र्वाचन नजिक रहेको समयमा ट्रेजरर जश फ्राईडनबर्गले प्रस्तुत गरेको बजेटमा २५० डलर भुक्तानी र करिब ६० लाख जनाको लागि पेट्रोलको मूल्यमा अस्थायी सहयोग जस्ता विभिन्न पक्षहरू छन्।
यस बजेटले कसलाई नाफा हुन्छ र कसलाई घाटा हुन्छ त?
कामदार र काम खोजिरहेकाहरू
ट्रेजरर फ्राईडनबर्गले अस्ट्रेलियाको बेरोजगारी दरको जानकारी दिँदै मङ्गलबार राति बजेटको घोषणा सुरु गरेका थिए।
बेरोजगार दर हाल चार प्रतिशत छ, जुन “४८ वर्षको अवधिमा सबैभन्दा कम” हो। यो सेप्टेम्बर महिनासम्म ३.७५ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।
कामदार र काम खोजिरहेकाहरूको लागि वर्तमान अवस्था सकारात्मक रहेको छ।

ज्याला वृद्धि पनि “एक दशकको अवधिमा सबैभन्दा छिटो बढेको” बताइएको छ।
सन् २०२१-२२ मा २.७५ प्रतिशत रहेको ज्याला मूल्य सूचकाङ्क सन् २०२२-२३ मा बढेर ३.२५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
यसको अर्थ, बजेटको कागजातमा उल्लेख गरिए अनुसार -
कामदारहरूले अहिलेको श्रम बजारको फाइदा उठाउँदै गर्दा, प्रति घण्टा कमाउने औसत आम्दानी, सन् २०२२ को जुन महिनासम्म पाँच प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ।
रक्षा
रक्षा र राष्ट्रिय सुरक्षा सन् २०२२-२३ को बजेटको एक प्रमुख पाटो हो। सन् २०२१-२२ को तुलनामा २०२२-२३ मा अस्ट्रेलियाले रक्षा क्षेत्रमा बढी खर्च गर्दै छ।
सरकारको अनुसार हाल “विश्व रणनीतिक प्रतिस्पर्धामा बढ्दै गएको समयमा”, नियममा आधारित अन्तराष्ट्रिय व्यवस्था “जोखिममा” परेको छ।
“विशेष गरी चीनको बढ्दो दृढताका साथ, हामीले यो हाम्रो क्षेत्रमा र विश्वव्यापी रूपमा देखिरहेका छौँ,” सरकारको भनाइ थियो।

यसपालिको बजेटमा अस्ट्रेलियाको साइबर क्षमताको विकासका लागि ९ अर्ब ९० करोड डलर समावेश गर्दै, यस रक्षा योजनालाई “रेड स्पाइस” नाम दिइएको छ।
यो वर्ष रक्षामा ४८ अर्ब डलर खर्च गरिँदै छ, जुन कुल ग्राह्यस्थ उत्पादन (जीडीपी)को २.२ प्रतिशत बराबर हो। गत वर्ष यस क्षेत्रमा ४४ अर्ब ६२ करोड डलर (जीडीपीको २.१ प्रतिशत) खर्चिएको थियो।
अफगानी शरणार्थी
सरकारले अफगानी शरणार्थीहरू सन् २०२२-२३ देखि चार वर्षसम्म थप १६,५०० मानवीय भिसा प्रदान गर्न भएको छ।
हरेक वर्ष अस्ट्रेलियाको मानवीय भिसा कार्यक्रममा विश्वव्यापी रूपमा १३,७५० कोटाहरू हुन्छन्।
अफगानिस्तानमा तालिबानको सत्ता फिर्ता आए पछि अस्ट्रेलियालाई नयाँ घर बनाउन चाहनेहरूका लागि अस्ट्रेलियाले थप भिसाहरू प्रदान गर्ने घोषणा गरेको हो।
न्यून र मध्यम आय भएका व्यक्तिहरू
सरकारले “महामारी, युक्रेनमा भएको लडाइ र खराब मौसमका कारण” दैनिक खर्चमा समस्या भएका अस्ट्रेलियाली घरपरिवार र व्यवसायहरूलाई “अस्थायी र लक्षित” सहयोग गर्ने बताएको छ।

यस अन्तर्गत न्यून र मध्यम आय भएका एक करोडभन्दा बढी मानिसहरूले दैनिक खर्चको कर छुटमा ४२० डलर पाउने छन्।
यो सन् २०२२ को जुलाई एक तारिखदेखि सुरु हुन्छ, जब तपाईँले आफ्नो २०२१-२२ ट्याक्स रिटर्न गर्न सक्नु हुन्छ।
एक पटक मात्र पाइने यस रकमले कर रसिदहरू ४ अर्ब १० करोडले घटाउने अनुमान गरिएको छ।
पेन्सन प्रयोग गर्ने र सहुलियत कार्ड भएका व्यक्तिहरू
अस्ट्रेलियामा पेन्सन प्रयोग गर्ने, कल्याणकारी सहयोग पाउने, दिग्गज र सहुलियत कार्ड (कन्सेसन कार्ड) प्रयोग गर्ने योग्य व्यक्तिहरूले दैनिक खर्चको लागि २५० डलर पाउने छन्।
एक पटक प्राप्त गर्न मिल्ने यो रकम करिब ६० लाख जनालाई दिइनेछ, र यसबाट मुख्य गरी पेन्सन प्रयोग गर्ने व्यक्तिहरू लाभान्वित हुने छन्। यसको लागि सरकारले १ अर्ब ५० करोड डलर खर्च गर्दै छ।
अर्थतन्त्र
यस बजेटको अनुसार यस वर्ष र आउँदा सालमा आर्थिक प्रगतिको अनुमान गरिएको छ। यसको कारण “श्रम क्षत्र र उपभोक्ता खर्चमा सोचेकोभन्दा बढी भएको वृद्धि” रहेको बताइएको छ।
सन् २०२१-२२ को अवधिमा वास्तविक कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) ४.२५ प्रतिशतले बढ्दै, सन् २०२२-२३ मा ३.२५ प्रतिशतले बढ्ने अनुमान रहेको छ।
त्यस्तै, उकालो लाग्दै यो दर २०२३-२४, २०२४-२५ र २०२५-२६ मा २.५ प्रतिशतले बढ्ने अनुमान छ।
सवारी चालकहरू
इन्धनको मूल्य बढेर प्रति लिटर दुई डलर पुग्दा, चालकहरूले केही राहत पाउने भएका छन्।

सरकारले बुधबार ३० मार्चको मध्यरातदेखि पेट्रोल र डिजेलमा लाग्ने अन्त:शुल्क करलाई (एक्साइज ट्याक्स) ६ महिनाको लागि आधा घटाउने भएको छ।
यसको मतलब चालकहरूले इन्धन खरिद गर्दा प्रति लिटर २२ सेन्ट बचाउन पाउने छन्। ३ अर्ब डलरको यो योजनाले एउटा गाडी भएका एक परिवारलाई औसतमा ३०० डलरको नाफा हुने सरकारको भनाइ छ।
साना व्यवसायहरू
कामदारको अभावसँग सङ्घर्ष गरिरहेका साना व्यवसायहरूले १०,००० दक्ष प्रवासी स्थानहरूको वृद्धिबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।
सन् २०२२-२३ को आर्थिक वर्षमा सम्भावित ब्याकप्याकरहरूका लागि थप ११,००० ठाउँहरू पनि छन्।
क्षत्रिय अस्ट्रेलिया
सरकारले “अस्ट्रेलियाको उत्पादन र विकासमा वृद्धिका लागि पूर्वाधार निर्माण गर्न” ७ अर्ब १० करोड डलर प्रदान गर्ने बताएको छ।
यस रकमलाई सरकारले “राष्ट्रिय समृद्धि” माथि ध्यान केन्द्रित गर्दै यी चार वटा स्थानमा प्रयोग गर्ने बताएको छ:
नर्दन टेरिटरीको निर्यातलाई डार्विन हुँदै एसिया पुराउनका लागि २ अर्ब १० करोड डलर। ग्रेटर डार्विन क्षत्रको पानी सुरक्षा सुधारका लागि सरकारको आठ अर्ब ९० करोड बराबर नेशनल वाटर ग्रिड फन्डबाट थप करिब ३० करोड डलर प्रयोग बताइएको छ।
उत्तरी र मध्य क्वीन्सल्यान्डको पानी सम्बन्धी पूर्वाधार र आपूर्ति परियोजनाहरूका एक अर्ब ७० करोड डलर। पिल्बारा क्षत्रमा कम उत्सर्जन हुने उत्पादनलाई बढाउन एक अर्ब ५० करोड डलर प्रदान गरिने बताइएको छ।
हन्टर क्षेत्रमा आपूर्ति र निर्यातलाई सुधार्ने उद्देश्यका साथ यातायात र बन्दरगाह पूर्वाधार परियोजनाका लागि ७५ करोड डलर प्रदान गरिने बताइएको छ।
घर भाडा र आवास बजार
अस्ट्रेलियाका थुप्रै ठाउँमा अहिले घर भाडाहरू बढिरहेका छन् र सरकारले यस क्षत्रमा लाखौँ डलर खर्चिरहेको छ।

तर अर्थशास्त्री ग्याब्रिएला डि’सूजा भन्छिन् कि, मानिसहरूको घर किन्ने सपना साकार गर्न यी सरकारी योजनाहरूले गर्दैनन्।
“जब प्रमुख सहरहरूमा घरको औसत मूल्य १० लाख भन्दा बढी छन्, यी योजनाहरूले खासै केही गर्दैनन्,” उनले भनिन्।
वातावरण
पछिल्ला केही वर्षमा आगलागीदेखि बाढीसम्म, अस्ट्रेलियाले थुप्रै प्राकृतिक प्रकोपको सामना गर्नु परेको छ। तर बजेटको कागजातमा भने “जलवायु परिवर्तन” केवल एक पटक उल्लेख गरिएको छ।
“अस्ट्रेलिया सन् २०५० सम्म शून्य उत्सर्जन गर्ने मार्गमा छ, र विश्वव्यापी जलवायु परिवर्तनको सन्दर्भमा आफ्नो भूमिका निभाउँदै छ। त्यस लक्षमा हामीलाई करले होइन, प्रविधिले पुराउँछ,” ट्रेजरर फ्राईडनबर्गले मङ्गलबार बताए।

कला
कोभिड-१९ महामारीका कारण घाटामा गएका क्षत्रहरू मध्य कला पनि पर्दछ। तर यसपालिको बजेटमा यस क्षत्रको लागि धेरै सहयोग देखिएको छैन, र आउँदा सालमा खर्च झनै घटाउने बताइएको छ।
सन् २०२२-२३ को बजेटले कला क्षत्रलाई ७९ करोड ९० लाख डलर प्रदान गर्ने भनेको छ। गत वर्ष २०२१-२२ मा यो रकम ९८ करोडभन्दा बढी थियो, र अर्को वर्ष सन् २०२३-२४ मा यसलाई ७३ करोड ६० लाखमा घटाउने बताइएको छ।
