प्रमुख विषयहरू:
- बल्ल बल्ल पोल्यान्डको सिमानामा पुगेका सुदीप गुरुङ र नवीन चौधरी सीमा पार गर्नबाट वञ्चित
- गैर नेपाली सङ्घ (एनआरएनए)का अनुसार गत मार्च १ सम्म युक्रेनबाट ३०२ नेपालीहरू पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र मोल्डोभा पुगे
- स्लोभाकियाका नेपाली जय सिवाकोटीद्वारा आफ्नो रेस्टुरेन्टमा नेपालीहरूको उद्धार
तीन दिनको पैदल यात्रा र ट्याक्सीको सहायतामा पोल्यान्डको सिमानामा पुगेका सुदीप गुरुङ युक्रेनमा जारी द्वन्द्वबाट अहिलेसम्म बचिरहेका छन्।
यद्यपि पोल्यान्डको नाकामा पुगेसँगै नसोचेको बाधाको सामना गर्नु परेको उनले एसबीएस नेपालीसँगको कुराकानीमा बताए।
एक सय मिटर मात्र पर रहेको पोल्यान्डको सीमा पार गर्नबाट वञ्चित उनी धम्की र शोषणको सिकार बनिरहेका छन्।
“म यहाँ खाना र पानी बिना झन्डै एक सातादेखि सीमामा फसिरहेको छु, मेरो साथी र मलाई उद्धार गर्नु आवश्यक छ, तर युद्ध क्षेत्र भएकाले कोही पस्न सक्दैनन्, हामी ठूलो खतरामा छौँ,” गुरुङले भने।

युक्रेनबाट करिब ३०० नेपाली छिमेकी मुलुक स्लोभाकिया, स्लोभेनिया, रोमानिया,हंगेरी, पोल्यान्ड र मोल्डोभा पुगे पनि अझै धेरै नेपाली युक्रेनमै फसिरहेका छन्।
ती मध्ये गुरुङ र उनका साथी नवीन चौधरी पनि हुन्।
रुसले गत २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गर्दा गुरुङ होस्टेलको कोठामा थिए।
हामीले हाम्रो कोठाबाट ठूलो विस्फोटको भएको सुन्यौँ, साथीहरूको समूह भेला भयौँ र के गर्ने भनेर सल्लाह गर्यौँ, हामी मध्ये केहीले अवस्था अझै गम्भीर हुन्छ कि भनेर कुर्न चाहे।
“तर म चाहिँ त्यहाँबाट निस्कन चाहेँ, करिब ८-९ जनाले एक घण्टा भित्रै राजधानी किइभ छाड्यौँ," उनी सम्झना गर्छन्।
ती मध्ये केहीको आफ्नै सवारीसाधन भएका कारण सीमा नजिक पुगी हाले तर गुरुङ र उनका साथी नवीन चौधरी चाहिँ पहिलो दिन करिब २५ देखि ३० किलोमिटर हिँडे।
किईभबाट हिँडेको दुई दिनमा उनीहरू अर्को सहर लभिभ पुगे। त्यहाँ पुग्दा कहिले हिँडे, कहिले ट्याक्सीको सहयोग लिए भने मेट्रोको पनि सहयोग लिए।
गुरुङसँगको हाम्रो पूरा कुराकानी यहाँ सुन्नुहोस्: युक्रेनमा नेपाली: कोही भागेर सुरक्षित, कोही सिमामा 'धम्की'को सामना गर्दै हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
त्यहाँ पुग्दा सम्म उनीहरूले चारै तिर आक्रमणहरू देखे - बन्द पसल र खाना र पानीको अभाव भोगे।
लभिभबाट सीमा छेउमा पुग्न उनीहरूलाई अर्को एक दिन लाग्यो।
“त्यहाँ पुगेर हामीले सीमा पार गर्ने कोसिस गर्यौँ, तर केही मानिसले हामीलाई घेरा हालेर धम्की दिन लागे। 'मेरो अनुहार याद राख् आज तैँले सरप्राईज पाउनेछस्', ती मध्ये एकले मलाई भने," गुरुङले भने।
जब हामी क्रसिङ पोइन्टकको नजिक जान खोज्थ्यौँ, मानिसहरूले हामीलाई घेर्थे, कसैलै धकेल्थे, कसैले धम्की दिन्थे र कसैले हातपात गर्थे।
गुरुङ भन्छन् कि उनीहरू यतिखेर सडकमा बसिरहेका छन्, सामान्य खानाको लागि घण्टौँको पर्खाइमा छन् र पानी पिउन पनि समस्या भइरहेको छ।
उनी यतिखेर आफ्ना सबै बौद्धिक ताकतहरुको अन्त्य भएको जस्तो अनुभव गरिरहेको बताउँछन्।
उनले नेपाल सरकारलाई आफ्नो अवस्थाका बारेमा जानकारी गराइसकेका छन् र अहिलेसम्म कोही पनि उद्धारका लागि आएको छैन।
“हामी भन्दा पहिले र पछि आएका धेरै मानिस पोल्यान्डमा प्रवेश गरिसकेका छन्, यो समूहले हामीलाई नत सीमा पार गर्न दिएको छ, न त फर्किएर अर्को कुनै देशको सीमा नजिक जान नै।”
त्यस्तै, द्वन्द्व प्रभावित क्षेत्र लुहान्स्क नजिक रहेको स्टारोब्लिस्कको एक विश्वविद्यालयको होस्टेलमा अड्किएका ६ नेपाली विद्यार्थीहरूले खानाको अभाव भएकाले बाहिरको द्वन्द्वले भन्दा पनि भोकबाट कसरी जोगिने भन्ने चिन्ता रहेको बताएका छन्।
एसबीएस नेपालीसँग कुरा गर्दै कमल पोख्रेलले आफू सहित अन्य पाँच जनाको जीवन रक्षाका लागी नेपाल सरकार र गैर आवासीय नेपाली सङ्घलाई छिटो भन्दा छिटो त्यहाँबाट निकाल्न आग्रह गरेका छन्।
पोख्रेलसँगको हाम्रो कुराकानी सुन्नुहोस्: युक्रेन एक विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीहरूको उद्धार हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
युक्रेन छाड्दै छन् नेपाली
धेरै नेपालीहरूले अहिले युक्रेन छाडी सके।
गैर नेपाली सङ्घ (एनआरएनए)का अनुसार गत मार्च १ सम्म युक्रेनबाट ३०२ नेपालीहरू विभिन्न मुलुकमा पुगेका छन्, पोल्यान्डमा २३२ जना पुगेका छन् भने ३९ जना स्लोभाकिया, ४ जना हंगेरी र २३ जना रोमानिया र चार जना मोल्डोभा पुगेका छन्।

“छिमेकी मुलुक हंगेरी, रोमानिया, र पोल्यान्डले आफ्नो सीमा खोलिदिएका कारण थुप्रै नेपालीहरू बाहिरिएका छन्,” रोमानियामा ट्राफिक जाममा पर्दै गर्दा एनआरएनए युक्रेनका अध्यक्ष हरि बहादुर मल्लले एसबीएस नेपालीसँग भने।
आफ्नो घरबाट बाहिरी इलाकामा यात्रा गर्दै गरेका मल्लले आफू एकै ठाउँमा चार घण्टा जाममा परेको बताए।
धेरैजसो विद्यार्थी नेपाल फर्किसकेका छन्, ती मध्ये केही युरोपेली देश जानका लागि ट्रान्जिटमा थिए, केहीलाई विद्यार्थीका रूपमा एजेन्टले भर्ना गरिदिएको हुन्छ, उनीहरू एनआरएनको सहयोगमा यहाँबाट गइसके।
युक्रेनमा ३९ बर्ष देखि बस्दै आएका मल्ल त्यहाँ स्थायी रूपमा बसोबास गर्ने ४० परिवार मध्ये आफ्नो परिवार पनि रहेको बताउँछन्।
“हामी मध्ये कसैले पनि छाडेका छैनौँ, हाम्रो व्यापार छ, हामीले छाड्यौँ भने लुटिन सक्छ, केही हुन सक्छ, डरका बाबजुद हामी यहाँ बसिरहेका छौँ,” उनले भने।
एकजुट भएको समुदाय
यसै बीच युक्रेन छाड्नेहरूका लागि युरोपभरका एनआरएनएका सदस्यहरूले उद्धार र आश्रयको व्यवस्था गरेका छन्।
स्लोभाकियाका जय सिवाकोटी ती मध्ये एक हुन् जसले ब्राटिस्लाभामा रहेको आफ्नो रेस्टुरेन्टमा त्यहाँ पुगेका नेपालीहरूलाई सहयोग गर्छन्।
सिवाकोटी भन्छन्, “जब युक्रेनमा आक्रमण सुरु भयो, नेपालबाट युक्रेनमा रहेका परिवारका सदस्यहरूले फोन गर्न थाले।”
त्यसपछि मैले जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्कासँग सम्पर्क गरेँ, उहाँले छिमेकी मुलुकका एनआरएनए सदस्यहरूलाई जोडेर नेपालीहरूलाई उद्धार गर्न तयार हुन आग्रह गर्नुभयो।
युक्रेनमा नेपाली दूतावास नभएकाले जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन, रोमानिया, हंगेरी, पोल्यान्ड, स्लोभाकिया लगायतको देशको मामिला हेर्ने गर्दछ।
सिवाकोटीले नेपाली राजदूत, विभिन्न देशका प्रतिनिधि र एनआरएनए उपाध्यक्षलाई समेटेर ह्वाट्स एप समूह बनाए।
त्यसै बेला देखि हामीले आउँदो समयमा आउन सक्ने कुराको सामना गर्ने सङ्कल्प गर्यौँ।
दूतावासले फोन नम्बर सार्वजनिक गरेका कारण, त्यसै बखत देखि उनको फोनमा नेपालीहरूले फोन गर्न थाले। आउन चाहनेका लागि फोन सम्पर्क गरी मार्ग निर्देशन गर्न थालेको उनी बताउँछन्।
“पहिले आउने तीन मानिसहरू त यति डराएका थिए कि रेडक्रसबाट निस्कन पनि मानेका थिएनन्,” उनले भने।
दोस्रो समूह भने गुगलमा नेपाली भनेर खोजी सिधै उनको रेस्टुरेन्टमा आइपुगेको सिवाकोटी बताउँछन्।
त्यति बेलासम्म उनले आफ्नो रेस्टुरेन्टलाई उद्धार स्थलका रूपमा प्रयोग गर्ने सोच थालिसकेका थिए। मानिसहरू बिस्तारै आउन थालेपछि उनले रेस्टुरेन्टका सबै फर्निचर हटाए।

“जब मानिसहरू आउँछन्, पहिला तिनीहरूलाई रेस्टुरेन्ट लिएर जान्छौँ, त्यहाँ तिनीहरू फ्रेस हुन्छन् एक रात आराम गर्छन्। भोलिपल्ट उनीहरूलाई व्यवस्थित अपार्टमेन्टमा लगिन्छ, एक रात उनीहरू आराम साथ एक्लै बेडमा सुत्छन् र भोलिपल्ट आफ्नो गन्तव्यका बारेमा आफै निर्णय गर्छन्,” उनले भने।
हाल उनकोमा २८ जना मानिसहरू छन्। यद्यपि उनले आफूले सहयोग गरेका मानिसहरूको सङ्ख्या भने बताउन चाहेनन्।
“यहाँ आएर एक कप इलामेली चिया खाएपछि उनीहरू के गर्ने भनेर सोच्न सक्छन्,” उनले भने।
गैर आवासीय नेपाली सङ्घले त्यहाँ ५०० को सङ्ख्यामा नेपाली रहेको अनुमान गरे तापनि युक्रेन छाडेका मानिसहरूका अनुसार अझै करिब ५०० मानिस त्यहाँ फसिरहेका छन्।
