
This article is more than 3 years old
टिकटकमा नातिनीको भिडियो अपलोड गर्दा नेपालबाट आएकी हजुरआमामाथि अस्ट्रेलियामा मुद्दा दायर
आफ्नी २ वर्षीया नातिनीलाई कथित रूपमा बारम्बार यौन दुर्व्यवहार र त्यसको भिडियो टिकटकमा अपलोड गरेको आरोपमा ती विदेशी महिलालाई एसीटी प्रहरीले गत आइतबार, ६ फेब्रुअरीमा पक्राउ गरेर उनी विरुद्ध एसीटी म्याजिस्ट्रेट्स कोर्टमा मुद्दा चलाएको हो।
उनीमाथि १० वर्ष मुनिका बालबालिका विरुद्ध अभद्र व्यवहार, बाल शोषण सामग्री उत्पादन गर्न बच्चाको प्रयोग गरेको र बाल दुर्व्यवहार सामग्रीका लागि ढुवानी सेवा प्रयोग गरेको अभियोग लगाइएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल टिकटकका प्रतिनिधिहरूले अस्ट्रेलियन सेन्टर टु काउन्टर चाइल्ड एक्सप्लोइटेसन (एसीसीसीइ) भनिने बाल शोषण विरुद्ध लड्न स्थापित एक अस्ट्रेलियाली निकायलाई २७ ज्यानुअरीमा सो सामाग्री अपलोड भएको बारे सूचित गरेका थिए।
अस्ट्रेलियाली सङ्घीय प्रहरीको बाल सुरक्षा प्रतिक्रिया इकाईलाई दिएको सुराकीका आधारमा उनलाई पक्राऊ गरिएको थियो।
एसीटी म्याजिस्ट्रेट्स कोर्टमा ७ फेब्रुअरी, सोमवार उपस्थित गराइएकी हजुरआमा विरुद्धको मुद्दाको सुनुवाइ २८ फेब्रुअरी, मङ्गलवारका लागि तोकिएको छ।
क्यानबेरा स्थित नेपाली समुदायका केही अगुवाहरूले एसबीएस नेपालीसँग कुरा गर्दै ती महिला नेपालबाट आफन्तजन भेट्न अस्ट्रेलिया आएको पुष्टि गरेका छन्।
गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एसीटी) संयोजक अशोक बस्नेतले आफूहरू लगातार रूपमा परिवारको सम्पर्कमा रहिरहेको र उत्पन्न परिस्थितिका कारण उनीहरूले निकै तनाव झेलिरहेको जानकारी दिए।
यस्तै प्रतिक्रिया क्यानबेरा नेपाली समुदायका नेता आदर्श जङ्ग पाण्डे तथा अस्ट्रेलियामा नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ फेन्काका अध्यक्ष डा कृष्ण हमालको पनि छ।
तर, हाल अदालतमा मुद्दा विचाराधीन रहेकाले थप प्रतिक्रिया दिनभने उनीहरू सबैले असमर्थता प्रकट गरे।
प्रहरीले यौन दुर्व्यवहारका पीडितहरूलाई, सहमति बिना आदान प्रदान गरिएको अन्तरङ्ग तस्बिरहरू बारे सूचना भएका जो कोहीलाई पनि यस्ता आपराधिक गतिविधिहरू रिपोर्ट गर्न आग्रह गरेको छ।
यदि तपाईँ वा तपाईंले चिन्ने कोही यौन हिंसाबाट प्रभावित भएका छन् भने, नजिकैको प्रहरी थानामा वा १३१ ४४४ मा फोन गरेर प्रहरी समक्ष रिपोर्ट गर्न सक्नुहुन्छ।
छ महिनाभन्दा अघि घटेका ऐतिहासिक यौन दुर्व्यवहारको लागि तपाईँले अनलाइन मार्फत उजुरी गर्न सक्नुहुन्छ।