मुख्य विषयहरू:
- आत्महत्याको सोचबाट सकारात्मकता सम्म एक विद्यार्थीको यात्रा
- मेन्टल हेल्थ फर्स्ट एड सम्बन्धी तालिम सिड्नीमा सञ्चालन
- मानसिक स्वास्थ्य समस्या भएमा कहाँबाट मद्दत लिन सकिन्छ?
सन् २०१७ मा अन्तराष्ट्रिय विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी नेहारीका दाहालले यहाँको आप्रवासी जीवनमा केही अन्धकारमय दिनहरू बिताएकी थिइन्।
समयसँगै पैसाको समस्या, काम नपाएको चिन्ता र पढाइको दबाब सबै एकै पटक बढ्दै जाँदा उनी अनजानमा नै मानसिक स्वास्थ्य समस्याको सिकार बन्न पुगिन्।
'मैले कसैसँग ,मद्दत माग्नु पर्छ भन्ने कुरा नै मेरो दिमागमा आएन। अरूले मलाई बेवास्ता गर्छन् कि भनेर मलाई डर थियो।', एसबीएस नेपालीसँगको कुराकानीमा उनले बताइन्।
यी समस्याहरूको बेवास्ता गर्दा गर्दा, एक समय ममा आत्महत्याका बिचारहरू पनि आएका थिए।
यस वर्ष मात्र अस्ट्रेलियामा आत्महत्याका कारण ज्यान गुमाउने नेपालीहरूको सङ्ख्या पाँच पुगेको अस्ट्रेलियास्थित नेपाली दूतावासले बताएको छ।
यो पनि पढ्नुहोस्:

"यो घर रहने छ, यसमा म हुने छैन": सुदिन पोखरेलको नयाँ साङ्गीतिक मोड
आफू समस्यामा पर्दा उपर्युक्त सहयोग कहाँबाट पाइन्छ भन्ने कुराबारे ज्ञान नहुँदा कतिपय मानिसहरू मौनतामा दुख भोगिरहेको पनि बताइने गरेको छ।
दाहालको पनि त्यस्तै अनुभव रहेको थियो। नेपालमा रहँदा उनले सामाजिक कार्यको विषयमा स्नातक तहको अध्ययन गरेकी थिइन् र समाजसेवी कार्यहरूमा पनि सक्रिय रूपमा संलग्न थिइन्।
तर अस्ट्रेलिया आएपछि भने एकै पटकमा विभिन्न कुराहरूको दबाबको सामना गर्नु पर्दा साथी भाइसँगको भेटघाट, मनोरञ्जनात्मक गतिविधि तथा अन्य सामाजिक पक्षहरू बीच उचित व्यवस्थापन भएन।

'म पहिले खेलकुदमा भाग लिन्थेँ, गितार बजाउँथेँ। यहाँ समय सीमाका कारण सबैमा कमी आयो। यस कारण जीवन एक किसिमले नीरस हुन पुग्यो।',उनले बताइन्।
त्यस्तै, नेपाल र अस्ट्रेलियाको शिक्षा प्रणालीमा भिन्नता लगायत बीस घण्टाको काम गर्ने समय सीमा - यस्ता विभिन्न बदलाव र चुनौतीहरूसँग एकै समयमा जुझ्नु पर्दा अप्रत्याशित मानसिक तनाव बढ्दै गयो।
पहिले मैले यसको बेवास्ता गरिरहेकी थिएँ, तर अहिले चाहिँ मैले बुझेँ कि, म अस्ट्रेलिया आएको ६-७ महिनाको समयमा म डिप्रेसनमा गएकी थिएँ।
यस्तो अवस्थामा यस विषयमा पर्याप्त ज्ञान नहुँदा धेरै जनालाई आफूले मानसिक स्वास्थ्य समस्या भोगिरहेको आफैँलाई नै थाहा हुँदैन। यस विषयमा पढ्दै र ज्ञान बटुल्दै जाँदा आफू मानसिक स्वास्थ्य समस्यासँग जुझिरहेको उनले बुझिन्।
अरूले आफ्नो कुरा नबुझ्लान् भन्ने डरका कारण आफ्नो परिवारसँग पनि उनले यस विषयमा खुलेर कुरा गर्न सकेकी थिइनन्।
यस्तै सिलसिला जारी रहँदा एक पटक आफ्नो ज्यान लिने कोसिसबाट पछि हटेकी उनी, अहिले अरू अन्तराष्ट्रिय विद्यार्थीहरूलाई यस्तो सल्लाह दिन्छिन् -
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कसैसँग कुरा गर्नु हो। आफूले आफूलाई हराउने कुरा नगरौँ।
'त्यो बेलामा त्यस्तो हुन्छ - कुनै आशा देखिँदैन, तर आफूले भरोसा गर्न सक्ने कोही नजिकको मान्छेसँग कुरा गर्नु होस्।'
यो पनि पढ्नुहोस्:

अस्ट्रेलियामा नेपालीहरुको असमाहिक निधन, कसले गर्ला सहयोग?
केही समय पछि आर्ट अफ लिभिङ नामक संस्थाको सहयोगबाट ध्यान गर्नुका साथै साथीभाइ र परिवारसँग आफ्ना कुराहरू पोख्दै जाँदा बिस्तारै यस समस्याबाट उनले आफूलाई निकालेकी हुन्।
यस बाटोमा आफ्नो मनोबल बढाउन आफ्नी आमा र आफुले "अङ्कल" भनि बोलाउने आफ्ना आमाका सहकर्मीले प्रमुख भूमिका खेलेको बताउँदै सकारात्मक ऊर्जाले सकारात्मकतालाई नै आकर्षित गर्ने कुरामा उनले जोड दिइन्।
मानसिक स्वास्थ्य सम्बन्धी फर्स्ट एड तालिम
अस्ट्रेलियामा प्रत्येक पाँच व्यक्ति मध्य एक जनाले (१६-८५ वर्ष) कुनै किसिमको मानसिक स्वास्थ्य समस्याको सामना गरेको यस वर्षको तथ्याङ्कले बताउँदछ। यस विषयमा पर्याप्त ज्ञान नहुँदा धेरै जस्तो मानिसहरूलाई आफ्नो अवस्था तथा सही परामर्शको बारेमा जानकारी हुँदैन।
नेपाली समुदायमा पनि प्रस्तुत यी चुनौतीहरूको बारेमा जानकारी र चेतना फैलाउने उद्देश्यका साथ अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क नामक संस्थाले मानसिक स्वास्थ्य सम्बन्धी प्राथमिक उपचार अर्थात् फर्स्ट एड तालिमको आयोजना गरेको थियो।

मेन्टल हेल्थ फर्स्ट एड अस्ट्रेलियाको सहयोगमा भएको उक्त कार्यक्रममा सहभागीहरूलाई सामान्य मानसिक स्वास्थ्य समस्याहरूको बारेमा ज्ञान दिइनुका साथै यी समस्या भोगिरहेको कसैलाई साधारण स्तरमा या कुनै आपत्कालीन अवस्थामा कसरी तत्कालीन मद्दत गर्न सकिन्छ भन्ने बारे सिकाइएको थियो।
'फर्स्ट एडको बारेमा सुनेको थिएँ मैले, तर मानसिक स्वास्थ्यमा पनि फर्स्ट एड चाहिँ कस्तो होला त भनेर बुझ्नका लागि म यो तालिम कार्यक्रममा आएको।', तालिममा सहभागी रञ्जित गुप्ताले भने।
हामी हल्का पेट दुख्यो भने डाक्टर देखाउँछौँ, तर दिमागको कुरा हुने बित्तिकै त्यसको केही पनि ख्याल राख्दैनौँ।
नेपाली समाजमा मानसिक स्वास्थ्य समस्याहरूलाई एक वर्जित विषयको रूपमा लिइने अर्की सहभागी सृजना बताउँछिन्।
अन्य समुदायहरूको तुलनामा सानो भएको कारणले पनि सामाजिक रूपमा भेला हुने कार्यक्रमहरू धेरै नहुँदा अरूसँग कम घुलमिल हुने गरेको उनको अनुभव छ।
गत हप्ता प्रडक्टीभिटी कमिसनको पछिल्लो रिपोर्टले मानसिक स्वास्थ्यको क्षेत्रमा "अति आवश्यक" परिवर्तनहरूको खाँचो रहेको भन्दै सरकारसमक्ष सिफारिस गरेको थियो।
नेपाली समुदायजस्ता अन्य सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूमा मानसिक स्वास्थ्य समस्या सम्बन्धी साक्षरताको विकास गर्ने किसिमका कदम सरकारले चाल्नु पर्ने न्यु साउथ वेल्स हेल्थमा कार्यरत भरत नेपालको भनाइ छ।
यो पनि पढ्नुहोस्:

मानसिक स्वास्थ्य सेवामा पहुच बढाउन सरकारलाई बिज्ञहरुको सुझाव






