"मेरो हजुरबुवाको पनि सपना थियो - उहाँको किताब छापियोस् भन्ने," आफ्नो हजुरबुवालाई सम्झँदै भन्छिन् थापा।
२२ वर्षीय थापाले आफ्नो हजुरबुवा, स्वर्गीय चन्द्रबीर थापाको सम्झनामा एक पुस्तक लेखेकी छिन् - "मेरो हजुरबुवाको जीवनयात्रा - नेपाली भाषी भुटानी शरणार्थीको कथा।"
सन् २०१३ सालमा आफ्नो परिवारसँग अस्ट्रेलिया आएकी लेखक थापाले यस किताबमा आफ्नो परिवारको भुटानदेखि नेपाल सम्म, र नेपालदेखि अस्ट्रेलियासम्मको यात्रालाई चित्रण गरेकी छिन्।

सन् २०१९ मा क्यान्सरका कारण आफ्नो हजुरबुवाको निधन भए पछि आफूबाट सबै किसिमको आशा हराएको उनी याद गर्छिन्।
"हजुरबाबा बिते पछि सधैँ मेरो अस्तित्व नै गुमाएको महसुस हुन्थ्यो मलाई।", एसबीएस नेपालीसँगको कुराकानीमा उनले भनिन्।
मैले मेरो काम छोडेँ, मैले स्कुल छोडेँ। म सक्दिन होला, मेरो जिन्दगी सक्यो होला जस्तो लाग्थ्यो हजुरबुवा बितेपछि।
निराशा र शोकसँग जुझ्दै गर्दा, आफ्नो हजुरबुवाको नजिकी व्यक्ति, डाक्टर जिनेट हाइल्यान्डसँग उनको भेट भयो।
"उहाँले मलाई - 'तँ आफ्नो हजुरबाबाको बारेमा किन पुस्तक लेख्दैनस्? किन अरू सामु देखाउन सक्दैनस् उहाँको त्यो ज्ञानलाई?' भनेर प्रोत्साहन गर्नु भयो।"
र त्यस पछि आफ्नो हजुरबुवाको सपनालाई पूरा गर्ने अडानका साथ, उनका जीवनका अनगिन्ती सङ्घर्ष, खुसी र अनमोल पाठहरूलाई उनले शब्दमा उतारिन्।

स्व. चन्द्रवीर थापाको जन्म वि.स. १९९५ सालमा भुटानको एउटा सानो गाउँमा भएको थियो।
सन् २०१३ सालमा अस्ट्रेलिया भित्रनु अघि थापा परिवारले १५ वर्ष नेपालका शरणार्थी शिविरहरूमा बिताएका थिए। लेखक थापाको जन्म पनि त्यहीँ भएको हो।
शरणार्थीका रूपमा नेपाल बस्नु पर्दाको दुख त चाहेर पनि शब्दमा वर्णन गर्न नसकिने उनी बताउँछिन्।
भुटानमा आफ्नो घरजग्गा सबै छोडेर, अनागरिक भएर त्यहाँबाट हिँड्नु पर्यो। नेपाल आइसके पछि नेपालले पनि एउटा नेपाली भनेर स्वीकार नगरे पछि, अनागरिक भएर बाँच्नु पर्यो धेरै समयसम्म।
"के खाऊँ, के लाऊँ?" को प्रश्नदेखि, झरी पर्दा त्यतिकै भिजेर बस्नु पर्ने, र राम्रो स्वास्थ्य सुविधा पनि नपाएको त्यो कहालीलाग्दो घडीको वर्णन कुनै कापीमा कोरेर गर्न पनि असम्भव रहेको थापा बताउँछिन्।
तर जस्तो दुख भए पनि आफ्नो हजुरबुवा कहिल्यै नआत्तिएको उनको सम्झना छ। "सङ्घर्ष नै जीवन हो - सङ्घर्ष छैन त जीवन नै छैन" भन्ने पाठ उहाँले सिकाउनु भएको थियो।

हजुरबुवाको शालीन, अध्ययनशील र लगनशील स्वभावले सम्पूर्ण परिवारलाई नै त्यो कठिन घडीमा सहारा दिएको उनी बताउँछिन्।
कहिल्यै विद्यार्थीको रूपमा विद्यालय जान नपाए पनि उहाँलाई लेख्न-पढ्न आउँथ्यो, र सधैँ नयाँ कुराहरू सिक्न उत्सुक हुनु हुन्थ्यो।
क्यान्सरले ग्रस्त भई बाँच्न धेरै समय बाँकी नरहँदा पनि हजुरबुवाले सबैलाई हौसला दिएको सम्झँदै थापाले भनिन् -
हजुरबुवाले भन्नु हुन्थ्यो - 'खोला, नाला, ताल, तलाउ, पोखरी, झरना, फूल, बोटबिरुवा, अनेक-अनेकमा, र मुख्य बाबाआमामा भगवानको बास हुन्छ'। र आज पनि मैले मेरो बुवाआमा, कोही वृद्ध व्यक्ति, या खोलानाला देख्दा मलाई हजुरबुवाको याद आउँछ।
ठुलोलाई सम्मान र सानोलाई माया गर्नु पर्छ भनेर सिकाएको पाठको उनको मनमस्तिष्कमा गढिएको छ।
अहिले अस्ट्रेलियन रेड क्रस र आप्रवासी सहयोग सेवा माइग्रेन्ट रिसोर्स सेन्टरमा कार्यरत थापा, सामाजिक सेवा सम्बन्धी विषयमा अध्ययन गर्दै छिन्।
यो पनि पढ्नुहोस्:

'आत्महत्याको सोच पछि मैले कसरी आफ्नो जीवनलाई परिवर्तन गरेँ'
सानो बेला देखि नै समाज सेवा, र मुख्य गरी अनाथ बालबच्चाहरूलाई सहयोग गर्ने इच्छा रहेकी उनले, आफ्नो यस किताबबाट उठेको सबै रकमलाई त्यही क्षेत्रमा प्रयोग गर्दै छिन्।
उनले दुई वर्षदेखि, सुर्खेतको बाबिया चौरमा अभिभावकको कमी भएका बच्चाहरूलाई प्रायोजक गरी, होस्टेलको र पढाइको व्यवस्था गर्दै आएकी छिन्। यस बाहेक उनको मुख्य सपना नै जीवन भर आफ्ना आमा बुवालाई खुसी राख्न पाउनु हो।

अस्ट्रेलियामा मात्र होइन, अन्य देशका पाठकहरूबाट पनि आफ्नो किताबको राम्रो प्रतिक्रिया आउँदा उनी निकै खुसी छिन्। अहिले यही किताबलाई अङ्ग्रेजीमा पनि छाप्ने तरखरमा उनी लागेकी छिन्।
किताब लेख्न सुरु गर्दाको प्रक्रियाको बारेमा उनले भनिन् - "किताब मैले अङ्ग्रेजीमा लेख्न सुरु गरेकी थिएँ। तर लेख्दालेख्दै, मैले आफ्नो परिचय खोजेँ - म को हुँ? मेरो अस्तित्व के हो?"
मसँग नागरिकता छैन नेपालको - नेपालमै जन्म भए पनि म नेपालको अनागरिक भनेर फालिएको व्यक्ति हुँ। तापनि मलाई नेपाली भाषा नै मेरो मौलिकता लाग्छ। त्यसैले मैले नेपालीमा लेखेँ।
किताब लेख्न सुरु गर्दा उनले डाक्टर हाइल्यान्ड बाहेक कसैलाई थाहा दिएकी थिइनन्। एउटा कारण - समाजले छोरी मान्छे भनी प्रश्न उठाउँछ कि भन्ने डर, र अर्को - यस किताबलाई हजुरबुवाको एक वर्षको पुण्यतिथिमा आफ्ना आमाबुवा र हजुरआमालाई उपहार स्वरूप दिने उनको योजना थियो।
उनको त्यो योजना पनि सफल भयो, र किताब लेख्नुको उद्देश्य पूरा भएकोमा उनी सन्तुष्ट छिन्।
मैले हजुरबाबा बिते पनि उहाँको इच्छा पूरा गर्ने कोसिस गरेको हुँ र बाबाको ज्ञान, गुण, शालीनता, भावलाई जीवित राख्दै, आउने भावी सन्तानका लागि आफ्नो हजुरबाबा चिन्न सहज बनाएको हो।






