SKIP TO MAIN CONTENT

डिजिटल घुमन्ते भिसा: विभिन्न देशमा घुम्दै काम गर्न जाने होइन त?

इन्डोनेसियाले बालिको समुन्द्री किनारमा बसेर मनोरम दृश्य हेर्दै काम गर्न चाहने विदेशी नागरिकलाई डिजिटल घुमन्ते भिसाको व्यवस्था गरेको छ।

digital nomad
digital nomad Source: AFP

5 min read

Published

Updated

By Charis Chang, Krishna Pokhrel

Source: SBS


Skip to article content

कोभिड–१९ महामारीको सुरुसँगै अस्ट्रेलियामा सम्भव भएसम्मका कम्पनीहरूले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न लगाए।

त्यो क्रम अहिले पनि जारी छ, धेरै कर्मचारीले निकै सजिलो र रचनात्मक भनेर प्रतिक्रिया दिएको यो व्यवस्थालाई पनि माथ खुवाइने गरी विभिन्न मुलुकले घुम्दै काम गर्न मिल्ने नयाँ व्यवस्था सहितको भिसा सुरु गरेका छन्।

अस्ट्रेलियाली र अन्य विदेशी मूलका मानिसका लागि घुमन्ते डिजिटल भिसाको व्यवस्था गरेको इन्डोनेसियाले, बालिका समुन्द्री किनारको आनन्द लिँदै काम गर्न दिने व्यवस्था मिलाएको छ।

यस्ता भिसा प्राप्त गर्ने विदेशी नागरीकले अब मुलुक भित्र रहेका विभिन्न विदेशी कम्पनीका लागि घुम्दै काम गर्न सक्नेछन्।

इन्डोनेसिया मात्र यस्तो घुमन्ते भिसा जारी गर्ने एक मात्र मुलुक भने होइन। दर्जनौँ यस्ता मुलुकहरू छन् जसले काम गर्ने तरिकामा नयाँ आयाम ल्याएका छन्।

हामीले यहाँ डिजिटल घुमन्ते भिसा लागु गरेका केही देशहरूका बारेमा चर्चा गदै छौ।

digital-nomad-visas.jfif

कुन देशमा यस्ता भिसा उपलब्ध छन् त?

पछिल्लो महिना इन्डोनेसियाले आफ्नो देशमा पर्यटक भिसा बी२११ए अन्तर्गत भित्रने विदेशी नागरिकका लागि इन्डोनेसियामा रहेका विदेशी कम्पनीमा काम गर्न मिल्ने अधिकार दिएको छ।

त्यो पनि तलबमा ट्याक्स नलाग्ने गरी।

सुरुको ६० दिनको भिसालाई ६ महिनासम्म थप्न मिल्ने प्रावधान पनि कम्पनीले ल्याएको छ।

सिड्नीमा रहेको इन्डोनेसियाको कन्सुलर जनरल कार्यालयका अध्यागमन अधिकृत एगज अब्दुल मजिदले यो व्यवस्था लागु भइसकेको एबीएससँगको कुराकानीका दौरान पुष्टि गरेका छन्।

उनका अनुसार इन्डोनेसियाले निकट भविष्यमा अर्को एक प्रकारको घुमन्ते भिसाको पनि व्यवस्था मिलाउँदै छ, जसलाई 'इन्डोनेसिया सेकेन्ड होम भिसा'को नामकरण गरिएको छ।

उक्त प्रावधान अन्तर्गत इन्डोनेसियालाई दोस्रो घरका रूपमा लिई विदेशी पर्यटकले सात वर्ष घुमी घुमी कार्यालय बाहिरैबाट काम गर्न सक्नेछन्।

इन्डोनेसियाको यो कदम पछिल्लो समय अन्य मुलुकले गर्दै आएको बदलावलाई पछ्याउँदै आएको हो।

पछिल्लो समय ग्रिस, क्रोएसिया, ब्राजिल, पानामा, श्रीलङ्का र संयुक्त अरब इमिरेट्स लगायतले नाम फरक दिएर यस्तै सुविधा सहितका भिसाको व्यवस्था गरेका छन्।

माइग्रेसन पोलिसि इन्स्टीच्यूटका अनुसार पहीलोपटक सन् २०१९ मा इस्टोनियाले डिजिटल घुमन्ते भिसा ल्याएको हो।

र यसपछि भने युरोप, अफ्रिका, एसिया, ल्याटिन अमेरिका र केही क्यारेबीयन मुलुक गरी २५ वटा राष्ट्रले यस्ता भिसाको व्यवस्था गरेका छन्।

Croatia is welcoming back tourists
Croatia is welcoming back tourists Source: Getty / Getty Images

के यस्ता भिसा प्राप्त गर्न जागिर पाइसकेको हुनुपर्छ?

यस्तो भिसाको व्यवस्था गरेका धेरै जस्तो मुलुकले विदेशी पर्यटकका लागि मल्टीनेशनल वा विदेशी लगानीमा रहेका कम्पनीहरूमा मात्र जागिर गर्न सक्ने व्यवस्था गरेका छन्।

तर इस्टोनियाले भने स्थानीय कम्पनीहरूमा पनि जागिर खान मिल्ने व्यवस्था गरेको छ, तर यस्ता कम्पनीमा जागिर गर्दा काम भने टाढाबाट अर्थात् कम्पनीमा नआईकन गर्नु पर्ने नियम छ।

यसै गरी अधिंकास देशहरूले भिसा दिँदा आम्दानीलाई पनि मुख्य मापदण्ड बनाएका छन्।

जस्तै कि ग्रिसमा यस्तो भिसा प्राप्त गर्नका लागि कम्तीमा पनि ३,५०० युरो अर्थात् करिब ५,२०० अस्ट्रेलियन डलर प्रति महिना कमाएकै हुनु पर्छ।

त्यसो भए कसले भिसा आवेदन दिन सक्छन् त?

माइग्रेसन पोलिसि इन्स्टीच्यूटको रिपोर्ट अनुसार विदेशी कम्पनीका लागि काम गर्ने विदेशी नागरिकलाई यस्तो भिसा दिने गरिन्छ।

केहीले भने स्वरोजगार, विद्यार्थी र फ्रिल्यान्सीङ्ग गर्नेका लागि पनि भिसा उपलब्ध गराउँछन्।

यद्यपि केही अपवादहरू पनि छन् जस्तै कि अरुबा कार्यक्रम अन्तर्गत अमेरिकी नागरिकले मात्र यस्तो भिसा हाल्न पाउँछन् भने काबो भर्देज कार्यक्रम अन्तर्गत प्रोचुगी भाषा बोल्ने वा पश्चिम अफ्रिकी मुलुक, युरोप र उत्तर अमेरिकी देशका नागरीकले मात्र यसका लागि आवेदन हाल्न सक्छन्।

थाहा पाउनु पर्ने अन्य कुरा के छन् त?

कतिपय मुलुकले मानिसहरूलाई आकर्षित गर्न विभिन्न योजना पनि अघि सारेका छन्।

उदाहरणका लागि क्रोएसीयाको जादारमा कार्यालय बाहिर बसेका काम गर्ने कामदारका लागि वासस्थानको व्यवस्था सहित काम गर्ने स्थान पनि उपलब्ध गराउने बताएको छ।

पोर्चुगल आइल्याण्डको एक स्टार्ट अप कम्पनीले पनि काम गर्ने स्थानको व्यवस्था गरिदिने देखि लिएर, भ्रमण, बस्ने स्थानका विकल्पहरू र अन्य सामाजिक गतिविधिका बारेमा जानकारी उपलब्ध गराएको छ।

माइग्रेसन पोलिसि इन्स्टीच्यूटका अनुसार महामारीका कारण अर्थतन्त्रमा परेको असरबाट बाहिर निस्कनका लागि यी मुलुकहरूले यस्ता योजना अघि सारेका हुन्।

कतिपय मुलुकका साना सहर र ग्रामीण भेगहरूले विदेशी कामदार भित्राएर स्थानीय स्तरमा अर्थतन्त्र उकास्ने कोसिस गरेका छन्।

के सोचे जस्तै छ त?

कामदारहरूका लागि चाहीने समाजीक सुरक्षा र कर सम्बन्धी व्यवस्था लागु हुन्छन् कि हुदैनन भन्ने कुराका बारेमा अझै पनि अन्यौलता रहेको माइग्रेसन पोलिसि इन्स्टीच्यूटले बताएको छ।

महामारीका कारण काम गर्ने तरिका बद्लिदा कतिपय मुलुकले आफ्ना अध्यागमन सम्बन्धी नियमहरू केही खुकुलो पारेका छन्।

"कामका सम्बन्धमा लचकता अपनाएका कम्पनीहरू आफ्ना अन्य प्रतिस्पर्धी भन्दा अगाडी बढ्ने सम्भावना हुन्छ, कर्मचारी आकर्षित गर्न प्रयोग हुने पुराना तरिका भन्दा यो फरक पनि छ,” रिर्पोटमा भनिएको छ।

"योसँगै काम गर्ने तरिकामा लचकता अपनाएका कम्पनीहरूले आवश्यकता अनुसारका दक्ष कामदारलाई आकर्षित गर्न पनि अगाडी हुनेछन्, यो सँगै जनसङ्ख्याको वृद्धिमा पनि यसले सकारात्मक भूमिका खेल्नेछ।”

तर महामारी अन्त्य भई नसकेकाले विभिन्न देशहरूमा यसको प्रभाव कायमै छ र यसको कारण भिसा नियम जुनसुकै बेला परिवर्तन हुन सक्छन्।

जर्जियाले हालै आफ्नो 'रिमोट्ली फ्रम जर्जिया' कार्यक्रम बन्द गरेको छ।

"जर्जियामा अन्तर्राष्ट्रिय आगमनको नियमहरू कोभिड पहिलेकै अवस्थामा पुगेको छ, अब अस्ट्रेलिया लगायतका विदेशी मुलुकका नागरिक बिना भिसा एक वर्षसम्म यहाँ बस्न सक्नेछन्,” क्यानबेरा स्थित जर्जियन एम्बेसीका अधिकारीले एसबीएस समाचारलाई बताए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now