अस्ट्रेलियाली सडकहरूमा सुरक्षित रहन जानी राख्नुपर्ने कुराहरूबारे जनचेतना बढाउन भन्दै मेलबर्नमा रहेका नेपालीहरूलाई लक्षित एक नि:शुल्क प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो।
विद्यार्थी र गृहणीहरु लक्षित उक्त कार्यक्रमलाई अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क (एनपीएल) नामक संस्थाद्वारा भिकरोड्सको आर्थिक सहायतामा प्रदान गरिँदै छ।
अस्ट्रेलियाको नेपाली समाजमा "रोड सेफ्टी" एउटा ठुलो समस्या बन्दै गएको भन्दै, एनपीएलका नीराजन गौलीले उक्त प्रशिक्षणमा सहभागी हुन चाहनेहरूद्वारा आफ्नो आवेदन हाल्न सक्ने बताएका छन्।
"हाम्रो धेरै भाइबहिनीहरूले, नेपाली मित्रहरूले (अस्ट्रेलियामा) सडक दुर्घटनामा परेर ज्यान गुमाउनु भएको छ। नेपाल र यहाँ सडक सम्बन्धी 'रुल्स' एकदमै फरक छ," उनले एसबीएस नेपालीसँग भने।

कोरोना महामारी सुरु हुनु अघिसम्म नेपालबाट अस्ट्रेलिया प्रवेश गर्ने मानिसहरूको सङ्ख्या लगातार रूपमा वृद्धि हुँदै जाँदा उनीहरूले यहाँको सडक दुर्घटनामा सोही अनुपातमा जोखिम भोग्नु परेको बताइन्छ।
भिक्टोरियाली यातायात विभाग अनुसार विदेशमा जन्मेका मानिसहरू र अस्ट्रेलियामा नै जन्मेका मानिसहरू बिच सडक दुर्घटनालाई लिएर खासै भिन्नता छैन।
"हामीले केही समय अघि मात्रै पनि अन्य राज्यको तथा विदेशी सवारी चालक अनुमति पत्र रहेका मानिसहरूलाई सहज होस् भनेर केही नियमहरू परिवर्तन गरेका छौँ, यसले पनि सबै भिक्टोरियाली सडक प्रयोगकर्तालाई सुरक्षित बनाउने छ," विभागका एक प्रवक्ताले एसबीएस नेपालीलाई भने।

अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरो वा अस्ट्रेलियाली यातायात सुरक्षाको कार्यालयले देशभर बृहत् रूपमा गरेको सडक दुर्घटना सम्बन्धी समीक्षाका अनुसार पनि विदेशमा जन्मेका सवारी चालकहरू अस्ट्रेलियामा नै जन्मेर हुर्केका मानिसहरूको अनुपातमा खासै धेरै दुर्घटनामा नपरेको देखिएको छ।
भिक्टोरियाको मात्रै कुरा गर्दा, यहाँ ज्यानै जाने वा अति नै गम्भीर प्रकृतिको शारीरिक चोट हुने गरी सडक दुर्घटनामा जम्मा २.८६ प्रतिशत विदेशी सवारी ईजाजतपत्र रहेका मानिसहरू परेका छन्।
उता, सडक सुरक्षाका बारेमा पहिल्यैदेखि अनुभव रहेका कारण पनि गौली आफू यस तर्फ आकर्षित भएको बताउँछन्।
यसै क्रममा एएनपीएलले भिकरोड्स (भिक्टोरियामा सवारी लाइसेन्स जारी एवम् नियमन तथा सडक व्यवस्थापन गर्ने राज्य स्तरको सरकारी निकाय) सँग मिलेर आर्थिक वर्ष २०१८/१९ मा सर्वप्रथम जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको उनी बताउँछन्।

विभागले आफ्नो "कम्युनिटी रोड्स सेफ्टी एजुकेसन" कार्यक्रम भिक्टोरियाली सडकको सुरक्षा प्राथमिकतासँग जोडिने भएकाले, यस्ता शिक्षा प्रदायक आयोजनाहरूबाट बर्सेनि भिक्टोरियाली सडकमा हुन सक्ने मृत्यु तथा गम्भीर घाइतेको सङ्ख्या कम गर्न ठुलो मद्दत पुगेको बताएको छ।
विभागका प्रवक्ता भन्छन् कि चालू आर्थिक वर्षमा मात्रै "कम्युनिटी रोड सेफ्टी ग्रान्ट्स प्रोग्राम" अन्तर्गत १३ लाख डलर भन्दा पनि बढी रकमबाट सयौँ शिक्षाप्रद कार्यक्रम हुँदै आएको र ४ लाख भन्दा पनि बढी भिक्टोरियालीहरूसम्म सो कार्यक्रम पुगी सकेको छ।
"हाम्रो सामुदायिक सडक सुरक्षा अनुदान कार्यक्रमले भिक्टोरियाभरिका समुदाय र सङ्गठनहरूलाई उनीहरूको स्थानीय क्षेत्रमा सडक सुरक्षा सम्बन्धी पहलकदमी कामहरू गर्न आर्थिक सहायता प्रदान गर्छ," प्रवक्ताले भने।
"यस वर्ष लगभग ७० काउन्सिल, विद्यालय र गैर-नाफामूलक संस्थाहरूले करिब १९० कार्यक्रमहरू सञ्चालन गर्दै, सयौँ शिक्षा सत्रहरू आयोजना गर्नेछन् र स्थानीय सडक सुरक्षा मुद्दाहरूको स्थानीय रूपमा समाधान गर्नेछन्।"

"हामीले 'पेडिस्ट्रियन' सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्यौं जसबाट ३०० जति नेपालीहरू लाभान्वित हुनुभएको थियो," नीराजन गौलीले भने।
कोरोना महामारी सुरु भएपछि त्यसमा पनि मेलबर्नको दोस्रो कोभिड-१९ लहर पछि भने चाहिँ सवारी चालक तालिम कार्यक्रम रोकिएको थियो।
तर अब भने, मेलबर्नको प्रतिबन्धहरू छिट्टै फुकुवा हुने लक्षणहरू देखा पर्दै जाँदा आगामी दिनमा ६० जनासम्मलाई निःशुल्क सैद्धान्तिक एवं व्यावहारिक तालिम प्रदान गरिने एएनपीएलले बताएको छ।
मुख्यतया अन्तर्राष्ट्रिय विद्यार्थी तथा गृहिणी लक्षित सो कार्यक्रममा छनौट हुन केही विशेष प्रावधानहरू नभएको चाहिँ होइन।
यस बारे थप स्पष्ट पार्दै नीराजन गौली भन्छन् कि कार्यक्रममा सहभागी हुन २१ वर्ष पुगेकै हुनुपर्छ ।
"कुल १० घण्टाको ५ वटा थ्यौरी क्लास गर्छौँ जसमा सहभागीहरूले ४ वटामा अनिवार्य उपस्थिति जनाउनु नै पर्छ, ड्राइभिङ क्लास लिनका लागी," उनले भने।
"ड्राइभिङ क्लासका लागि हामीले (व्यावसायिक) ड्राइभिङ इन्सट्रक्टरलाई लिन्छौँ।"

तीन वटा व्यावहारिक चालक प्रशिक्षण कक्षा वा प्राक्टिकल ड्राइभिङ लेसन एनपीएलले भिकरोड्ससँगको समझदारी तथा समन्वयमा उपलब्ध गराउने भएता पनि थप अभ्यासका लागि भने प्रशिक्षार्थी आफैँले खर्च व्यहोर्नुपर्ने बताइएको छ।
योसँगै नेपाली समुदायका १० जना इच्छुक व्यक्तिहरूलाई दुई दिने "इन्टेन्सिभ बाइक एड ट्रेनिङ" पनि सञ्चालन गरिने गौलीको भनाई छ।
गौलीका अनुसार सो दुई दिने तालिम लिएर नेपाली समुदायका व्यक्तिहरू पनि भिक्टोरियामा साइकल प्रशिक्षकका रूपमा काम गर्न पाउनेछन्।
एनपीएलको कामको उल्लेख राज्य संसद्ना समेत भएको छ।
नेपालीका कमजोर पक्ष?
तालिममा सैद्धान्तिक ज्ञानका कक्षा समेत लिने गरेका नीराजन गौलीका अनुसार नेपालमा अधिकांश मानिसहरूले खुल्ला चौरमा दुईचार मिनेट चलाएर अस्ट्रेलिया जस्तो ट्राफिक नियम भएको देशमा र त्यसमा पनि ट्राम दौडने मेलबर्नमा सिधै सवारी चलाउनु निकैमा निकै अन्तर छ।
उनी भन्छन् कि नेपालमा एकदमै सुरुवाती चरणमा रहेको सडक नियमहरू र धेरै अघि पुगिसकेको अस्ट्रेलियाका सडक व्यवस्थाहरू बारे रहेको फरक जान्न निकै जरुरी छ।
"एउटा चौर भित्र दुई मिनेट, पाँच मिनेट, १० मिनेट गाडी चलाएर, ब्याक गरेर अगाडि लगेर लाइसेन्स लिने जुन ट्रेन्ड छ, र यहाँ चाही जुन (एक पटकमा) कम्तीमा आधा घण्टा र सबै (किसिमका) रोडहरूमा जाने, लाइभ ड्राइभिङ जुन अरूले चलाइरहेको कारहरूसँग इन्टर(एक्ट) गर्न सिकाइन्छ," गौलीले दुई मुलुक बिच रहेको अन्तर बारे भने।

यसका साथै नेपालीहरू माझ ड्राइभिङलाई लिएर उत्ति साह्रो गम्भीरता नभएको पनि उनको ठम्याई छ।
"अलि-अलि नेपालमा पनि सिकेको हो, यहाँ पनि एक-दुई वटा ड्राइभिङ लेसन लिएपछि त भइहाल्यो नि भनेर इन्सट्रक्टरसँग जाने, लेसन लिने अनि (टेस्ट) अटेम्प्ट गर्ने जुन चलन छ, त्यसले गर्दा (नेपालीहरू) अलि बढी फेल हुने ट्रेन्ड देखेको छु।
लाइसेन्स नियममा भएका बदलाव
भिक्टोरियामा २ अक्टोबर २०१९ भन्दा अघि बसोबास गर्ने र अन्य राज्यको वा अन्तर्राष्ट्रिय सवारी चालक इजाजत पत्र धारकहरूलाई ६ महिना भित्र भिक्टोरियाली "ड्राइभिङ्ग लाइसेन्स"मा रूपान्तरण गर्नु आवश्यक थियो।
तर, कोरोनाभाइरस महामारीको कारण, कम्प्युटरमा आधारित सैद्धान्तिक र व्यावहारिक ड्राइभिङ टेस्टहरू महानगरीय मेलबर्नमा चिकित्सकीय सल्लाहमा हाल निलम्बित गरिएको छ।
विभागले एसबीएस नेपालीलाई बताएअनुसार यस्ता अन्तर राज्य वा अन्तर्राष्ट्रिय लाइसेन्स भएका मानिसहरूले अब सन् २०२१ को अप्रिल २९ तारिकसम्ममाे आफ्नो इजाजत पत्र रूपान्तरण गर्न सक्नेछन्।

२ अक्टोबर २०१९ मा वा सो मिति पछि भिक्टोरियामा आएका व्यक्तिहरू पनि १२ महिनासम्मका लागि निलम्बन गरिएको सवारी चालक इजाजत पत्र रूपान्तरण सम्बन्धी नियमबाट लाभान्वित हुनेछन्।
तर, उनीहरू भिक्टोरियाली लाइसेन्स पाउन कम्तीमा पनि २९ अप्रिल २०२१ पछिसम्म कुर्नुपर्ने ती प्रवक्ता बताउँछन्।
विदेशी ड्राइभिङ लाइसेन्समा "डिमेरिट"
विदेशी सवारी चालक इजाजत पत्र भएका मानिसहरूद्वारा गरिने ट्राफिक नियमको कुनै उल्लङ्घन वा ड्राइभिङ सम्बन्धी अपराध भिक्टोरियामा स्थानीय राज्य प्रहरीद्वारा हेरिन्छ।
डिमेरिट पोइन्ट्स वा लाइसेन्स प्राप्त गर्दा पाइने सुविधाको दुरुपयोग गर्दै उक्त इजाजत पत्रको बर्खिलाफ हुने कार्य गरे दण्डको सुचकका रुपमा दिइने अङ्क, रेकर्ड हुने गरी यस्ता विदेशी लाइसेन्स धारकले सडक नियम तोडे र भिक्टोरिया प्रहरीले भिकरोड्सलाई यसबारेमा सूचित गराए, उक्त संस्थाले यस्ता सडक अपराधलाई दर्ता गर्छ।
जब विदेशी इजाजत पत्र धारक डिमेरिट पोइन्टको सीमामा पुग्छ वा त्यो कट्छ, भिकरोड्सले ती चालकहरूलाई सवारी चलाउन अयोग्य रहेको भन्दै सूचना जारी गर्ने भिक्टोरियाको यातायात विभागले एसबीएस नेपालीलाई बताएको छ।

कति समयसम्म अयोग्य रहने भन्ने कुराको निर्क्योल भने त्यस्ता व्यक्तिले अर्जित गरेको डिमेरिट पोइन्ट्सको सङ्ख्यामा निर्भर हुने मन्त्रालयका प्रवक्ताले बताए।
तर पनि डिमेरिट पोइन्ट्स पुगेको आधारमा भिक्टोरियामा सवारी चलाउन नपाइने न्यूनतम अवधि भने तीन महिना हो।
साथै, ती प्रवक्ताका अनुसार अयोग्य ठहर भएको समयमा, विदेशी इजाजत पत्र धारकले भिक्टोरियाली सडकमा गाडी चलाउन, भिक्टोरियाली चालक इजाजत पत्र वा सिकारु अनुमति पत्र दुवै प्राप्त गर्न सक्दैनन्।
यी पनि हेर्नुहोस्:

अस्ट्रेलियामा माछा मार्ने र डुङ्गा चलाउने लाइसेन्स कसरी लिने ?









