युक्रेन र रुसबिचको युद्ध
सन् २०२२ को फेब्रुअरीबाट सुरु भएको युक्रेन-रुस द्वन्द्वले वर्ष भरि नै निरन्तरता पाइरह्यो।
जलविद्युतका लागि बनाइएको निप्रोन नदीको एक ड्याम बमबारीमा भत्कँदा हजारौँ युक्रेनी बाढीको प्रभावमा परे। यस घटनामा युक्रेन र रुसले एक अर्कालाई दोष दिएका छन्।
यसैबिच युक्रेनमा रुसी सेनाका लागि काम गरिरहेको वाग्नर समूह अन्तर्गत भाडामा लिइएको सेनाले मस्को विरुद्ध विद्रोह गर्यो।
यद्यपि बेलारुसका राष्ट्रपतिको मध्यस्थतामा समस्या समाधान भए पनि, वाग्नर ग्रुपका प्रमुख युभगेने प्रिगोजनले घटनाको दुई महिना पश्चात् निकै रहस्यमय तरिकाले विमान दुर्घटनामा ज्यान गुमाए।
युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले घटनामा आफ्नो संलग्नतालाई नकार्दै, यसमा को दोषी छ त्यो स्पष्ट रहेको बताए।

चर्चामा डोनाल्ड ट्रम्प
अमेरिकातिर पनि राजनीतिक द्वन्द्व चर्की नै रह्यो।
आगामी कार्यकालका लागि राष्ट्रपति बन्ने मनोकाङ्क्षा बोकेर हिँडेका डोनाल्ड ट्रम्प पनि विभिन्न कारणले चर्चामा रहे।
आर्थिक कारोबारका कागजपत्र विवाददेखि, राष्ट्रपति निर्वाचनको नतिजा प्रभावित पार्न खोजेको सम्मका आरोपमा उनले मुद्दा खेपी रहे।
उनले वर्तमान राष्ट्रपति जो बाइडेनको मात्र नभएर आफ्नै पार्टीका सदस्यको पनि आलोचना गर्न भ्याए।
उनको कार्यकालमा उपराष्ट्रपति बनेका माइक पेन्सले ट्रम्पले संविधान भन्दा पहिले आफूलाई छान्न आग्रह गरेको आरोप समेत लगाए।
यसैबिच रिपब्लिकन पार्टीले प्रतिनिधिसभाका लागि सभामुखको नियुक्ति गर्नका लागि पनि सङ्घर्ष गर्नु पर्यो।
सभामुख छान्नका लागि भएका केही चुनाव पछि हाल माइक जोन्सन सभामुख बनेका छन्।

बेलायतमा ऋषि सुनकलाई सकस
उता बेलायती प्रधानमन्त्री ऋषि सुनकले पनि महँगाइ, स्वास्थ्य, विद्यालय संरचना र आप्रवासीहरूका विभिन्न समस्यासँग जुध्नु पर्यो ।
शरणको माग गरिरहेका आप्रवासीलाई रुवान्डा पठाउने योजना बनाएको भए पनि रुवान्डा असुरक्षित रहेको अदालती फैसला पछि, ऋषि सुनकलाई आफ्नो योजना पुष्टि गर्न सकस परिरहेको छ।
राज्याभिषेकमा खर्चिएको रकममा प्रश्न
बेलायतका बासिन्दा 'कष्ट अफ लिभिङ'का कारण अप्ठेरोमा बाचिरहँदा, चार्ल्स तृतीयाको राज्याभिषेकमा किन त्यति धेरै रकम खर्च गरियो भनेर मानिसहरूले प्रश्न गरे।
चार्ल्स तृतीयाको नयाँ बेलायती राजाका रूपमा वेस्टमिन्स्टर एबीमा राज्याभिषेक भयो।
यद्यपि विपक्षीहरूले करिब २० करोड डलर एउटा म्याद गुज्रिसकेको संस्थाको शानका लागि खर्च गरिएको आरोप लगाए।

बाढी, पहिरो र चक्रवात
बाढी, पहिरो र चक्रवातका कारण यस वर्ष धेरै वटा मुलुकमा समस्या देखियो।
अमेरिकामा एक सय वर्ष यता कै सबैभन्दा ठुलो डँडेलोको कारण २२ सय वटा भवनहरूमा क्षति पुग्यो।
एक सय जनाले ज्यान गुमाए।
यसको कारण जलवायु परिवर्तन भएको अधिकांश मुलुकले स्विकारेता पनि वर्षको अन्त्यमा दुबईमा भएको कोप-२८ बैठकलाई त्यति उपलब्धि मुलुक भने मान्न सकिएन।

इजरेल र हमासबिचको द्वन्द्व
गत अक्टोबर यता भने मध्यपूर्वको एउटा घटनाले विश्वको ध्यान तानिरहेको छ।
इजरेलमा हमासले गरेको आक्रमण पछि, विश्वको ध्यान लगातार यही द्वन्द्वमा परिरहेको छ।
इजरेली सेनाले गाजामा हमास विरुद्धको अपरेसनलाई यथावत् राखेको छ।
अस्पताल, विद्यालय र आवासीय क्षेत्रमा हातहतियार भण्डारण गरेको इजरेलको हमास माथि आरोप छ। जसलाई हमासले इन्कार गर्दै आइरहेको छ।
इजरेली आक्रमणमा परि लाखौँ प्यालेस्टिनीहरू घरबार विहीन बन्न पुगेका छन्।
इजिप्ट र गाजाको रफा क्रसिङमा पुगेका संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिहरूले त्यहाँको परिस्थिति निकै नाजुक रहेको प्रतिक्रिया दिन्छन्।
सन् २०२३ मा विश्वका देखिएका कतिपय घटनाले सन् २०२४ मा पनि निरन्तरता पाउने देखिन्छ।







