कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाका कृषि, माछापालन र बन व्यवस्थापन उद्योगमा कामदारहरुको कमि हुन नदिन संघीय सरकार द्वारा एक नयाँ भिसा कार्यक्रम सुरु गरिने भएको छ।
अस्ट्रेलियाली कृषि भिसा नाम दिइएको उक्त कार्यक्रमका साथ् दक्षिणपूर्वी एसिया र प्यासिफिक राष्ट्रका कामदारहरुलाई आकर्षित गर्ने सरकारी लक्ष्य रहेको छ।
संघीय कृषि मन्त्री डेभिड लिटलप्राउडका अनुसार आगामी ३० सेप्टेम्बर सम्ममा उक्त भिसा कार्यक्रम सुरु हुने र मागका आधारमा तीन वर्ष भित्र पूर्ण रूपमा लागु भइसक्ने छ।
तर कृषि भिसा योजनाका साथ् अस्ट्रेलिया प्रवेश गर्न पाउने कामदारहरुको संख्या र कुन देशका कामदारहरुलाई उक्त भिसा दिईने बारे चाहिं सरकारले बताएको छैन।

हाल प्यासिफिक राष्ट्रका कामदारहरुलाई अस्ट्रेलियाली कृषि उद्योगमा काम गर्न अनुमति दिने नीति पनि कायम रहने मन्त्री लिटलप्राउड ले बताए।
"उक्त (कृषि) भिसाले देशका स्थायी निवास वा पर्मानेन्ट रेसिडेन्सीको विकल्प पनि उपलब्ध गराउने छ," एक विज्ञप्ति मार्फत उनले भने।
अस्ट्रेलियाली कृषि उद्योगमा काम गर्नेहरुबारे बनाइएको उक्त श्रम नीति "देशको इतिहासकै सबै भन्दा ठुलो संरचनात्मक सुधार" रहेको मन्त्री लिटलप्राउडले बताए।
कोरोनाभाइरस महामारीका कारण हाल अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बन्द रहंदा कृषि उद्योगका लागि ३० हजार कामदारहरुको खाँचो रहने उनले चेतावनी दिए।
"प्रायः मासु प्रशोधन व्यवसायहरुमा उपलब्ध रहेका मध्ये ६० देखि ७० प्रतिशत स्थानहरु मात्र भरिएका छन्, किनभने काम गर्ने मानिसहरुनै छैनन्," संघीय मन्त्रीको भनाइ छ।
ती कामहरुका लागि अस्ट्रेलियालीहरुले पहिलो प्राथमिकता पाएता पनि थप कामदारहरुको पर्खाइमा बस्न नसक्ने अवस्थामा किसानहरु पुगेको लिटलप्राउड भन्छन्।
यूकेसंगको खुला व्यापार सन्धिका कारण घुम्न र काम गर्न पाउने भिसा योजनामा अस्ट्रेलिया आउने ब्रिटिश नागरिकहरुले आफ्नो भिसा थप गर्न कृषि उद्योगमा काम गर्नुपर्ने अनिवार्य नियम अन्त्य गरिएपछि १० हजार कामदारहरु उपलब्ध नहुने अवस्था सिर्जना भएको बताइएको छ।
