गरेको बताए।
सांसद विल्कीसँगै लेबरबाट साइमन डेविस, लिबरलका विल कोट्स त्यस्तै जेनेट शेली ग्रीन्सबाट क्लार्क निर्वाचन क्षेत्रका लागी यस पटकको चुनावी प्रतिस्पर्धामा भिड्दै छन्।
सरोज खत्री मात्र एक नेपाली होइनन् जसले टास्मेनियामा केही हद सम्म विभेदको अनुभव गरेका छन्।
नेपाली सोसाइटी अफ टास्मेनियाका अध्यक्ष खगेन्द्र सत्यालले पनि भाडाको घरको खोजी गर्ने क्रममा नेपाली पृष्ठभूमिका व्यक्तिहरू माथि अप्रत्यक्ष रूपमा विभेद गरिएको सुनिएको र आफूलाई पनि त्यस्तै अनुभूति भएको बिचार राखेका छन्।
"अलिकति यहाँको परिवेशमा थोरै चाहिँ त्यो रेसीज्म भएको हो कि भन्ने कुरा चाहिँ फील हुन्छ।“
तर यो अप्रत्यक्ष रूपमा हुने उनी बताउँछन्।

“तर अपफ्रन्ट रूपमा त्यो नदेखिएता पनि कहिले काहीँ साथीभाइहरू सँग कुरा गर्दा खेरि चाहिँ यस्तो खालको कुराहरूले हामीलाई काम पाउन देखि लिएर घर पाउने कुराहरूमा त्यसले (जातिवादले) थोरै भूमिका खेलेको हो कि भन्ने चाहिँ हामीले फील गरी रहेका छौँ।"
नेपाली सोसाइटी इन नर्दर्न टास्मेनियाका उपाध्यक्ष सुदिप रजकले भने नस्लवाद वा जातिवाद कुनै व्यक्तिको समस्या नभएर शिक्षाको कमीका कारण हुने बताउँछन्।
"मेरो व्यक्तिगत अनुभवमा रेसिज्म चाहिँ शिक्षाको समस्या हो न कि मानिसहरूको। जो चाहिँ शिक्षित पृष्ठभूमिको हुनुहुन्छ जसको चाहिँ राम्रो पालनपोषण भएको छ नि उनीहरूले चाहिँ मैले कहिले पनि रेसीज्म गरेको फील गरिन।"
पिछडिएका र राम्रो शिक्षा नभएका क्षेत्रका मानिसहरूमा भने अरूलाई हेर्ने तरिका अलिक फरक पाएको रजकको भनाइ छ।
जिलियन लङ्ग माइग्रेन्ट रिसोर्स सेन्टर टास्मेनियाकि प्रमुख कार्यकारी अधिकृत हुन् र उनले नेपाली समुदाय भित्र सुरक्षाको विषयलाई लिएर चिन्ता रहेको बारे आफू जानकार नभएको बताएकी छिन्।

उनले व्यवसायीहरूको लागी विभेद विरुद्धका कार्यक्रमबारे नबताएता पनि विशेष गरी विद्यालयमा हुने त्यस्ता गतिविधिहरू विरुद्ध कडा कार्यक्रमहरू ल्याइएको बताएकी छिन्।
"विशेष गरी बालबालिकाहरूका लागी कार्यक्रम छ जसले आफू विरुद्ध विभेद भएको अनुभव गरेका छन् र नस्लवादको सिकार भएका छन् विशेष गरी विद्यालयहरूमा। त्यसको लागी हाम्रो निकै सशक्त कार्यक्रम छ जसले कलिला बालबालिका, सेवा प्रदायक र शिक्षकहरूलाई सहयोग प्रदान गर्छ।"
आफ्नो प्रतिनिधिबाट समुदायको अपेक्षा
भुटानी पृष्ठभूमिका नेपाली भाषी खड्ग थापालाई अस्ट्रेलियाली सरकारले खुला हृदयले आफूहरूलाई स्वागत गरेको अनुभव रहेको छ।
तर उनले भुटानी समुदायमा भाषा समस्या साथै रोजगारी र अन्य अवसरको खोजीको टास्मेनियाबाट अन्य राज्यहरूमा बसाइ सर्ने क्रमलाई सबैभन्दा ठुलो समस्याका रूपमा लिएका छन्।
"आप्रवासी समुदाय विशेष गरी हाम्रो जस्तो समुदाय (भुटानी नेपाली भाषी) लाई जहाँ चाहिँ अलिकति भाषाको ठुलो अड्चन छ प्रौढहरूमा, र प्रौढहरूको जनसङ्ख्या उच्च छ।"

उनलाई पछिल्लो समयमा सिपयुक्त कामदारहरू लक्षित कार्यक्रमहरू बढी ल्याइएको हो कि जस्तो भान हुने पनि बताए।
उता लन्चेस्टनबासी नबराज मुडवरी शरणार्थी पृष्ठभूमिका नेपाली भाषी र सिप युक्त भिसामा आएका नेपाली भाषीहरूको समस्याहरूलाई छुट्टाएर सम्बोधन हुनु पर्ने धारणा राख्छन्।
"हामीले नेपाली आप्रवासीले शरणार्थी कल्याणकारी सुविधा खोज्ने कुरा त हुँदैन तर पनि के छ भने देखि कमसेकम (नेपालीहरू) अलि फरक हुन् उनीहरूको पनि समस्या छ भन्ने किसिमबाट हेर्दा खेरि चैँ हाम्रो समस्यालाई पनि नीति निर्माणको तहमा फरक किसिमबाट हेरिन्छ भन्ने आसा मात्र हो।"
सिपयुक्त भिसामा रहेकाहरूमा भाषा समस्या खासै ठुलो नभए पनि खेलकुदका लागी उपलब्ध रहेका सुविधाहरू पर्याप्त नभएको र नेपाली भाषा कक्षा सञ्चालन गर्न एक निश्चित स्थान उपलब्ध नगराइएको उनको भनाइ छ।
चुनावी अन्तरक्रिया कार्यक्रममा सहभागी भएका बास निर्वाचन क्षेत्रका लेबर उम्मेदवार रस हार्टले मुडवरीद्वारा उठाइएका मुद्दाका बारेमा जानकार रहेको र त्यसको कार्यान्वयनका लागी प्रक्रिया पनि अघि बढाइएको बताएका थिए।

रस हार्टसँग चुनावी दौडमा रहेकी छिन् हाल सो क्षेत्रकी प्रतिनिधि रहेकी लिबरलकी ब्रिजेट आर्चर।
आर्चर र हार्टबिच अघिल्लो सन् २०१९ को निर्वाचनमा पनि झिनो मत अन्तर रहेको थियो भने यस पटक पनि यी दुईबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
सरकार गठनका लागी निकै ठुलो भूमिका खेल्ने यस निर्वाचन क्षेत्रमा रहेका अन्य उम्मेदवारहरूमा ग्रीन्सबाट सेसिली रसल, ज्याकी ल्याम्बी पार्टीका बब सल्ट र पौलिन ह्यान्सन पार्टीबाट मेलानी डेवीले उम्मेदवारी दिएका छन्।
टास्मेनियाका नेपाली भाषीहरूले आगामी निर्वाचनबाट जो प्रतिनिधि बने पनि केही क्षेत्रमा काम गर्न आवश्यक रहेको पाएका छन्।
होबार्ट निवासी सरोज खत्रीले पूर्वाधार विकासलाई प्रतिनिधिहरूले प्राथमिकतामा राख्नु पर्ने धारणा राखेका छन्। त्यसमा उनले त्यस क्षेत्रमा सार्वजनिक शौचालयको व्यवस्था नहुँदा समस्या परेको बताएका छन्।
"मेरो यहाँ अर्को साथी बिजनेस होल्डर हुनुहुन्छ उहाँ चाहिँ टोइलेट जानु पर्यो भने यहाँ आउनु हुन्छ के। त्यो कुरा चाहिँ ठुलो समस्या हो जस्तो लाग्छ मलाइ।"
टास्मेनियाको नेपाली समुदायमा लामो समय देखि सक्रिय रहेकी पुनम पन्तले यो निर्वाचन पश्चात् प्रतिनिधिहरूले समुदायमा जानकारी प्रवाह गर्न अझै प्रभावकारी माध्यमहरूको खोजी गर्नु पर्ने आवश्यकता देखेकी छिन्।
उनी भन्छिन् सेवा र सुविधाहरू यथेष्ट भए पनि समुदायमा त्यसबारे जानकारी पुर्याउन भने सकिएको छैन।
"सेवाहरू पनि धेरै कुरामा प्रदान गरेको छ, हाम्रो राम्रैसँग ख्याल गरेको जस्तो मलाई लाग्छ। तर कहाँ जाने, कसरी जाने, कसरी त्यो सेवा लिने ? त्यो सचेतना त्यो जानकारी चाहिँ हामीले दिन सक्नु पर्छ।"

त्यस्तै गैर आवासीय नेपाली संघ अस्ट्रेलिया टास्मेनियाका सचिव लोकेन विष्टले नेपाली लगायत सम्पूर्ण आप्रवासीहरूका लागी आवासको समस्या टड्कारो रहेको बताएका छन्।
उनले महँगो घर भाडा त छदै छ तर आवास अभाव नै चाहिँ समुदायमा निकै ठुलो समस्याका रुपमा रहेको बताएका छन्।
"कति भाइ बहिनिहरू(लाई) एकदमै गाह्रो (गरि) होटेलमा बस्नु पर्ने, ब्याकप्याकरमा बस्नु पर्ने (भएको छ), इन्टरनेसनल स्टुडेन्टले यहाँ आएर ब्याकप्याकरमा बस्नु पर्ने अवस्था आयो भने एकदमै टफ हुन्छ।"
साथै अस्ट्रेलियाको नागरिकता लिएकै समुदायका सदस्यलाई भने आफ्ना नयाँ पुस्तामा नेपाली भाषा, संस्कृतिको संरक्षण कसरि गर्ने भन्ने चिन्ता रहेको विष्टले बताएका छन्।
