मङ्गलवार छिमेकी राज्य भिक्टोरियामा थप ६४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि हुँदै गर्दा राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आफ्ना बासिन्दाहरू भौतिक दुरीका नियम बारे अलिक ध्यान दिन छाडेको भन्दै चिन्ता व्यक्त गरेकी हुन्।
न्यु साउथ वेल्समा भने मङ्गलवार पाँच जनामा कोरोना सङ्क्रमण भेटिएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
भिक्टोरियासँगको सीमा तत्काल बन्द नगर्ने बताउँदै गर्दा बेरिजिक्लियनले न्यु साउथ वेल्सका बासिन्दाहरूलाई कोरोनाभाइरसको प्रकोप आफ्नो राज्यमा फेरी देखिन सक्ने बारे सचेत रहन आग्रह गरेकी छिन्।
“अवस्था छिट्टै परिवर्तन हुनसक्छ, विशेष गरेर सामुदायिक रूपमा रोग सर्ने सन्दर्भमा… मैले यताउति हेर्दा मानिसहरूले बिस्तारै ध्यान कम दिंदैछन् जुन कुरा मलाइ निको लागिरहेको छैन। वास्ता गर्न नछाड्नुहोस्,” उनले भनिन्।
“आफ्नो वरिपरि रहेका सबै जनालाई यो रोग लागेको छ भनेर सोच्नुहोस्।”
यसै बिच न्यु साउथ वेल्सका स्वास्थ्य मन्त्री ब्राड हाजार्डले भिक्टोरियाली सरकारद्वारा मेलबर्नका अति कोरोना प्रभावित सबर्बहरू लकडाउन गर्नुपर्ने बताएका छन्।
“हामीले भिक्टोरियालाई स्पष्टताका साथ भनेका छौँ कि हटस्पट सबर्ब, उनीहरूले भोग्नु पर्ने केही चुनौतीका बाबजुद, प्रभावकारी रूपमा लकडाउन गरे हामी निकै खुसी हुने थियौँ,” उनले सिड्नीको टुजीबी रेडियोलाई भने।
खेलकुद हेर्न न्यु साउथ वेल्सका रङ्गशालामा प्रवेश पाउन मानिसहरूले आफ्नो सवारी चालक अनुमति पत्र देखाउनु पर्ने नियम पनि बुधवारदेखि लागू हुने बताइएको छ।
“यो सुन्दा गाह्रो काम होला जस्तो लाग्छ होला तर हाम्रो समुदायलाई बचाउने यी नै उपायहरू हुन्… अहिलेसम्म हामीले राम्रै गरिरहेका छौँ,” बेरिजिक्लियनले भनिन्।

उता, साउथ अस्ट्रेलियाले चाहिँ भिक्टोरियामा कोरोनाभाइरस सङ्क्रमणको क्रम वृद्धि हुँदै गएको भन्दै अर्को महिनादेखि खुल्ने भनिएको आफ्नो सीमा सम्बन्धी योजना हाललाई थाँती राखेको छ।
साउथ अस्ट्रेलियाका प्रिमियर स्टिभन मार्शल भन्छन् कि आफूलाई प्राप्त पछिल्लो स्वास्थ्य सल्लाहका आधारमा २० जुलाईदेखि भिक्टोरिया, न्यु साउथ वेल्स र अस्ट्रेलियन क्यापिटल टेरोटेरीबाट आउने मानिसहरूले क्वारेन्टिनमा बस्नु नपर्ने निर्णय अब रद्द गरिएको छ।
न्यु साउथ वेल्स र अस्ट्रेलियन क्यापिटल टेरोटेरीका हकमा भिन्नै व्यवस्था लागू गर्न सकिए पनि भिक्टोरियाको सवालमा भने अहिलेको त्यहाँको अवस्थामा कुनै छुट नहुने समेत उनले बताए।
“हाम्रो पहिलो प्राथमिकता भनेको साउथ अस्ट्रेलियालीहरूको स्वास्थ्य, कल्याण र सुरक्षा हो। यो बेला हामीले पहिले भने झैँ २० जुलाईमा भिक्टोरियासँगको सिमाना खोल्न सक्दैनौँ।”

योसँगै न्यु साउथ वेल्सकी प्रिमियर बेरिजिक्लियनले उत्तरी छिमेकी राज्य क्विन्सल्याण्डकी आफ्नी समकक्षी अनश्टाशिया पलाशेलाई भने दुई राज्य बिचको सीमा खोल्न प्रोत्साहित गरेकी छिन्।
र, पलाशेले मङ्गलवार नै ब्रिसबेनमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा आफ्नो सीमाहरू भिक्टोरियाली बाहेकका लागि १० जुलाई देखि खोलिने घोषणा गरेकी छिन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

