SKIP TO MAIN CONTENT

सडक दुर्घटना: जाडो मौसममा सवारी चलाउँदा के कुरामा ध्यान दिने?

भिक्टोरिया राज्यमा भएका विभिन्न खाले सडक दुर्घटनामा परि जुन महिनाको पहिलो सातासम्म १४० जनाले ज्यान गुमाइसकेका छन्।

black and white road
Foggy road Credit: JayMantri/Pexels

3 min read

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

अस्ट्रेलियाली सडकमा हुने दुर्घटनाका कारण बर्सेनि एक हजार भन्दा बढीले ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाउँछ।

वर्षको मध्यसम्म आई पुग्दा भिक्टोरिया राज्यमा मात्र १४० जनाले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन्।

चिसो मौसम बढेसँगै सडक दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले सवारी चलाउँदा विशेष ध्यान दिन सडक सुरक्षा सम्बन्धी अधिकारीहरूको आग्रह गरेका छन्।

त्यसो भए सुरक्षित रूपमा सडक प्रयोग गर्न के गर्नु पर्छ त?

सवारी चलाउँदा सामान्य नियमहरूको पालना र केही चनाखो बन्दा सडकमा थप सुरक्षित रहने बताइन्छ।

रोयल अटोमोबाईल क्लब अफ भिक्टोरियाले (आरएसीभी) सडकमा सुरक्षित हुन केही कुरामा ध्यान दिनका लागि आग्रह गरेको छ।

सवारीको गति कम गर्ने, आफू जाने स्थानको मौसमका बारेमा जानकार रहने, सवारी चलाउँदा सवारी साधनका बिच निश्चित दुरी कायम गर्ने जस्ता कुराहरूमा ध्यान दिन संस्थाको आग्रह छ।

यसै गरी आफ्नो सवारी साधनको अवस्थाका बारेमा जानकार रहने, पाङ्ग्रामा तोकिए बमोजिम हावा भर्ने र सवारी चलाउँदै गर्दा आफू निश्चिन्त नभएको अवस्थामा सुरक्षित स्थानमा रोक्ने जस्ता कुरामा ध्यान दिन पनि आग्रह गरिएको छ।

चिसो बढ्दै जाँदा, मौसममा पनि परिवर्तन हुने र सडक ओसिलो बन्नुका साथै कतिपय स्थानमा हिउँ जम्ने र तुवाँलो लाग्ने भएकाले सतर्क रहनका लागि क्लबका प्रबन्धक ज्याकी पेडर्सेनले आग्रह गरेकी छन्।

पछिल्लो समय सडक दुर्घटनामा नेपाली समुदायका सदस्यहरूले पनि ज्यान गुमाएका घटना सुनिँदै गर्दा, निकै लामो समयदेखि भिक्टोरियामा सवारी चालक प्रशिक्षण दिँदै आएका राजन खड्का चिसो मौसममा विशेष सतर्क रहन आग्रह गर्छन्।

कतै जानु अघि आफ्नो सवारी साधनको अवस्थाका बारेमा ध्यान दिन र आफू जाने स्थानको मौसमका बारेमा पनि जानकार रहनु पर्ने उनको भनाइ छ।

“हिउँ पर्ने ठाउँ हो भने चेन कम्पलसरी हुन्छ,.. रोड स्लिपरि छ भने सेफ डिस्टान्सीङ्ग पनि एकदमै महत्त्वपूर्ण हुन्छ,” उनले भने।

यस बाहेक टायर प्रेसरमा ध्यान दिन र कारको बिमा गर्न पनि उनले सुझाव दिए।

नेपालबाट भर्खरै अस्ट्रेलिया आएर सवारी चलाउँदै गरेकाहरूलाई चालक सिटमा बस्नु अघि यहाँको सडक नियमका बारेमा जानकार रहन पनि उनले आग्रह गरेका छन्।

“सबैभन्दा पहिला त सडकका नियमहरू थाहा पाउनु पर्‍यो, कसरी सडक शेयर गरेर चलाउने, कत्तिको डिस्टयान्समा चलाउने भन्ने बारेमा पनि जानकारी राख्नु पर्छ,” उनि सुझाउँछन् ।

यता भिक्टोरियाको सनसाईन नर्थमा सवारी मर्मत केन्द्र सञ्चालन गरिरहेका डिल्ली राज भट्ट पनि लामो दुरीको यात्रा गर्दा विशेष ख्याल राख्नु पर्ने बताउँछन्।

“हिउँ खेल्न जाँदै हुनुहुन्छ भने टायर महत्त्वपूर्ण भयो, ब्रेक, वाइपर, लाइट... अझ स्नोमा जाँदै हुनुहुन्छ भने त चेन बाँधेरै जानुस्,” उनले भने।

लामो दुरीको यात्रा गर्दा, मेकानिककोमा गाडी देखाएर जाँदा थप सुरक्षित हुन सकिने उनको भनाइ छ।

“ठुलो पानी परिरहेको छ र वाइपर फोर्थ मोडमा लगाउँदा पनि भिजिबिलिटी त्यति राम्रो छैन भने गाडीको स्पिड कम गर्ने पर्छ,”

“लेन चेन्ज गर्नमा हतार गर्नु हुर्दैन।”


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now