बुधवार मध्यरातदेखि पुनः लागू हुने तेस्रो चरणको नियमका साथ मानिसहरूले अत्यावश्यक सामग्री किन्न देखि, काम, व्यायाम, स्वास्थ्य उपचार र स्याहार बाहेकका कामका लागि आफ्नो घर बाहिर जान पाउने छैनन्।
कोरोनाभाइरसको सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन, ती नियमहरूलाई फेरी लागु गराउन बाहेक आफूसँग अन्य कुनै विकल्प नरहेको भिक्टोरियाली प्रिमियरको भनाई छ।
१०० वर्षमा पहिलो पटक न्यु साउथ वेल्ससँगको आफ्नो सीमा बन्द हुँदै गर्दा, भिक्टोरियामा गएको २४ घन्टे अवधिमामा थप १९१ जनामा कोरोना सङ्क्रमण देखिएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन्।
भिक्टोरियाली प्रमुख चिकित्सकीय अधिकारी ब्रेट सटनले मङ्गलवार जारी गरिएको सङ्क्रमितहरू सङ्ख्या पुष्टि गर्ने क्रममा हालसम्म उक्त राज्यभर कुल २,८२४ कोभिड-१९ बाट सङ्क्रमित भएको जानकारी दिए।
भिक्टोरियाद्वारा मङ्गलवार जारी १९१ जना कोभिड-१९ बाट सङ्क्रमित भएको तथ्याङ्क, कुनै पनि २४ घन्टे गणना अवधिभर, महामारी सुरु भए यता कै सबैभन्दा धेरै हो।
मङ्गलवार सार्वजनिक गरिएको उक्त सङ्क्रमण सङ्ख्यामा १३ जना नर्थ मेलबर्न र फ्लेमिङ्गटनमा रहेका सार्वजनिक आवास भवनसँग सम्बन्धित रहेको बताइएको छ।
हाल ती आवास भवनहरू पूर्ण लकडाउनको अवस्थामा छन्।
ती मध्येको एक फ्ल्याटमा बस्ने योनतान यिशाकेले चाहिँ आफ्नो अपार्टमेन्टबाट बाहिर जान नदिन प्रहरीको प्रयोग गरिनुले, आफू जेलमा रहेको जस्तो आभास भएको बताएका छन्।

यसै गरी, नर्दर्न हस्पिटल एप्पिङ्गको आकस्मिक विभागमा कार्यरत कर्मचारीहरूको समूहमा कोभिड-१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या आठ पुगेको छ। यस भन्दा अघि, उक्त क्लस्टरमा चार जना सङ्क्रमित पुष्टि भएका थिए।
हाल उक्त अस्पतालको आकस्मिक विभाग सञ्चालनमा रहेता पनि बहिरङ्ग सेवा अन्तर्गतका बिरामीहरू हेर्ने कार्य र स्वैच्छिक शल्यक्रियाहरू अस्थायी रूपमा कम गरिएको छ।
यसै गरी, मेलबर्न शहर भन्दा पूर्वोत्तरमा पर्ने रोज्य्याना स्थित एक वृद्ध स्याहार केन्द्रको एक कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको छ।
सङ्क्रमित अवस्थामा ती कर्मचारीले त्यहाँ काम नगरे पनि, उक्त केन्द्रका सबै बासिन्दा एवं कर्मचारीहरू परीक्षण मङ्गलवार नै हुने बताइएको छ।
विगत दुई हप्ता यता भिक्टोरियामा कोरोना सङ्क्रमणका घटना बढ्दै जाँदा मङ्गलवार मध्यरातदेखि एक शताब्दी यता पहिलो पटक अस्ट्रेलियाका दुई सबैभन्दा बढी मानिसहरू बसोबास गर्ने राज्यहरूको सीमा बन्द हुँदै छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सेना परिचालन
न्यु साउथ वेल्स सरकारका अनुसार भिक्टोरियाबाट मानिसहरू आफ्नो राज्य प्रवेश नगरेको सुनिश्चित गर्न, सीमावर्ती क्षेत्रमा ५०० भन्दा बढी प्रहरी र थप ३०० अस्ट्रेलियाली सेनाका सदस्यहरूलाई पनि परिचालन गरिने छ।
न्यु साउथ वेल्समा गएको २४ घण्टा भित्र कोरोनाभाइरसका सात सङ्क्रमण पुष्टि भएका छन्।
राज्यका प्रहरी मन्त्री डेभिड एलियट भन्छन् कि आफ्नो राष्ट्रिय सेनाका सदस्यहरूलाई प्रयोग गर्ने आफ्नो सरकारको निर्णय नौलो हैन।
यस क्रममा न्यु साउथ वेल्सका प्रहरी प्रमुख मिक फुलरले चाहिँ भिक्टोरियाबाट न्यु साउथ वेल्स प्रवेश गर्न चाहने कसैले पनि यात्रा अगाडी नै विशेष अनुमति प्राप्त गर्नुपर्ने बताएका छन्।
साथै, उक्त राज्य बाट फर्कने न्यु साउथ वेल्सका बासिन्दाहरूले १४ दिनसम्म आफ्नो घरमै आइसोलेसनमा बस्नुपर्ने पनि उनले बताए।
अनुमति बिना न्यु साउथ वेल्स प्रवेश गर्ने भिक्टोरियालीहरूले ११,००० डलर सम्मको जरिवाना र ६ महिना जेल सजाय पनि पाउन सक्ने कानुन हाल लागू गरिएको छ।
सेनाले कानुन लागू गर्ने गतिविधिमा आफैँलाई सामेल नगरी प्रहरीको अभियानमा साथ दिने पनि बताइएको छ।
यस अघि सन् १९१९ ताका स्पेनिस फ्लु महामारीका बखत यी दुई राज्यहरू बिचको सीमा बन्द गरिएको थियो।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

