स्वयंसेवकको रूपमा अग्नि नियन्त्रक भई काम गर्न पहिलेभन्दा पाँच दोब्बर बढी आवेदन परेको न्यु साउथ वेल्स राज्यको अग्नि नियन्त्रण सेवाले जनाएको छ।
यसपल्टको डढेलोमा अग्नि नियन्त्रकहरुको स्वार्थहीन सेवाको निकै ठुलो प्रशंसा भएको थियो र यसले प्रभावित भएर धेरैले आवेदन हालेको हुनसक्छ भनी अधिकारीहरूले बताएका छन्।
न्यु साउथ वेल्स राज्यको अग्नि नियन्त्रण सेवाले पहिले वर्षमा चार हजार स्वयंसेवकको रूपमा काम गर्नका लागि आवेदन पाउँथ्यो भने, यसपल्ट भने गत तिन महिनामै पच्चिस हजार आवेदनहरू पाई सकेको छ।
उता डढेलोको चपेटामा परेको भिक्टोरिया र दक्षिण अस्ट्रेलिया राज्यहरूमा पनि अग्नि नियन्त्रक भई काम गर्ने इच्छा पहिलेको भन्दा निकै बढी देखिएको बताइएको छ।
समाचारमा दिनहुँ डढेलोले ल्याएको मार्मिक तस्बिरहरू र यसका बिचमा अग्नि नियन्त्रकहरुले गरेको मन छुने कामले गर्दा होला, धेरै सर्वसाधारणहरू यसमा भाग लिन खोजिरहेका छन्।

विगत तिन महिनामा, डढेलो निभाउने क्रममा भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा पाँच स्वयंसेवक अग्नि नियन्त्रकहरुको ज्यान गइसकेको छ।
न्यु साउथ वेल्समा रहेको रुरल फायर सर्भिस, संसारकै सबैभन्दा बढी बिना ज्याला काम गर्ने अग्नि नियन्त्रकहरुको संस्था हो। यस संस्थामा सत्तरी हजारभन्दा बढी अग्नि नियन्त्रकहरू स्वयंसेवकको रूपमा काम गरिरहेका छन्, र तलबी कामदारको सङ्ख्या भने मात्र नौ सय रहेको छ।
आवेदन हालेकाहरूले तुरुन्तै सेवा गर्ने मौका नपाउने अधिकारीहरूले बताएका छन्। “आवेदनको ठुलो चाप छ, र अहिले डढेलोले गर्दा अन्य धेरै काम-काजलाई कम प्राथमिकता दिइएको छ। अनि नयाँ आउनेहरूलाई तालिम पनि दिनै छ,” यस संस्थाका एक प्रवक्ताले बताए।
यसै बिच, सरकारले अग्नि नियन्त्रण सेवामा थप लगानी गर्नु पर्ने माग पनि बढ्दै गएको छ। कम पैसाका कारण, अग्नि नियन्त्रकहरू पुरानै गाडी तथा सामानहरू चलाउने बाध्य भएको र यो धेरै प्रभावकारी नभएको कतिपयले आरोप लगाएका छन्।
केपरट्री अग्नि नियन्त्रण सेवाका प्रमुख स्टिभ डालीले आफूले बर्षौदेखि आधुनिक वाहन मागेको, तर पैसाको अभाव बताउँदै आफ्नो अनुरोधलाई बेवास्ता गरिएको बताउँछन्।
तर यसपल्टको डढेलोमा धेरैले अग्नि नियन्त्रकहरूका लागि पैसा उठाएको र यसले गर्दा केही रकम नयाँ र आधुनिक सामाग्री किन्न सकिने आशा यी सेवाकर्मीहरुले व्यक्त गरेका छन्।
किन अग्नि नियन्त्रण सेबा स्वयंसेवकको भरमा चल्छ?

अस्ट्रेलिया जस्तो देशमा, जहाँ वन डढेलो सल्कने प्रबल सम्भावना हुन्छ, आफ्नो ज्यानलाई जोखिममा राखेर काम गर्ने अग्नि नियन्त्रकहरुलाई किन तलब दिन सकिँदैन त?
यसको दुइटा कारण रहेको स्टुअर्ट एलिस बताउँछन्। एलिसले दक्षिण अस्ट्रेलियाको ग्रामीण अग्नि नियन्त्रण सेवाका प्रमुखको रूपमा काम गरिसकेका छन्।
पहिलो त, अस्ट्रेलिया विशाल भू-भाग भएको देश हो र कुनै पनि बेला, कुनै पनि स्थानमा झट्टै आगो लाग्न सक्छ। र यसले विशाल रूप लिन सक्छ।
यस्तो बेला, स्वयंसेवकहरू बिना आगो निभाउने कुरा कल्पना पनि गर्न सकिँदैन।
अनि आगो निभाउनका लागि प्रभावित ठाउँहरूको स्थानीय ज्ञान हुनु पनि अपरिहार्य नै हुन्छ। यसले गर्दा पनि सबै टोलबाट प्रतिनिधि हुने क्रम चल्दाचल्दै अहिले यो एक ठुलो स्वयंसेवक संस्थाको रूपमा रहेको छ।
एलिसको विचारमा दोस्रो कारण भने पहिले देखिकै रीतिलाई पछ्याउँदै गएकाले पनि स्वयंसेवकको सङ्ख्या बढ्दै गएको हो। “मानिसहरूलाई आफ्नो समुदाय, आफ्नो छिमेकीको हीतका लागि निस्स्वार्थ काम गर्दा एउटा गौरवको अनुभव हुन्छ। यसले गर्दा पनि यसप्रति आकर्षण बढेको हो,” उनले बताए।
आउँदा वर्षहरूमा पनि डढेलोको क्रूर रूप फर्कन सक्ने आशङ्का केहीले व्यक्त गरेका छन्। यसले गर्दा स्वयंसेवकको रूपमा अग्नि नियन्त्रक भई काम गर्नेको खाँचो त झनै बढ्ने छ।
