पिटर गुटवेनको राजीनामा पछि टास्मेनियामा नयाँ प्रिमीयर आएका छन्।
उपप्रिमीयरका रूपमा रहेका जेरेमी रकलिफ पार्टी बैठकमा निर्विरोध निर्वाचित भएपछि नयाँ नेतृत्वका लागि अगाडी आएका छन्।
यद्यपि कोभिड–१९, राज्यभर बढ्दै गएको घरको मूल्य, घर भाडामा लिइरहेकाहरूलाई पर्दै गएको आर्थिक भार र स्वास्थ्य क्षेत्रमा परेको दबाबलाई सम्हालेर लिएर जानु उनका लागि चुनौती बन्ने देखिन्छ।
टास्मेनियाका प्रिमीयर पिटर गुटवेनको राजीनामाको निर्णय धेरैका लागि अप्रत्याशित थियो।
गत वर्षको मे महिनामा निर्वाचित बनेका पिटर गुटवेन लोकप्रिय बन्दै गएका थिए।
“विगतका दुई वर्षले अप्रत्याशित चुनौतीहरू प्रदान गरेको छ, कोभिड–१९ बाट बाटो पहिचान गदै अगाडी बढ्दै गर्दा, अझै बलियो टास्मेनियाको निर्माणमा ध्यान केन्द्रित गरेका छौ, यस समयमा मैले अरूका परिवारका बारेमा ख्याल गरेको छु, अबको केही समय मेरो परिवारमा ध्यान केन्द्रित गर्न चाहन्छु,” उनले भने।
उनको कार्यकालमा उपप्रिमीयर रहेका जेरेमी रकलिफ उनको स्थानमा निर्विरोध निर्वाचित बनेका छन्।

प्रिमीयरमा निर्वाचित भएसँगै रकलिफले इमानदारिताका साथ सरकारको नेतृत्व गर्ने आफ्नो चाहना भएको बताए।
“मलाई टास्मेनिया मन पर्छ, म हाम्रा सबै टास्मेनियालीहरुलाई माया गर्छु, म यही जन्मे, यही हुर्के र यहीको जमिनमा खेती गरेको छु,” उनले भने।
रकलिफ पहीलोपटक सन् २००२ मा संसद्मा भित्रिएका थिए।
टास्मेनियाको उत्तर पश्चिमी ब्राडनका मतदाताहरूको उनी प्रतिनिधित्व गर्दछन्।
रिपोर्ट सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सन् २०१४ मा उपप्रिमीयर बनेका उनले जनस्वास्थ्य र मानसिक स्वास्थ्यको आफ्नो अनुभवलाई नयाँ पदमा पनि कायमै राख्ने भएका छन्।
यसैगरी पूर्वाधार तथा यातायात मन्त्री माइकल फर्ग्युसन भने राज्यका नयाँ उपप्रिमीयरका रूपमा अगाडी आउनेछन्।
उनले यसअघि पिटर गुटवेनले सम्हालेको ट्रेजररको भूमिका पनि सम्हाल्नेछन्।
उपप्रिमियर पदका लागि महान्यायाधिवक्ता एलिस आर्चर र माइकल फर्ग्युसनबिचमा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको भए पनि एलिस आर्चर दौडबाट बाहिरिएकी थिइन्।
फर्ग्युसनले एकताबद्ध पार्टीको नेतृत्व गर्ने वाचा गरेका छन्।

“हामीले जतिसुकै प्रगति गरे पनि त्यहाँ गर्नका लागि केही न केही वाकी नै रहन्छ, जेरेमी र म टास्मेनीयालीहरुको दैनिक आवश्यकतामा केन्द्रित छौ, हामी हाम्रो टोलीलाई एकताबद्ध बनाएर लिएर जान्छौ,” उनले भने।
पछिल्लो तीन महिनामा टास्मेनियाको लिवरल पार्टीले पिटर गुटवेनसंगै शिक्षामन्त्री सेरा र्कोटनीको राजीनामा देखेको छ।
यो सँगै अर्की सांसद जेन हाउलेटले पनि मन्त्रिपरिषद्को पोर्टफोलियोबाट राजीनामा दिएकी छन्।
फ्रयान्कलिनका लागि लेबर सदस्य एवम् विपक्षीका प्रवक्ता समेत रहेका डिन विन्टर भने यस कुराबाट सन्तुष्ट देखिएका छैनन्।
“गत मे महिनामा टास्मेनियालीहरुले सुरक्षित सरकारका लागि मतदान गरेका थिए, उनीहरूलाई जे दिइएको छ, त्यो अस्थिरता र अराजकता हो,” उनले भने।
“हामीले एक वर्षमा अर्को प्रिमीयर पाएका छौ, क्याबिनेटमा फेरबदल पाएका छौ, टास्मेनियालीहरुले चाहेको त्यो होइन।” उनले भने।
नयाँ प्रिमीयर जेरेमी रकलिफले सर्घषरत स्वास्थ्य प्रणालीको सामना गर्नु पर्ने बताइएको छ।
अस्ट्रेलियाली नर्सिङ एवम् मिडवाईफरी महासङ्घका सचिव, एमिली सेर्फड भन्छिन् कि उनले कम मनोवलनका साथ सर्घष गरिरहेको कार्यबलको सामना गर्नु पर्नेछ।
“कोभिड–१९ अगावै, कार्यबलमा थुप्रै चुनौतीहरू थिए, थुप्रै रिक्त रहेका पदहरूबिच ओभर टाइम, डबल सिफ्ट र ठुलो थकानका साथ चलिरहेको छ।” उनले भनिन्।







