सामुदायिक सङ्क्रमणका नयाँ मामिलाहरू नदेखिएपछि राज्यमा लागू कोरोनाभाइरस प्रतिबन्धहरू खुकुलो पारिएको हो।
दुई साता अघि कोभिड-१९ सङ्क्रमित स्थानीय समुदायमा रहेको पुष्टि भएपछि पुनः थपिएका प्रतिबन्धहरू, यसअघि बिहीबार बेलुकी अन्त्य हुने बताइएको थियो।
तर, प्रिमियर अनास्टेसिया पलाशेका अनुसार सामुदायिक सङ्क्रमणका नयाँ मामिलाहरू नदेखिएपछि, बिहीबार बिहान ६ बजेदेखि मास्क बिना नै हिँडडुल गर्न छुट हुनेछ।
यद्धपी, भवन भित्र र भौतिक दूरी कायम गर्न नसकिने ठाउँमा भने मास्क लगाई राख्न सिफारिस गरिएको छ।
मानिसहरूलाई मास्क बोक्नै पर्ने बाध्यता नभएता पनि हवाई अड्डा तथा विमानहरूमा सवार हुँदा भने अनिवार्य रूपमा मास्क प्रयोग गर्न भनिएको छ।
बुधवार उक्त राज्यमा जम्मा दुई कोरोनाभाइरस सङ्क्रमित मानिसहरू फेला परेका थिए।
अघिल्लो २४ घन्टे अवधिमा ८,२४६ जना मानिसहरूको परीक्षण गर्दा, होटेल क्वारेन्टिनमा रहेका ती दुई जनामा सङ्क्रमण पुष्टि भएको हो।
पलाशे भन्छिन् कि क्विन्सल्यान्डवासीले गजबको काम गरेका छन् र यसका लागि सबै जना धन्यवादको पात्र छन्।
"गएको दुई हप्ता बिताउन सजिलो थिएन, मलाई थाहा छ मानिसहरूले मास्क लगाउनु परेको थियो तर मास्क लगाउँदा हामीले सबैलाई सुरक्षित राख्न मद्दत गरेका हुन्छौँ," उनले भनिन्।
"भविष्यमा पुनः मास्क लगाउनु पर्ने गरी फेरी कुनै सङ्क्रमणका घटना हुनेछैन भनेर म भन्दिन, मलाई भविष्यमा के हुन्छ थाहा छैन।"
बिहीबारदेखि मास्क मुक्त हुनुका साथै क्विन्सल्यान्डवासीहरूले पब, रेस्टुरेन्ट, क्लब लगायतका स्थानहरूमा बिना रोकटोक साथीभाइसँग उभिन, भेला हुन, नाच-गान गर्न सक्नेछन्।
यसै गरी, स्टेडियमहरू, नाचघरहरू तथा सिनेमा हलहरू पूर्ण क्षमतामा चल्न सक्ने छन् भने निजी आवासहरूमा १०० जनासम्म निर्बाध रूपमा मानिसहरू जम्मा हुन पाउनेछन्।
अस्पताल, वृद्ध स्याहार केन्द्र जस्ता सुविधाहरू पनि आगन्तुकहरूका लागि २६ मार्च यता पहिलो पटक खुलेका छन्।

तर, क्विन्सल्यान्डको दोस्रो ठुलो अस्पतालमा भने सतर्कताका लागि थप समयका लागि आगन्तुकहरूलाई प्रवेशमा रोक रहने बताइएको छ।
गहन रूपमा सफा गरिएको एक साता पछि पुनः प्रिन्सेस् एलेक्सान्ड्रा अस्पतालमा कोरोनाभाइरसका केही छापहरू फेला परेका कारण हाललाई आगन्तुकहरू माथि रोक लागेको हो।
उक्त अस्पताल सञ्चालन गर्ने मेट्रो साउथ हस्पिटल तथा हेल्थ सर्भिसले गहन सफाइको कार्य ठेकेदारहरूले अघिल्लो हप्ता पुरा गरेता पनि ५डी वार्डमा भाइरसका कण अझै रहेको बताएको छ।
अस्ट्रेलियन एसोसिएटेड प्रेससँग कुरा गर्दै उक्त संस्थाका एक प्रवक्ताले भने, "सफाइको लगत्तै गरिएको जाँचमा हामीले ५डी वार्डमा कोभिड-१९ सँग सम्बन्धित भाइरस पाएका छौँ।"
प्रिमियर अनास्टेसिया पलाशेका अनुसार १ लाख १५ हजार भन्दा बढी खोपको मात्रा आफ्नो राज्यमा बस्ने मानिसहरूलाई लगाइसकिएको छ र उनी प्रधानमन्त्री स्कट मोरिसनले खोप वितरण कार्यक्रमका लागि पाक्षिक रूपमा राष्ट्रिय मन्त्रिपरिषद्को बैठक डाक्ने निर्णयलाई समर्थन गर्छिन्।
उनी भन्छिन् कि अघिल्लो साता सम्पन्न भएको राष्ट्रिय मन्त्रिपरिषद्को बैठकमा आम जनतालाई पारदर्शी रूपमा खोप वितरण बारे जानकारी दिने कुरामा सहमति भएको थियो।
"नियमित रूपमा यस्ता बैठकहरू हुँदा सबै जना एउटै विन्दुमा उभिन्छन्, एकैनासको जानकारी पाउँछन् र सबै अस्ट्रेलियालीहरूलाई एकैचोटी सबै कुरा भनिनु मेरो बिचारमा सही हो," उनले भनिन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।
