खासमा आप्रवासीहरू अस्ट्रेलियनका काम खोस्दैनन्: रिपोर्ट

भर्खरै जारी गरिएको एक नयाँ प्रतिवेदनले अस्ट्रेलियामा आउने आप्रवासीहरूद्वारा यहाँ बसोबास गरिरहेका मानिसहरूको कमाइमा प्रतिकुल प्रभाव नपार्ने देखाएको छ।

Nepali in Melbourne

Source: SBS Nepali

नयाँ आप्रवासीहरूले अस्ट्रेलियामा बसोबास गरिरहेका मानिसहरूको काम खोस्ने डरको वास्तविकता त्यो भन्दा अलग रहेको सोमबार जारी गरिएको एक नयाँ अध्यनले देखाएको छ।

कमिटी फर इकोनोमिक डिभलप्मेन्ट अफ अस्ट्रेलिया (सेडा)द्वारा गरिएको एक अनुसान्धानका अनुसार बाहिरबाट आउने र योग्यता भएका अस्थायी आप्रवासीहरूले अस्ट्रेलियन कामदारलाई उनीहरूले पाउन सक्ने कामबाट हात धुनुपर्ने स्थितिको सृजना गरेको छैन।

इफेक्ट्स अफ टेम्पोररी माइग्रेसन (अस्थायी आप्रवासको प्रभाव) नाम दिइएको उक्त रिपोर्टका अनुसार अस्ट्रेलियामा हाल २० लाख मानिसहरू अस्ट्रेलियामा अस्थायी भिसामा रहेका छन्।

रिपोर्टमा जनाइए अनुसार, २० लाख मानिसहरूमा विद्यार्थी, वर्किङ्ग होलिडे, स्किल्ड भिसा र छिमेकी मुलुक न्युजिल्याण्डबाट यहाँ आएर बसेकाहरूको गणना छ।

उक्त प्रतिवेदन अनुसार ७० प्रतिशत अस्थायी भिसामा रहेका आप्रवासीहरूले न्यु साउथ वेल्स र भिक्टोरियालाई आफ्नो वासस्थान बनाएका छन् र ती राज्यहरूमा बेरोजगारी दर अस्ट्रेलियाका अन्य राज्यहरूमा भन्दा सबैभन्दा कम रहेको छ।

मेडिकेयर र अनुदानमा पढ्न पाउने जस्ता सरकारी सुविधाबाट वञ्चित भए पनि यस वर्गमा समेटिने सबैजसो अस्थायी आप्रवासीहरूले सरकारलाई कर भने बुझाउनु पर्ने भएकाले सरकारी ढुकुटीलाई उनीहरूबाट प्रचुर फाइदा रहेको विश्लेषण पनि उक्त रिपोर्टको रहेको छ।

“बाहिरबाट अस्थायी भिसामा आउने मानिसहरूले अस्ट्रेलियनहरुको काम छिन्छन् भन्ने कुरा बारम्बार सुनिन्छ तर उपलब्ध प्रमाणहरूले भने स्थिति त्यस्तो नरहेको देखाउँछ,” सेडाको उक्त प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष १७/१८ मा सबैभन्दा धेरै भिसा प्रदान भएका ४ व्यवसायहरू:

  • डेभलपर प्रोग्रामर
  • आईसीटी व्यापार विश्लेषक
  • विश्वविद्यालयको लेक्चरर
  • कुक

आव १७/१८ मा नेपालबाट कुकको रूपमा अस्थायी भिसामा अस्ट्रेलिया आउने कामदारहरूको सङ्ख्या १६९ रहेको छ।

सोही अवधिमा सफ्टवेयर र अन्य प्रोग्रामरको रूपमा अस्थायी भिसामा अस्ट्रेलिया आउने नेपालीहरूको सङ्ख्या भने ५ रहेको पनि मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ।

कुन देशबाट सबैभन्दा धेरै अस्थायी आप्रवासीहरू आउँछन् त?

१. संयुक्त अधिराज्य

२. भारत

३. फिलिपिन्स

१६. नेपाल

अस्ट्रेलियाको गृह मामिला मन्त्रालयका अनुसार आव १७/१८मा नेपालबाट भने २६,५७९ अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी आप्रवासी भिसामा ८६४ गरेर कुल २७,४३३ जना यहाँ आएका थिए।

त्यसै गरी पर्यटक भिसामा १८,८७२ र अन्य अस्थायी भिसामा ५,५८१ जना अस्ट्रेलिया आएका थिए।

यी सब जोडेर हेर्ने हो भने नेपालबाट जम्मा ५१,८९६ जना अस्ट्रेलिया विभिन्न अस्थायी भिसाहरूमा आएको देखिन्छ जुन अघिल्लो आवको तुलनामा ३४.६ प्रतिशतको वृद्धि हो।

मन्त्रालयको अनुसार आव १६/१७मा ३८,५४४ जना नेपालीहरू अस्थायी भिसाहरूमा अस्ट्रेलिया आएका थिए।

अस्थायी कामदारको वकालत

रिपोर्टका अनुसार अस्ट्रेलियालाई भविष्यमा अझै धेरै कुशल मानिसहरूको आवश्यता खट्कने छ र अस्थायी आप्रवासीहरू बिना त्यो परिपूर्ति गर्न असम्भव प्राय नै देखिन्छ।

“उदाहरणको निम्ति, सन् २०२६ सम्ममा अस्ट्रेलियालाई करिब १८,००० भन्दा बढी साइबर सुरक्षा सम्बन्धी काम गर्ने मानिसहरूको खाँचो पर्नेछ तर यहाँ हाल बर्सेनि ५०० जना जति मात्र ‘ग्राजुएट’हरू उत्पादन भई रहेका छन्,” प्रतिवेदनमा उल्लेख छ।

A bionic ear device in Melbourne
Hearing implants maker Cochlear has more than tripled its first half profit. (AAP) Source: AAP

प्रतिवेदनले अस्ट्रेलियन प्रविधि र रचनात्मक विकासको कोसेढुंगा मानिएको “कक्लियर इम्प्लाण्ट”को (जन्मजात कान नसुन्ने व्यक्तिहरूले संसारभर उपभोग गर्ने एक उपकरण) उदाहरण दिँदै अस्थायी आप्रवासीहरूको संलग्नता मात्रले उक्त उपकरण निर्माण कम्पनीले सफलता पाएको पनि बताएको छ।

“देश बाहिरबाट कुशल र तालिम प्राप्त इन्जिनियरहरू अस्थायी भिसामा कक्लियरमा काम गर्न आएर अस्ट्रेलियाको उन्नत प्रविधि विकास गरिदिए,” रिपोर्टमा भनिएको छ।

डराउनु पर्दैन

सेडाकी प्रमुख कार्यकारी मेलिन्डा सिलेंटोका अनुसार समुदायलाई बाहिरबाट आउने मानिसहरूबाट आफ्नो रोजी-रोटीको बारेमा डर लाग्नु स्वाभाविक नै हो।

तर, कुशल र तालिम प्राप्त मानिसहरू अस्ट्रेलिया भित्रिनु भनेको समग्र रूपमा सबैलाई फाइदा हुने विषय हो भनेर बुझ्न जरुरी छ भन्ने कुरामा मानिसहरूले ध्यान दिनुपर्ने उनी बताउँछिन्।

“अस्थायी भिसामा अस्ट्रेलिया आउने मानिसहरूको सङ्ख्या कुल अस्ट्रेलियन कामदारहरूको एक प्रतिशत भन्दा पनि कम हो,” उनी भन्छिन्।

यूनियनहरुको विमति

तर, अस्ट्रेलियामा कामदारहरूको हकहितका लागि कार्यरत यूनियनहरुको छाता सङ्गठन - अस्ट्रेलियन ट्रेड युनियन परिषद्ले भने सेडाको उक्त रिपोर्ट अपुरो रहेको जनाएको छ।

परिषद्का सहायक सचिव लियम ओ’ ब्रायनका अनुसार अस्थायी भिसामा भित्रने मानिसहरूले कम तलबमा काम गर्दा आफू शोषित हुनु त छदैछ, यहाँका मानिसको पनि आम्दानीमा हानी-नोक्सानी पुर्याउदछन्।

“जब कोही रोजगादाताले नराम्रो नियत राखेर व्यवस्थालाई बिगार्ने किसिमले आफ्ना कामदारहरूलाई कम पैसामा नियुक्ति दिन्छन्, यसले सबैलाई नोक्सान पुर्‍याउँछ,” उनले भने।

रिजनलमा अझ यस्ता धोखा-धडीका काम हुने बताउँदै अस्थायी कामदारहरूका कारण मोफसलका युवाहरू धेरै बेरोजगार रहेको तिर ध्यान दिनुपर्ने पनि उनले बताए।

“राम्रो भिसा प्रणालीका अभावमा अस्थायी कामदारहरूलाई प्रोहत्सान गर्दा फाइदा पुग्ने भनेको ठग रोजगारदाताहरुलाई मात्र हो,” ओ’ ब्रायनले थपे।

सेडा भने बेलायतको झैँ एक स्वतन्त्र आप्रवासी सल्लाह समिति गठन गरेर अगाडी बढ्दा समस्याहरू सम्बोधन गर्न सजिलो हुने तर्क राख्छ।

उसको अनुसार त्यस्तो समितिले दिने सुझावहरू सर्वमान्य हुने र व्यवस्था माथिको विश्वास पुनर्जागरण हुने बताउँछ।


4 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now