प्रमुख बिषय
- मानसिक स्वास्थ्य साक्षरतामा जोड दिन विज्ञहरूको सुझाव
- प्रत्येक पाँच मध्ये एकमा मानसिक समस्या हुने गरेको तथ्याङक
- नेपालीहरुको लागि मेन्टल हेल्थ तालिम संचालन
अस्ट्रेलियाको बहुसांस्कृतिक पृष्ठभूमिलाई केन्द्रमा राखेर मानसिक स्वास्थ्य विषयमा साक्षरताका लागि सरकारले जोड दिनु पर्नेमा यस क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूले सुझाव दिएका छन।
मानिसहरूमा मानसिक स्वास्थ्य के हो भन्ने जागरुपता ल्याएर मात्र यसको रोकथाम र व्यवस्थापन गर्न सकिने भएकाले सबैभन्दा महत्त्वपूर्ण विषय यसको बारेमा विविध पुष्ठभुमीका भएका आप्रवासी केन्द्रित कार्यक्रम ल्याउनु पर्नेमा उनीहरूले जोड दिएका छन् ।
मनोचिकित्सक अनुपम पोखरेल अस्ट्रेलिया मानसिक स्वास्थ्यको सम्बन्धमा सुविधा सम्पन्न भए पनि विविध किसिमका समस्याहरू रहेको बताउँछन् । विशेष गरी बहुसास्कृतिक पुष्ठभुमीका मानिसहरूमा सेवाको पहुँचमा बाधा रहेको उनको भनाई छ ।
“एबोरजीनल वा टोरेस आईल्याण्डर मात्र नभएर बहु सांस्कृतिक समुदायका व्यक्तिहरूमा पनि सांस्कृतिक रूपमा संवेदनशील सेवाहरूको पहुँचमा बाधा छ” उनले भने ।

कोभिड–१९ महामारी पछि मेडिकेयरले मेन्टल हेल्थलाई टेलि हेल्थ सेवामा अस्थायी रूपमा राखेको भए पनि यसलाई स्थायी रूपमै समावेश गरिनुपर्ने अनुपम पोखरेल बताउँछन् ।
नेपाली सङ्घ संस्थाहरूले पनि मानसिक स्वास्थ्यमा जागरण बढाउनका लागि विभिन्न कार्यक्रम गरिरहेको उनले बताए ।
उनी भन्छन् “मानसिक स्वास्थ्य विषयमा जागरुपता पहिले भन्दा बढ्दै गएको देखिन्छ ।”
अस्पतालहरूमा पनि मानसिक रोगको उपचारका लागि सैयाको पनि कमी रहेको उनले बताए ।
लामो समय देखि न्यू साउथ वेल्स हेल्थमा आबद्ध भएर सार्वजनिक स्वास्थ्य र मानसिक स्वास्थ्यका विषयमा काम गरी रहेका भरत नेपाल बहुसांस्कृतिक समुदायमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना बढाउन सरकारलाई सुझाव दिन्छन् ।
नेपाली समुदायमा मानसिक स्वास्थ्यका विषयमा तालिम दिदै आएका नेपाल , सांस्कृतिक रूपमा फरक समुदायलाई लक्षित गरी कार्यक्रमहरू ल्याइनु पर्नेमा जोड दिन्छन् ।
उनी भन्छन् “बहुसांस्कृतिक समुदायहरूलाई केन्द्रमा राखेर सबेदनशिल, उपयुक्त, रोकथाम गर्न सकिने र प्रारम्भिक रूपमा हस्तक्षेप गर्न सकिने सेवा अहिलेको प्रमुख आवश्यकता हो ।”

मूलधारका सेवाहरू उपलब्ध भए पनि यसको पहुँचमा समस्या रहेको उनी बताउँछन् । मानसिक स्वास्थ्यको समस्या कतिपय अवस्थामा अस्पताल बाहिर पनि व्यवस्थापन हुन सक्छ भन्ने कुराका केन्द्रित भएर सरकारले कदम चाल्नु पर्ने उनले बताए ।
प्रत्येक वर्ष पाँच अस्ट्रेलियाली मध्ये एक व्यक्तिमा कुनै न कुनै रूपमा मानसिक स्वास्थ्य समस्या रहने गरेको बताइन्छ । जबकि आधा जनंसख्याले आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्या भोग्ने गरेको तथ्याङहरुले देखाएको छ ।
कोरोना महामारी, खडेरी, आगलागी जस्ता विपत्तिहरूको सामना गरी रहेका अस्ट्रेलियालीहरूमा मानसिक स्वास्थ्यको अवस्था पनि कमजोर बन्दै गइरहेको बताइँदा सरकारलाई सिफारिस सहितका प्रतिवेदनहरू पनि सार्वजनिक भइरहेका छन् ।
हालै एक आयोगले केही सिफारिस सहित सार्वजनिक गरेको प्रतिवेदनलाई मानसिक स्वास्थ्य क्षेत्रमा कार्य गर्ने सङ्घ संस्थाहरूले स्वागत गरेका छन् ।
मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत सङ्घ संस्थाहरूले सङ्घीय सरकारको उदासीनता र आत्महत्या सम्बन्धी सरकारको प्रतिबद्धतालाई स्वागत गरेका हुन ।
सरकारले गठन गरेको एक आयोगले यस हप्ता मानसिक स्वास्थ्य र आत्महत्याका बारेमा दुई महत्त्वपूर्ण रिर्पोटहरु सार्वजनिक गरेको छ । प्राडक्टीभिटी कमिसनले सार्वजनिक गरेको रिर्पोटले “अति आवश्यक” परिर्वतनहरुका बारेमा सिफारिस गरेको छ ।

कमिसनले यी तथ्याङकहरुको सामाजिक र आर्थिक प्रभावहरूको परीक्षण गरेको बताएको छ साथै समुदाय र कार्यस्थलहरूमा सहभागी हुने क्षमतामा पर्ने प्रभावका बारेमा पनि अध्ययन गरेको छ ।
लामो समयको अध्ययन पछि सार्वजनिक गरिएको रिर्पोटमा कार्यस्थल, शिक्षा क्षेत्र, न्याय प्रणाली सामुदायिक समूह ,स्वास्थ्य सेवा र आवास जस्ता क्षेत्रमा व्यापक परिवर्तनको आवश्यकता रहेको कुरा औँल्याएको छ ।
प्रधानमन्त्री स्कट मोरीसनले सार्वजनिक रिर्पोटलाई मानसिक स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण रिर्पोटका रूपमा व्याख्या गरेका छन् । उनले सन् २०२१ मे मा आउने नयाँ बजेटमा यसका सिफारिसहरूलाई समेट्नु पर्नेमा जोड दिएका छन् ।
मानसिक स्वास्थ्य भिक्टोरियाका प्रमुख कार्यकारी एंगस क्लिल्याण्ड रिर्पोटलाई “एक युगका पुस्ताको अवसर” भनेर व्याख्या गर्छन् ।
उनी भन्छन् “ मानसिक स्वास्थ्यको व्यापक मुद्धाहरु र यस सँग जोडिएका अन्य पक्षका बारेमा जुन कुरा उठाइएको छ ,यसले वास्तवमै हामीलाई खुसी बनाएको छ । ”
र यसलाई ग्रिन्सले पनि स्वागत गरेको छ । रिर्पोटले आगामी स्पष्ट बाटो देखाएको भन्दै पार्टका पश्चिमी अस्ट्रेलियाली सिनेटर रचेल सिर्वेटले सरकारले सुधारका लागि तुरुन्तै आफ्नो योजना बनाउनु पर्नेमा जोड दिएका छन् ।
यसैबिच सरकारले आत्महत्या रोकथामका लागि अन्तरिम सिफारिस सार्वजनिक गरेको छ । यो रिपोट सरकारको यस विषय प्रतिको दृष्टिकोण र आगामी दिनमा चालिनु पर्ने कदमका बारेमा चार मुख्य कागजात मध्ये एक मानिएको छ ।
आत्महत्या रोकथामको क्षेत्रमा कार्य गदै आएको संस्था लिभिङ वर्क्स अस्ट्रेलियाका निर्देशक मार्क ब्रायन्टले अस्ट्रेलियालीहरुको जीवन बचाउनका लागि विभिन्न प्रस्ताव र सिफारिस सहित आएको रिपोट निकै महत्त्वपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।
उनले विद्यालयका कर्मचारी र अभिभावकहरूलाई अनिवार्य रूपमा आत्महत्या रोकथामको तालिम प्रदान गर्ने भन्ने प्रस्ताव निकै महत्त्वपूर्ण भएको भन्दै यसको आफ्नो सङ्गठनले यसको समर्थन गरेको बताए ।
प्रतिवेदनमा महामारी,खडेरी विनाशकारी आगलागी जस्ता विषयले मानसिक स्वास्थ्यमा अझै बढी नकारात्मक असर परेको कुरा औँल्याइएको छ । यी घटनाहरूले सामाजिक रूपमा अलग हुनु परेको अवस्था, रोजगारी गुमाउने अवस्था , आवासको समस्या ,आर्थिक अस्थिरता वा घरेलु हिंसा जस्ता समस्याहरू बढेको भन्दै यस क्षेत्रमा सुधारको अझै बढी आवश्यकता रहेको पनि जनाएको छ ।

यसैबिच नेपाली समुदायमा मानसिक स्वास्थ्यको बारेमा जानकारी र चेतना फैलाउने उद्देश्यका साथ बेला बेलामा मेन्टल हेल्थ फर्स्ट एड तालिमको आयोजना हुने गरेको छ ।
मेन्टल हेल्थ फस्र्टएड अस्ट्रेलियाको सहयोगमा अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क नामक संस्थाले यस्ता तालिम प्रदान गदै आइरहेको छ ।
१२ घण्टा लामो फर्स्ट एड तालिममा मानसिक स्वास्थ्य समस्या भोगिरहेकाहरूको पहिचान कसरी गर्ने र कसरी सहयोग पुर्याउने भन्ने बारेमा ज्ञान हासिल गर्न सकिने तालिमका प्रक्षिशक भरत नेपालले बताए ।

आगामी तालिम नोभेम्बर २१ र २२ तारिख यसै गरी २८ र २९ तारिखमा कोग्रामा रहेको सेन्टर्जज अस्पताल परिसरमा हुने आयोजक संस्थाले जानकारी दिएको छ ।
