
This article is more than 3 years old
मेलबर्नका हिन्दु मन्दिरहरूमा सामुदायिक सद्भाव भड्काउने नाराहरू, प्रहरीद्वारा छानबिन सुरू
हिन्दु आस्थाका मिल पार्क, एल्बर्ट पार्क र क्यारम डाउन्स स्थित मठ-मन्दिरहरूका बाहिरी पर्खालमा कालो रङ्गले विभिन्न नाराहरू लेखेर फोहोर गरिएको बारे राज्य प्रहरीले अनुसन्धान सुरु गरेको हो।
भिक्टोरिया प्रहरीका अनुसार प्रत्येक घटनामा अपराधीहरूले स्प्रे पेन्टका क्यानहरू प्रयोग गरेर पूर्वाग्रहबाट प्रेरित भएको देखिने किसिमका नाराहरू लेखेका छन्।
यी तीनै घटनाहरू एक-आपससँग सम्बन्धित भएको हुनसक्ने पनि बताइएको छ।
भिक्टोरिया प्रहरीका सुपरिटेन्डेन्ट टिमोथी डेका अनुसार मिल पार्क स्थित स्वामीनारायण (बाप्स) मन्दिरमा बिहीवार १२ ज्यानुअरीको सबेरै नाराहरू लेखेर पर्खालको स्वरूप बिगारिएको थियो भने एल्बर्ट पार्क स्थित हरे कृष्ण (इस्कन) मन्दिरमा २२ र २३ ज्यानुअरीको रातमा त्यस प्रकारको घटना भएको थियो।

मेलबर्नको दक्षिणी भेगमा रहेको श्री शिव-विष्णु मन्दिरमा भने १५ र १६ ज्यानुअरीका रात नाराहरू कोरिएको बताइएको छ।
डे भन्छन् कि यस्ता पूर्वाग्रहबाट प्रेरित भएर हुने सबै आपराधिक क्रियाकलापहरू र अनधिकृत रूपमा हुने भित्ते लेखनका घटनालाई भिक्टोरिया प्रहरी गम्भीरतापूर्वक लिन्छ।
साथै, यी घटनाहरू बारे छानबिन हुँदै गर्दा यसबारे कुनै पनि जानकारी हुने मानिसहरूले प्रहरीलाई सम्पर्क गर्न पनि उनले प्रोत्साहन गरेका छन्।
सुपरिटेन्डेन्ट भन्छन् कि पूर्वाग्रहबाट प्रेरित भएर हुने आपराधिक क्रियाकलापहरूले सामुदायिक सद्भावमा खलल पुर्याउँछन् र शान्ति सुरक्षा बारे आम मानिसको धारणा नकारात्मक बनाउँछन्।

भिक्टोरियाकी कार्यवाहक प्रिमियर जसिन्टा आलनले पनि यी घटनहरूको भर्त्सना गर्दै यसरी मन्दिरहरूलाई बिगार्ने काम ठिक नरहेको बताएकी छिन्।
"यो व्यवहार बहुसङ्ख्यक भिक्टोरियालीको प्रतिबिम्ब होइन। भिक्टोरियाको विविधता हाम्रो सबैभन्दा बलियो सम्पत्ति हो, र हामी यी आक्रमणहरूको निन्दा गर्छौँ, उनले भनिन्।

त्यसै गरेर भिक्टोरियाली विपक्षी नेता जन पेसुटोले पनि एक विज्ञप्ति जारी गर्दै हिन्दु मन्दिरहरूमा गरिएका यी आक्रमणबाट आफू दुखी बनेको बताएका छन्।
मेलबर्नमा बस्दै आएका मनोज कुमारले यी घटनापछि आफू स्तब्ध भएको एसबीएस हिन्दीलाई बताएका छन्।
उनी भन्छन् कि दोषीहरूलाई अधिकारीहरूले छिट्टै पहिचान गरेर न्याय दिन सकुन्।
यी घटनाको प्रत्यक्षदर्शी वा यसबारे केही पनि थाहा भए, मानिसहरूले क्राइमस्टपर्सको वेबसाइट गएर वा १८०० ३३३ ००० मा फोन गरेर जानकारी दिन सक्नेछन्।