उक्त योजना विशेष गरी अन्तर्राष्ट्रिय सीमा बन्दीका कारण प्रभावित क्षेत्रहरूको लागि रहेको प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार एक विज्ञप्ति मार्फत बताएका हुन्।
ती क्षेत्रहरूमा पर्यटकको सङ्ख्या बढाउन टुरिजम अस्ट्रेलियालाई ४ करोड ५० लाख प्रदान गर्ने बताइएको छ।
त्यस्तै, उक्त संस्थाले विभिन्न व्यवसाय, विमान कम्पनी र मिडियासँग सहकार्य गर्नका लागि २ करोड ५० लाख डलर छुट्टाइएको छ।
"मैले पर्यटन उद्योगलाई आवश्यक पर्ने कुराहरूको बारेमा जानकारी लिएको छु। यो योजनाको उद्देश्य मानिसहरूलाई विमानमा चढेर अस्ट्रेलिया ल्याउने, र यहाँका व्यवसायलाई मद्दत पुराउने हो," मन्त्री मोरिसनले भने।
हाम्रा अन्तर्राष्ट्रिय यात्रुहरूको पुनः आगमनले थुप्रै रोजगार अवसर बनाउँछ र देशको आर्थिक अवस्थालाई मद्दत गर्ने छ।
यससँगै क्वीन्सल्यान्डको ग्रेट ब्यारियर रीफको प्रवर्द्धनका लागि १ करोड ५० लाख डलर प्रदान गरिने छ।
बाँकी रकम अन्तर्राष्ट्रिय बजारमा पर्यटकहरूको ध्यानाकर्षण गर्ने किसिमका विज्ञापन र कार्यक्रमहरू आयोजना गर्न प्रयोग गरिने बताइएको छ।

यस थप आर्थिक सहयोगले अस्ट्रेलियाको पर्यटन क्षेत्रको सुधारमा ठूलो मद्दत गर्ने व्यापार, पर्यटन तथा लगानी मन्त्री डान टेहानले बताए।
“यो अभियान एउटा लामो योजनाको सुरुवात मात्र हो,” उनले बताए।
सन् २०३० सम्म अर्थतन्त्रमा पर्यटकहरूको मूल्य २ खरब ३० अरब डलरसम्म पुराउने हाम्रो लक्ष्य हो।
अस्ट्रेलिया सरकारले सन् २०२० को मार्च महिनादेखि पर्यटक र आतिथ्य क्षेत्रलाई जबकीपर, क्याश फ्लो बुस्ट लगायत विभिन्न योजनाहरूबाट २० अर्ब डलर बराबरको मद्दत गरेको छ।
अबको यो नयाँ थप लगानीले अस्ट्रेलियालाई अन्तर्राष्ट्रिय पर्यटकहरूको पहिलो विकल्प बनाउन मद्दत गर्ने मन्त्री मोरिसनले बताए।
