ऊर्जाको बढ्दो मूल्य र जाडो याम एउटै समयमा पर्दा अस्ट्रेलियालीहरूलाई हिटरको प्रयोग गर्ने कि नगर्ने भन्ने दुबिधा पर्न सक्छ।
युक्रेनमा भएको युद्धका कारण कोइला र ग्यासको मूल्य विश्वव्यापी रूपमा उकालो लाग्दै छ। त्यस्तै, न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा खराब मौसमले गर्दा ऊर्जाको माग बढ्दो छ।
के-कस्ता उर्जा सहयोग भुक्तानी उपलब्ध छन् र त्यसलाई कसरी प्राप्त गर्ने?
सङ्घीय सहयोग
अपाङ्गता सहायता पेन्सन पाउने गरेका र आफूमाथि कुनै बालबालिकाको जिम्मेवारी नभएका २१ वर्षभन्दा कम उमेरका मानिसहरूले युटिलिटीज भत्ता (Utilities Allowance) पाउने छन्।
यस त्रैमासिक भुक्तानी प्राप्त गर्ने व्यक्तिको आय या सम्पत्तिको परीक्षण गरिँदैन। पार्टनर नभएका व्यक्तिले प्रत्येक तीन महिनाको समयमा १७०.३० अस्ट्रेलियाली डलर पाउने छन् भने पार्टनर भएका व्यक्तिहरूमा प्रत्येकले ८५.१५ डलर पाउने छन्।
त्यस्तै, सेन्टरलिङ्क भुक्तानी पाउनेहरूले आफ्नो एनर्जी अस्ट्रेलिया बिलबाट नियमित रकम तिर्ने व्यवस्था पनि गर्न सक्छन्। सेन्टरलिङ्कको नि:शुल्क सेवा सेन्टरपे (Centrepay)ले तपाईँको लागि यसको व्यवस्था गर्न सक्छ।
न्यु साउथ वेल्स
आफ्नो उर्जा बिल तिर्नलाई छोटो समयका लागि गाह्रो हुने परिवारहरूका लागि उपलब्ध सहयोग बढाइएको छ।
उपभोक्ताहरूले उक्त आर्थिक सहयोग एनर्जी अकाउन्ट्स पेमेन्ट असिस्टेन्स (ईएपीए) मार्फत पाउने छन्।
योग्य उपभोक्ताहरूले बिजुलीको लागि प्रति आवेदन ४०० डलर, र ग्यासको लागि प्रति आवेदन ४०० डलर प्राप्त गर्न सक्छन्। यो रकम एक वर्षमा दुई पटक दाबी गर्न मिल्छ।
ईएपीए भाउचरहरू तपाईँको उर्जा विक्रेतालाई इलेक्ट्रोनिक रूपमा पठाइन्छ।
ती भाउचरको लागि आवेदन पेस गर्न एक न्यु साउथ वेल्स सरकारी प्रतिनिधि या गैर-सरकारी ईएपीए प्रदायकद्वारा आफ्नो योग्यता मूल्याङ्कन गर्नु पर्छ।
योग्य परिवारहरूले अन्य छुट (रिबेट)को लागि पनि आवेदन दिन सक्छन् - जस्तै, लो इन्कम हाउसहोल्ड रिबेट, ग्यास रिबेट, फ्यामिली एनर्जी रिबेट, लाइफ सपोर्ट रिबेट, मेडिकल एनर्जी रिबेट र सिनियर्स एनर्जी रिबेट।
तपाईँले आफू कुन भुक्तानीको योग्य छु भनी सर्भिस न्यु साउथ वेल्स सेभिङ्ग्स फाइन्डर मार्फत थाहा पाउन सक्नु हुन्छ।

क्वीन्सल्यान्ड
देशभरका राज्यहरू मध्य क्वीन्सल्यान्डमा ऊर्जाको अधिकतम मूल्य वृद्धि हुने अनुमान छ।
राज्यकी प्रिमियर एनेस्टेसिया पलाशेको अनुसार प्रत्येक परिवारले आउँदो बिजुलीको बिलमा १७५ डलर छुट (कस्ट अफ लिभिङ रिबेट) पाउने छन्।
उक्त छुट बिजुली प्रदायकहरू आउँदो बिलमा समावेश गर्ने छन् - क्वीन्सल्यान्डरहरूले यसको लागि कुनै आवेदन दिनु पर्दैन।
छोटो समयका आर्थिक कठिनाइ भोगिरहेका व्यक्तिहरूलाई सहयोगका अन्य विकल्प पनि छन्।
कुनै आपतकालीन अवस्था या छोटो समय अवधिको आर्थिक सङ्कटका उर्जा बिल नसक्ने परिवारका लागि होम एनर्जी असिसटेन्स योजना उपलब्ध छ।
यस योजना अनुसार प्रत्येक दुई वर्षमा एक पटक ७२० डलर दिइने छ। यस प्रक्रियाका लागि बासिन्दाहरूले आफ्नो उर्जा प्रदायकलाई सम्पर्क गर्नु पर्छ - थप जानकारी यहाँ उपलब्ध छ।
त्यस्तै, पेन्सन प्रयोगकर्ता तथा वृद्धहरू प्रति वर्ष ३४०.८५ डलरको एलेक्ट्रिसिटी सहुलियत र प्रति वर्ष ७६.१९ डलर बराबरको रेटीक्युलेटेड न्याचुरल ग्यास सहुलियतका लागि योग्य हुन सक्छन्। यसको लागि आफ्नो ग्यास या बिजुली प्रदायकलाई सम्पर्क गर्नु पर्छ - थप जानकारी यहाँ उपलब्ध छ।
भिक्टोरिया
जुलाई १ तारिखदेखि हरेक भिक्टोरियाली परिवारले पावर सेभिङ बोनस भुक्तानी स्वरूप एक पटक दिइने २५० डलर प्राप्त गर्ने छन्। उक्त भुक्तानी पाउनको लागि एनर्जी कम्पेयर वेबसाइटमा दर्ता गर्नु पर्दछ।
एनर्जी कम्पेयरको वेबसाइट मार्फत हाल प्रदान गरिएको २५० डलर पावर सेभिङ बोनस ३० जुन २०२२ सम्म जारी हुने छ।
कुनै अप्रत्याशित अवस्थाका कारण छोटो समयको आर्थिक सङ्कट भोगेर समयमा उर्जा या पानीको बिल तिर्न नसकेका भिक्टोरियालीहरूले युटिलिटी रिलीफ अनुदान पाउने छन्।
बिजुली, ग्यास या पानी - प्रत्येकको लागि हरेक दुई-वर्षे अवधिमा अधिकतम ६५० डलर प्रदान गरिने छ। ऊर्जाको एकल श्रोत भएका घरहरूले १,३०० डलर पाउने छन्।
यसको लागि भिक्टोरियालीले आफ्नो बिजुली, ग्यास या पानीको विक्रेतालाई एक आवेदन मार्फत अनुरोध गर्नु पर्दछ।
सहुलियत कार्ड (कन्सेसन कार्ड) प्रयोगकर्ताहरूले आफ्नो बिजुली प्रदायकबाट वार्षिक रूपमा बिजुली खपत र सेवा शुल्कमा १७.५% छुट पाउन सक्छन्। यो वार्षिक बिलको पहिलो १७१.६० डलरमा भने लागु हुने छैन।
सहुलियत कार्ड प्रयोगकर्ताहरूले जाडो महिनामा ग्यासमा पनि छुट पाउन सक्छन्।
साउथ अस्ट्रेलिया
न्यून या निश्चित आय भएका परिवारहरूले बिजुली र ग्यास दुवैमा वार्षिक २३३.६० डलरको छुट पाउन सक्छन्।
त्यस्तै, सोही आर्थिक समूहलाई काउन्सिल दर, उर्जा या चिकित्सा बिलजस्ता दैनिक खर्चमा मद्दत गर्न छुट्टै कस्ट अफ लिभिङ सहुलियतको व्यवस्था छ।
पहिला नै यो सेवा प्रयोग गरिरहेका मानिसहरूले फेरी आवेदन दिनु पर्दैन। आफ्नो घर भएका परिवारले ४४९ डलर पाउने छन् र भाडामा बस्नेहरूले २२४.६० डलर पाउने छन्।

वेस्टर्न अस्ट्रेलिया
सबै वेस्टर्न अस्ट्रेलियाली परिवारहरूले सन् २०२२-२३ मा ४०० डलरको हाउसहोल्ड बिजुली क्रेडिट पाउने छन्।
त्यस्तै, आर्थिक कठिनाइ भोगिरहेका बासिन्दाहरूले हार्ड्शिप युटिलिटी ग्रान्ट योजना (HUGS) अन्तर्गत सहयोग पाउन सक्छन्। यसको लागि आफ्नो उर्जा प्रदायकलाई सम्पर्क गर्नु पर्छ।
टास्मेनिया
टास्मेनिया सरकारको वार्षिक बिजुली छुट अन्तर्गत योग्य उपभोक्ताहरूले दैनिक छुट पाउन सक्छन्।
यसका लागि योग्य हुनलाई टास्मेनियालीहरूसँग सर्भिसेस अस्ट्रेलिया या डीभीए पेन्सनर कन्सेसन कार्ड, सर्भिसेस अस्ट्रेलिया हेल्थ केयर कार्ड, या इमीकार्ड (ब्रिजिङ भिसा ई) हुनु पर्छ। यस वार्षिक बिजुली सहुलियतको लागि योग्य उपभोक्ताहरूले आफ्नो बिजुली खुद्रा विक्रेतालाई सम्पर्क गर्न, या एक फारम भर्नु पर्छ।
योग्य पेन्सन प्रयोगकर्ताहरूले पनि प्रति वर्ष ५६ डलर बराबरको हिटिङ अलावेन्स पाउन सक्छन्। मे १५ तारिख र सेप्टेम्बर १५ तारिखमा गरी दुई पटक २८ डलर दिइने छ।
यसका लागि योग्य मानिसहरूले प्रत्येक वर्ष पुनः आवेदन दिनु पर्दैन। सर्भिसेस अस्ट्रेलिया या डीभीए पेन्सनर कन्सेसन कार्ड भएका मानिसहरू यसका लागि योग्य छन्।
नर्दन टेरिटरी
नर्दन टेरिटरी कन्सेसन स्किमका सदस्यहरूले बिजुलीको शुल्कका प्रति दिन १.२७४ डलरको छुटका साथै प्रति किलोवाटमा ०.०९१ डलरको छुट पाउन सक्छन्।
यी योग्य उपभोक्ताहरूले प्रत्येक परिवारका, केवल एक सदस्यले हरेक आर्थिक वर्षमा अधिकतम १,२०० डलर छुट पाउने छन्।
यस छुट का लागि आफू छु कि छैन भनी थाहा पाउन र आवेदन दिन नर्दन टेरिटरी सरकारको वेबसाइटमा हेर्न सक्नु हुन्छ।
अस्ट्रेलियन क्यापिटल टेरिटरी
सहुलियत कार्ड भएका बासिन्दाहरूले प्राकृतिक ग्यास, बिजुली, ग्यास र ढल निकासको शुल्कमा छुटका लागि युटिलिटी कन्सेसन पाउन सक्छन्।
बिलमा घटाइनुको साटो यस वार्षिक ७५० डलरको छुटको रकम परिवारहरूलाई दिइने छ।
यसको लागि आवेदन दिन तपाईँले आफ्नो उर्जा प्रदायकलाई सम्पर्क गर्नु पर्दछ।
थप जानकारी र उर्जा प्रदायक र तिनका सम्पर्क विवरणको सूचीका लागि यहाँ हेर्नुहोस्।
यस बाहेक पनि आफ्नो बिल तिर्न नसके के गर्ने ?
यदि तपाईँ आफ्नो बिल तिर्न नसक्ने अवस्थामा हुनु हुन्छ भने आफ्नो सेवा प्रदायक (सर्भिस प्रोभाइडर)लाई तुरुन्त सम्पर्क गर्नुहोस्।
उनीहरूले तपाईँको अवस्था हेरी अन्य विकल्पहरू प्रदान गर्न सक्छन्।
यदि तपाईँले आफ्नो प्रदायकलाई सम्पर्क नगरेमा, तपाईँको सेवा निलम्बन हुन सक्छ, र तपाईँको क्रेडिट स्कोरमा हानि हुन सक्छ।
