SKIP TO MAIN CONTENT

टास्मेनियामा निःशुल्क खाना बाँड्दै नेपाली भाषी विद्यार्थीहरू

सामुदायिक सेवा सम्बन्धी विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरूले होबार्टका दुई भिन्न स्थानमा निःशुल्क खाना वितरण गर्ने कार्य गरिरहेका छन्।

Nepali students in Tasmania are involved in free food service
Source: SBS Nepali

2 min read

Published

Updated

By Sunita Pokharel



Skip to article content

अधिकांश नेपाली भाषी रहेको सो विद्यार्थीहरूको समूहले यसरी सेवा गर्न पाउँदा आनन्द आएको बताएका छन्।

साँझ पर्न लागेको समय, होबार्टको बहु सांस्कृतिक समुदायको निकै चहलपहल हुने मूना क्षेत्रमा रहेको बहु सांस्कृतिक परिषद्को कार्यालय भित्र एक हुल विद्यार्थीहरू पस्छन्।

खाना खान प्रयोग हुने भाडा साथ परिषद्को हल भित्र छिरेका उनीहरूले एक छिनमा तयार भएका खानालाई टेबलमा मिलाएर राख्छन् र प्याक गरिएका खाना आफू पनि खान्छन्।

अस्ट्रेलिया इन्स्टिट्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबीटी)की कार्य स्थल समन्वयकर्ता सरोजा अधिकारी उपस्थित भएकाहरू आफ्नो विद्यार्थी भएको र अधिकांश नेपाली भाषी रहेको बताउँछिन्।

सो समूह आफ्नो सामुदायिक सेवा सम्बन्धी विषयको प्रयोगात्मक सिकाइको क्रममा त्यहाँ उपस्थित भएको उनको भनाइ थियो।

"कम्युनिटी सर्भिसको पार्ट अफ प्लेसमेन्ट भा'को भएर चाहिँ हामीले यो फुड सर्भिस अर्गनाइज गरिराखेका छौँ।"
Nepali students in Tasmania are involved in free food service
Source: SBS Nepali

श्रीमद राजचन्द्र मिसन धरमपुर नामक संस्थाको अस्ट्रेलिया शाखाले निःशुल्क खाना उपलब्ध गराउने र बदलामा विद्यार्थीहरूले विभिन्न मध्यमबाट रकम सङ्कलन गरेर संस्थालाई सहयोग गर्ने गरेको अधिकारीले बताइन्।

उपस्थित विद्यार्थीहरू मध्येकी एक अलिना शाक्यले यस्तो खाना वितरण हरेक हप्ता चार दिन यो सेवा उपलब्ध रहेको बताइन्। 

उनका अनुसार सोमबार र मङ्गलवार बहु सांस्कृतिक परिषद्मा त्यस्तै बिहीबार र शुक्रवार म्याथार्स हाउसमा खाना वितरण गर्ने गरिएको छ।

साथै उनले घरबार विहीनहरूका लागि मात्र नभएर विद्यार्थी वा जो कोही खानाको समस्या भएकाहरूले निःशुल्क खाना पाउने भनाइ राखिन्।

"हामी निःशुल्क खाना सेवा सम्पूर्ण जरुरत भएकाहरूका लागि गर्छौँ। जो कोहीलाई यहाँ स्वागत छ। होमलेसहरूका लागि मात्र होइन कि हामीले विद्यार्थीहरूलाई पनि सहयोग गरिरहेका छौँ।"

निःशुल्क उपलब्ध गराइएको खाना खाई रहेका एक जोडीले आफ्नो भनाई रेकर्ड गर्न नमाने पनि उक्त कार्य गरेकोमा विद्यार्थीहरूलाई धन्यवाद दिएका थिए।

निरन्तर रूपमा सञ्चालनमा रहेको यो सामाजिक कार्यमा कोभिड-१९ महामारी पश्चात् भने सेवा लिन आउनेहरूको सङ्ख्यामा कमी आएको सरोजा अधिकारीले बताइन।

"पहिले चाहिँ एकदमै राम्रो फ्लो थियो यहाँ हैन। बिचमा के भयो भन्दा कोभिडले गर्दा हाम्रो फुड सर्भिस चाहिँ सर्टेन टाइमको लागी बन्द गर्नु पर्‍यो। त्यो हुँदा खेरी अहिले चाहिँ अलिकति कोप अप गर्न गाह्रो भइराखेको छ। मतलब सबै जना जो पहिला हाम्रो कस्टमरहरू हुनुहुन्थ्यो उहाँहरू आइरहनु भएको छैन।"

तर खाना वितरण गरिरहेको स्थानमा नआएकाहरूका लागि पनि खाना प्याक गरेर आफूहरूले नै उनीहरूसम्म पुर्‍याउने गरेको उनको भनाइ छ।

भारतीय पृष्ठभूमिकी अमनदिप कुर्मानले यस कार्यलाई प्रेमको सर्कलका रूपमा व्याख्या गरिन।

"यसले हामीलाई कसरी आफ्नो समुदायलाई सेवा गर्ने भन्ने कुरा सिकाउँछ। कसरी मानिसहरूलाई सहयोग गर्ने, एक अर्कालाई कसरी सहयोग गर्ने, कसरी हाम्रा ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्ने र उनीहरूको कसरी हेरचाह गर्ने (भनेर सिकाउँछ)।"

विद्यार्थीको एक झुन्डमा गफगाफ गर्न व्यस्त देखिएका रबीन्दर, सुनिल र सचिनले यसरी सहयोगको आवश्यकता भएकाहरूको सेवा गर्न पाउँदा खुसी लागेको बताए।

Nepali students in Tasmania are involved in free food service
Source: SBS Nepali

रबीन्दर भन्छन्, "पढाइ भन्दा पनि बाहिर हाम्रो लागी एउटा प्राक्टिकल स्किल छ नयाँ मान्छे भेट्न पाउने। आफ्नो पढाइबाट बाहिर आएर कम्युनिटीमा आएर एउटा सर्भिस गर्ने नै हाम्रो लागि एउटा भनौँ न उपलब्धि (हो)।"

उनले सामुदायिक सेवा सम्बन्धी विषय नै पढे पछि यस्ता कार्यले भविष्यमा गरिने कार्यहरूलाई सहयोग गर्ने भनाइ राखे।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now