नयाँ प्रसारण तालिका मार्फत तपाईँलाई एसबीएसका सामाग्रीहरू सुन्न अझै बढी सजिलो हुने भएको छ।
दक्षिण एसियाली श्रोताहरू प्रति लक्षित भाषा सामाग्रीहरू धेरै भन्दा धेरै मानिस माझ पुगोस् भन्ने उद्देश्यले एसबीएसले आफ्नो प्रसारण तालिकामा परिवर्तन गर्न लागेको छ।
आउँदो अक्टोबर पाँच देखि लागु हुने गरि बङ्गला, गुजराती, हिन्दी, नेपाली, मलयालम, पन्जाबी, सिंहला, तामिल र उर्दु कार्यक्रमहरू एसबीएस पपदेशी मार्फत बिहान ११ बजे देखि साँझ ६ बजेसम्म प्रसारण हुने छन्।
नयाँ रेडियो प्रसारण तालिका अन्तर्गत, एसबीएस पपदेशी मार्फत श्रोताहरूले विभिन्न सामाग्री सहित गीतसङ्गीतको मजा आफ्नो फुर्सदमा सुनेर लिन सक्नेछन्।
यस बाहेक ती कार्यक्रमहरूको पुन: प्रसारण एसबीएस रेडियो २ मार्फत सुन्न सक्नु हुन्छ।
'एसबीएसफिफ्टी अडियो स्ट्राटेजी' मार्फत आएको यस परिवर्तनले श्रोताहरूकोको आवश्यकतालाई मध्यनजर गर्दै डिजिटल सामाग्रीहरूको उत्पादनलाई प्राथमिकतामा राखेको छ।
“अस्ट्रेलियाका विविध दक्षिण एसियाली समुदायका श्रोताहरूका लागि नयाँ च्यानलमा कार्यक्रम ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ,” एसबीएस अर्न्तगतको भाषा सेवा, ल्याङ्गवेज एन्ड अडियो कन्टेन्टका डिरेक्टर डेभिड हुवाले बताए।
तपाईँले एसबीएसका विभिन्न भाषाका कार्यक्रम, समाचार, समसामयिक घटनाहरू, मनोरञ्जन र गीत सङ्गीतका सामाग्रीहरू एकै स्थानमा पाउनु हुने छ। हामी यस नयाँ विस्तारित सेवाका बारेमा श्रोताहरूको प्रतिक्रियाको पर्खाइमा छौँ।डेभिड हुवा
भाषिक र सांस्कृतिक रूपमा विविध पृष्ठभूमिका श्रोताहरूलाई सजिलो बनाउनका लागि एसबीएसले आफ्ना सेवाहरूमा समयानुकूल परिवर्तनहरू गर्ने गरेको छ।
अस्ट्रेलियामा दक्षिण एसियाली पृष्ठभूमिका मानिसहरूको सङ्ख्या निरन्तर बढी रहेको तथ्याङ्कहरूले देखाउँछ।
अस्ट्रेलियामा १३३,०६८ नेपाली भाषीहरू बसोबास गर्ने अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टीक्सको सन् २०२१ को जनगणनाले जनाएको छ।
पन्जाबी बोल्ने मानिसहरूको सङ्ख्या २३९,०३३ रहेको छ भने हिन्दी भाषा बोल्नेहरूको सङ्ख्या १९७,१३२ पुगेको छ।
त्यस्तै, उर्दु बोल्ने १११,८७३ जना, तामिल बोल्ने ९५,४०४, सिन्हला बोल्ने ८५,८६९, गुजराती बोल्ने ८१,३३४, मलयालम बोल्ने ७८,७३८, बङ्गला बोल्ने ७०,११६ र तेलुगु बोल्ने मानिसहरूको सङ्ख्या ५९,४०६ रहेको छ।

हाम्रा कार्यक्रमलाई बढी भन्दा बढी श्रोताहरू माझ पुर्याउनका लागि दक्षिण एसियाली समुदायका कार्यक्रमहरूलाई एसबीएस पपदेसीमा प्रसारण गर्न लागिएको हो।
एसबीएसले डिजिटल प्रविधिबाट विविध सामाग्रीहरूको उत्पादन र प्रसारणलाई बढावा दिँदै गर्दा, रडियोको भूमिकालाई पनि निरन्तर ध्यान दिने छ।
बिहीवार, पाँच अक्टोबरदेखि हुन गइरहेका परिवर्तनहरू:

एसबीएस पपदेशीमा भाषा कार्यक्रमहरूलाई सोमवारदेखि शुक्रवार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म, र शनिवार र आइतवार भने साँझ पाँच बजेदेखि ६ बजेसम्म सुन्न सक्नु हुन्छ।
यस बाहेक बिहान, साँझ र सप्ताहन्तमा भने पपदेसीमा बज्ने गरेका गीतसङ्गीतबाट मनोरन्जन लिनु होस्।
एसबीएस अडियोका भाषा कार्यक्रमहरूलाई एएम/एफएम रेडियो, डिएबी+ रेडियो, डिजिटल टिभी, एसबीएस अडियो एप र हाम्रो वेबसाइट SBS.com.au/Audio मार्फत सुन्न सक्नु हुन्छ।
एसबीएस रेडियो २ लाई मेलबर्न, सिड्नी, क्यान्बरा र न्यु कासलमा दुवै एएम र एफएम फ्रिक्वेन्सीमा सुन्न सक्नु हुन्छ।
त्यस्तै, एसबीएस रेडियो एएम वा एफएम मार्फत अस्ट्रेलियाका प्रमुख सहरहरूमा उपलब्ध छ।
कुन ठाउँमा कुन रेडियो स्टेसनमा सुन्न सकिन्छ भनेर जान्न यहाँ जानुहोस्।
यी परिवर्तनहरू आउँदै गर्दा, एसबीएसबाट प्रसारण हुने सामाग्रीहरूको विश्वसनीयता र गुणस्तर कायमै रहनेछ।
दिजु सिवदास र आभास पराजुली र भृशाली जैनबाट तस्वीरहरू।
