बितेको २४ घण्टामा कोभिड-१९ सङ्क्रमणका थप सात मामिलाहरू भिक्टोरियामा भेटिएको बताउँदै गर्दा राज्यका प्रिमियर ड्यानियल एण्ड्रुजले अब मङ्गलवार राती ११:५९ उप्रान्तदेखि आफ्नो राज्यमा पनि प्रतिबन्धहरू आंशिक रूपमा खुकुलो बनाइने बताएका हुन्।
मेलबर्नमा पत्रकारहरूसँगको साक्षात्कार कार्यक्रममा बोल्दै एण्ड्रुजले एक पटक बढीमा पाँच जनासम्म पाहुनालाई आफ्नो घरमा डाक्न सकिने जानकारी दिए।
“यसले वास्तवमा कहाँ आहत गरेको छ भने, मानिसहरू आफूलाई सर्वाधिक चासो लाग्ने अन्य व्यक्तिहरूसँग जोडिन नै पाएका छैनन्,” उनले सामाजिक दुरीका कारण मानिसहरू एक-अर्काको सामीप्यमा रहन नसकेको बारे भने।
तर, मानिसहरू बोलाउन पाइन्छ भन्दैमा प्रत्येक घरले हरेक राति खानाका लागि पाहुनाहरू बोलाउन नहुनेमा पनि उनले जोड दिए।
“हामीले आफ्नो स्वविवेकको प्रयोग गर्नै पर्छ र यो (लडाई) समापन भन्दा निकै टाढा रहेको छ भनेर पनि बुझ्नुपर्छ।”
स्कुलहरू खुल्ने, धार्मिक सभाहरू पनि आयोजना गर्न मिल्ने
भिक्टोरियाली सरकारले स्कुलहरू पुनः सञ्चालनमा ल्याउन हाल आवश्यक गृहकार्य भइरहेको बताएको छ।
“हामीले यसबारे धेरै कामहरू गरिरहेका छौँ र हामी प्रत्यक्ष पठन-पाठनको योजनालाई अन्तिम रूप दिन एकदमै नजिकै छौँ,” प्रिमियर एण्ड्रुजले दोस्रो शैक्षिक सत्रको समापन हुनु अगावै विद्यालयहरू खोल्ने तयारीमा आफूहरू लागेको खुलासा गर्दै भने।
अभिभावकहरूलाई निश्चिन्तता होस् भन्ने हेतुले यस अघि भने दोस्रो शैक्षिक सत्रभर नै घरबाट पठन-पाठन गराउने योजना बनाउन भनेको पनि उनले स्पष्ट पारे।

“अब भने, हामी बिस्तारै र क्रमिक रूपमा प्रत्यक्ष पठन-पाठनलाई सुरक्षित रूपमा फर्काउन सक्छौँ भनेर विश्वास गर्ने अवस्थामा छौँ,” एण्ड्रुजले भने।
“तर, आज नै यस विषयको बारेमा थप घोषणा गर्ने दिन भने होइन।”
यसका साथै स-सानो धार्मिक क्रियाकलापमा भाग लिन मिल्ने पनि बताइएको छ।

विशेष गरी १० जनासम्मको समूहले कुनै धार्मिक कार्यको अवलोकन गर्न रोकटोक नहुने पनि उनले बताए।
तदनुरूपले विवाह, मलामी जान र लिलामी सम्बन्धी क्रियाकलापमा पनि मानिसहरू संलग्न हुन पाउने छन् जसमा १० जनासम्मले विवाह समारोहमा सरिक हुन सक्नेछन् भने खुला आकाश मुनि हुने मृत्यु सभाहरूमा ३० जनासम्मलाई भाग लिन कानुन अवरोध हुने छैन।
घरबाट निस्कन परे तपाईँसँग हुनुपर्ने पाँच कारण

यस अघि भिक्टोरियामा घरबाट बाहिर निस्कन परे चार विभिन्न कारणहरूलाई मात्र छुट थियो।
सोमबारको घोषणामा सबैभन्दा महत्त्वपूर्ण परिवर्तन पनि यही हो - अब यी कारण पाँच वटा छन्:
१. साथीभाइ तथा परिवारलाई भेट्न जान (एक पटकमा पाँच भन्दा बढी पाहुना बोलाउन पाइन्न)
२. चिकित्सकीय सहयोग लिन वा आफ्ना प्रियजनको हेरचाह गर्न
३. व्यायाम वा कसरत गर्न
४. अत्यावश्यक सर-सामान किन्न
५. घरबाट काम गर्न वा पढ्न नमिल्ने भए
“तपाईँ यी पाँच कारण मध्ये बाहेक घरबाट बाहिर जान पाउनुहुन्न,” एण्ड्रुजले भने।
क्याफे तथा रेस्टुरेन्ट अझै “टेक अवे” का लागि मात्र खुल्ने

अरू राज्यमा क्याफे, पब, रेस्टुरेन्ट लगायतका व्यवसायहरू खुले पनि भिक्टोरियामा भने ती स्थानमा गएर कफी, बियर पिउन र खाना खान अझै केही समय पर्खिनुपर्ने भएको छ।
ड्यानियल एण्ड्रुजका अनुसार सामाजिक दुरी सम्बन्धी नियमहरूको पालना गर्दै त्यस प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न व्यापारिक दृष्टिकोणबाट उपयुक्त नदेखिएका कारण हाललाई यस सम्बन्धी व्यवस्था यथास्थिति मै कायम गरिएको हो।
“१० जना ग्राहकका लागि पसल खोल्न वित्तीय हिसाबले व्यवहारिक छैन,” एण्ड्रुजले भने।
उनका अनुसार अर्को तीन हप्तामा हुने प्रतिबन्धहरूको समीक्षाका बखत नियमहरू थप खुकुलो बनाउन सकिने छ।
“मेरो बिचारमा टेक अवे अझै केही समयका लागि विशेषता हुनेछ,” प्रिमियर एण्ड्रुजले भने।
गल्फ खेल्न, हाइकिङ र माछा मार्न जान पनि छुट

सोमबारको घोषणासँगै भिक्टोरियालीहरूले सामाजिक दुरी सम्बन्धी नियमहरूको पालना गरेर गल्फ खेल्न, समूहमा हिँडडुल गर्न र माछा मार्न जान पाउने भएका छन्।
एक-आपसमा १.५ मिटरको दुरी कायम गर्दै १० जनासम्मको समूहले खुला आकाश मुनि विविध क्रियाकलापहरूमा भाग लिन सक्ने बताइए पछि गल्फ खेल्न, हाइकिङ र माछा मार्न जान बाटो खुलेको हो।
भिक्टोरियामा गल्फ माथि लागेको प्रतिबन्धका कारण बारे बोल्दै उनले उक्त खेलमा भाग लिन नपाइनुलाई महामारीका कारण हजारौँले गुमाएको रोजगारी कै लहरमा राखेर हेर्न नमिल्ने बताए।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

