सिड्नीबाट अवैध लागूपदार्थ तस्करी गरेको आरोपमा दुई नेपाली नागरिक ब्रिस्बेनमा पक्राऊ

अस्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) ले २२ फेब्रुअरी राती, दुई नेपाली नागरिकहरूलाई ब्रिस्बेनमा गिरफ्तार गरेर उनीहरू माथि मुद्दा चलाएको छ।

Two Nepali nationals charged with trafficking drugs.

Two Nepali nationals charged with trafficking drugs. Credit: AFP

सिड्नीबाट कथित रूपमा अवैध लागूपदार्थ तस्करी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

एएफपीका अनुसार ती दुवैको उमेर २१ वर्ष रहेको छ र उनीहरूले ४५० ग्राम लागूपदार्थ सिड्नीबाट कपाल रङ्गाउन प्रयोग हुने ट्युब भित्र हालेर तस्करी गरेका थिए।

Investigators seized six tubes of professional hair dye wrapped inside a towel.
Investigators seized six tubes of professional hair dye wrapped inside a towel. Credit: AFP

ती दुई नेपाली नागरिकहरूले सिड्नीबाट न्यु साउथ वेल्सको क्यासिनो नामक स्थान रेल चढेर पुगेका थिए।

अस्ट्रेलियाको अपराध नियमावली १९९५ को दफा ३०२.३ को बर्खिलाप हुने गरी नियन्त्रित लागु औषधको बिक्रीयोग्य परिमाण तस्करी गरेको आरोपमा उनीहरू दुवै जना माथि पाइन रिभर्स म्याजिस्ट्रेट्स कोर्टमा मुद्दा चलाइएको पनि प्रहरीले बताएको छ।

बुधवार, २२ फेब्रुअरी राती उनीहरू रोमा स्ट्रिट बस बिसौनी पुग्दा सङ्घीय प्रहरीका अधिकारीहरूले खानतलासी गर्दा उक्त औषध फेला परेको बताइएको छ।

एएफपीद्वारा जारी एक विज्ञप्तिका अनुसार अनुसन्धानकर्ताहरूले ती दुई मध्ये एक जनाले बोकिरहेको ब्याक प्याक झोला खानतलासी गर्दा व्यावसायिक रूपमा कपाल रङ्गाउने हेअर डाईको ६ वटा ट्युबहरू एक तौलिया भित्र भेटेको उल्लेख छ।

प्रहरीले ती ट्युबहरूमा सीमा नियन्त्रित लागू औषधसँग मेल खाने पदार्थ भेटिएको आरोप लगाउने तयारी गरिरहेको जानकारी दिँदै उक्त पदार्थको हाल थप फोरेन्सिक जाँच भइरहेको बताएको छ।

एएफपीका एक कमान्डर, जन टान्टी, अनुसन्धानकर्ताहरूले अस्ट्रेलियामा लागूपदार्थ ओसारपसार रोक्न ठुलो सञ्जाल चलाएको बताउँछन्।

"अवैध लागू औषधले अस्ट्रेलियाली समुदायलाई दिनहुँ ठुलो नोक्सान पुर्‍याउँछ र हाम्रा अनुसन्धानकर्ताहरू तिनको बेचबिखन रोक्न र ढुवानीमा संलग्न जोसुकैलाई अदालतमा पेस गर्न प्रतिबद्ध छन्," कमान्डर टान्टीले भने।

The drugs were allegedly transported inside tubes of hair dye.
The drugs were allegedly transported inside tubes of hair dye. Credit: AFP

नेपाली समुदायका प्रतिनिधिहरू भन्छन् कि यो समाचारले अचम्मित बनाउनुका साथै, लागूपदार्थको विषयमा जनचेतनाको आवश्यकता रहेको देखाएको छ।

"यो हाम्रो लागि पनि नयाँ समाचार हो। नेपालीहरू लागूपदार्थको केसमा आबद्ध छन् भनेर सुन्दा हामी पनि आश्चर्यमा छौँ," गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष तथा क्वीन्सल्यान्ड संयोजक बिनोद आचार्यले बताए।

"हामी जुवा, घरेलु हिंसाजस्ता विषयको बारेमा चेतना फैलाइरहेका छौँ, तर यस विषयलाई लक्षित गरिएका कार्यक्रम गरेका छैनौँ। अब यो समाचारबाट चाहिँ नेपालबाट भर्खर आएका भाइबहिनीहरूलाई लागूपदार्थ र कानुनको बारेमा जनचेतना दिनु पर्ने भनी हामी अलि सचेत भएका छौँ।"
बिनोद आचार्य

एनआरएनएले अस्ट्रेलियाका सुरक्षा नियमहरू सम्बन्धी तयार गर्ने भनिएका भिडियो शृङ्खलामा लागूपदार्थको विषयलाई पनि समावेश गर्ने सङ्घको विद्यार्थी सल्लाकार समितिका राष्ट्रिय संयोजक सक्षम सुबेदीको भनाइ छ।

"यो विषय गम्भीर भएको हुनाले हाम्रा सचेतना मूलक भिडियोहरूमा यो विषयलाई पनि समावेश गर्ने छौँ," उनले भने।

प्रहरीको आरोप प्रमाणित भएमा आरोपित युवाहरूलाई २५ वर्षसम्मको जेल हुन सक्छ।

उनीहरू दुवै जनालाई हाल प्रहरी हिरासतमा राखिएको छ र ३ मार्चमा उनीहरूलाई पुनः अदालत समक्ष उपस्थित गराइने छ।

  • मादक तथा अन्य लागूपदार्थ सम्बन्धी उपचार सेवाहरूको बारेमा निःशुल्क र गोप्य सल्लाहको लागि १८०० २५० ०१५ मा नेश्नल अल्कोहल एन्ड अदर ड्रग हटलाइनलाई सम्पर्क गर्नुहोस्।
  • मादक तथा अन्य लागूपदार्थ सम्बन्धी निःशुल्क परामर्श सेवा २४ अै घण्टा सातै दिन counsellingonline.org.au मार्फत पाउन सकिन्छ।
  • लागूपदार्थ र मदिराको लत हटाउने उपचार पाउन वा सहयोगको बारे थप जानकारीको लागि, turningpoint.org.au जानुहोस्।

Share

3 min read

Published

Updated

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now