SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स - भिक्टोरिया सिमानामा बस्ने नेपाली तथा भुटानी पृष्ठभूमिका मानिसहरूलाई सीमा बन्द हुँदा समस्या

हाल बन्द रहेको न्यु साउथ वेल्स र भिक्टोरिया सिमाना वरपरका रिजनल सहर एवं गाउँ बस्तीमा बस्ने कतिपय बहुसाँस्कृतिक समुदायहरू नयाँ व्यवस्था बारे अद्यावधिक जानकारी नपाएर अन्योलमा बस्न बाध्य भएका छन्।

NSW Police officers check cars
NSW Police officers check cars Source: AAP

3 min read

Published

Updated

By Evan Young, Amelia Dunn



Skip to article content

भिक्टोरिया - न्यु साउथ वेल्स सिमानाका मानिसहरू माझ कार्यरत स्थानीय दोभासेहरूका अनुसार ती क्षेत्रका समुदायहरूले पछिल्लो जानकारी आफ्नै भाषामा ३६ घण्टासम्म ढिलो गरी पाउँदा, उनीहरूमाझ अन्योल छाएको हो।

बृहत् मेलबर्न महानगरीय क्षेत्र र त्यसको उत्तरमा पर्ने मिचेल शायर पुनः तेस्रो चरणको कोरोना प्रतिबन्धमा राखिएपछि, अस्ट्रेलियाका सबैभन्दा बढी जनसङ्ख्या भएका राज्यका सिमाना हाल एक शताब्दी यता पहिलो पटक बन्द गरिएका छन्।

A truck driver is stopped at the NSW-Victoria border
A truck driver is stopped at the NSW-Victoria border Source: SBS News

तर, ९०,००० जतिको सङ्ख्यामा मानिसहरू बसोबास गर्ने उक्त सिमानाका अल्बरी - वडङ्गा जस्ता सहरमा भने, बोर्डर बन्द गरिँदा जनजीवन निकै प्रभावित भएको छ।

अल्बरी - वडङ्गालाई आफ्नो अस्ट्रेलियाली बसोबासको मुख्य थलो बनाएका, नेपाली एवं भुटानी समुदायका एक जना सदस्य दिग्गज रेग्मीका अनुसार, वडङ्गाबाट अल्बरी तिर जाने बारे समुदायमा व्याप्त भ्रमका कारण मानिसहरूमा निकै तनाव छ।

पेसाले नवीकरणीय ऊर्जाका इन्जिनियर रहेका रेग्मी, आफू वडङ्गामा बसे पनि अल्बरी कामका लागि जाने बताउँछन्।

"हामी स्वास्थ्य सेवा, काम र साथीभाइ अनि परिवार भेट्न यता-उता गरिरहन्छौँ," उनले एसबीएस समाचारसँग भने।

रेग्मी अगाडी भन्छन् कि दुई राज्य बिचको सीमा बन्द हुँदा हाल समुदाय दुई कित्तामा बाँडिएको छ।

"हाम्रो समुदायका आधा अल्बरीमा हुनुहुन्छ, आधा वडङ्गामा।"

आफूहरूलाई भेला नहुन भनिएको कारण केही अप्ठेरो लागे पनि नियम पालना गर्नु पर्ने कारण राम्ररी नै बुझेको उनको कथन छ।

"बोर्डर काट्न र प्रतिबन्धहरू बारे बुझ्न, हामी एक अर्कालाई मद्दत गरिरहेका छौँ।"

"मानिसहरू निकै चिन्तित छन्"

सन् २००९ देखि स्थानीय भुटानी समुदायका लागि दोभासेको रूपमा काम गर्दै आएकी भक्ति मैनाली धमलाका अनुसार, उनले चिनेका कतिपय मानिसहरू कुनै पनि भाषामा पढ्न वा लेख्न सक्दैनन्।

"हाम्रो समुदायका धेरै जना आफ्नै भाषामा लेखेको कुरा त पढ्न सक्दैनन्, अङ्ग्रेजीमा लेखेको कुरा पढेर बुझ्ने त झन् परको विषय भयो," उनले भनिन्।

Wodonga interpreter Bhakti Mainali Dhamala
Wodonga interpreter Bhakti Mainali Dhamala Source: SBS News

गत साता, सीमा बन्द भए पछिदेखि धमलाले महत्त्वपूर्ण जानकारी समुदायमा प्रवाह गर्ने गरेकी त छिन् तर, साक्षरता कम भएका मानिसहरूसम्म सूचना पुर्‍याउन, उनलाई २४ घण्टा भन्दा बढी लाग्ने गरेको छ।

उनले नयाँ प्राप्त हुने जानकारी राती सङ्कलन गर्छिन् र त्यसलाई भोलि पल्ट सुन्न मिल्ने सामाग्रीमा रूपान्तरित गरेर बाँडिछन्।

"यो भनेको सामाजिक एवं भाषिक रूपमा फरक रहेका समुदायका सदस्यहरूले समाजका अन्य सदस्यहरूको तुलनामा, सूचना २४ देखि ३६ घण्टासम्म ढिलो गरी पाउँछन्," भक्ति मैनाली धमलाले भनिन्।

उनका अनुसार, अङ्ग्रेजी बाहेक अन्य भाषा बोल्ने समुदायका सदस्यहरूलाई अल्बरी-वडङ्गा वारपार गर्न आवश्यक पर्ने पर्मिट योजनाले निकै दुख दिएको छ।

"मलाई नै पनि त्यसले अलमलमा पारिदियो," उनले भनिन।

"यदि हामीले केही नबुझेर बोर्डर काट्यौँ भने हामीले ११,००० डलर जरिवाना तिर्नुपर्छ। यो निक्कै ठुलो राशि हो र मानिसहरूलाई केही नबुझे के गर्ने, कसलाई कहाँ सोध्ने भनेर धेरै चिन्ता छ।"

धमला यो पनि भन्छिन् कि मानिसहरूको आफ्नै भाषामा जानकारी उपलब्ध नहुँदा, उनीहरूलाई "हामी त एकदमै खतरामा छौँ कि" भने सोच पनि मनमा आउन थालेको छ किनकि, यसभन्दा पहिले लागू भएको कोरोना प्रतिबन्धको समयमा बिना रोकटोक आवतजावत गर्न मिल्ने ठाउँमा अहिले बन्देज छ।

सन् २०१६ को राष्ट्रिय जनगणना अनुसार, अल्बरी - वडङ्गा क्षेत्रभर अङ्ग्रेजी पछि सबैभन्दा बढी बोलिने भाषा नेपाली हो।

Coronavirus Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

covid-19.png

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now