देवी कुमारीको प्रेम कथा देखाउने चन्द्रमान मुनिकारद्वारा निर्देशित नाटक

Chandraman Munikar_nepali drama_nepali entertainment_nepali drama director

Source: Supplied

बौद्ध धर्मावलम्बीहरूको ठुलो आस्था रहेकी जीवित देवी कुमारीको जीवनमा आधारित नाटक 'कुमारी' हजारौं वर्ष पुरानो मिथकको कथामा आधारित छ। चन्द्रमान मुनिकारले निर्देशन गरेको सो नाटकमा प्राचीन भेषभुषा, गहना र नृत्यको प्रयोग गरिएको छ।


चन्द्रमान मुनिकार लामो समयदेखि चर्या नृत्यको प्रदर्शन र प्रशिक्षण गर्ने काठमाण्डुको सांस्कृतिक ईतिहासका जानकार पनि हुन्। उनले निर्देशन गरेको नाटक कुमारी पुष महिनामा शिल्पी थिएटरमा प्रदर्शन गरिएको थियो र फेरी चैत्रमा काठमाण्डुका विभिन्न स्थानमा हुँदैछ।

तर नाटकमा काठमाण्डुको परम्परागत चर्या नृत्य मात्रै नभएर ब्याले जस्ता आधुनिक नृत्य शैलीहरु पनि प्रयोग गरिएका छन्।

मुनिकारसँग सेवा भट्टराईले काठमाण्डुका प्राचीन मिथकहरु, आजको समयमा तिनीहरुको सान्दर्भिकता र आधुनिकताको समिश्रणका बारेमा गरेको कुराकानीको अंश:

तपाईंको परिकल्पना र निर्देशनमा कुमारी नामको नाटक भर्खरै प्रदर्शन गरिएको छ र फेरी पनि हुँदैछ। यसको कथा के हो? यसको पृष्ठभूमी के हो? छोटो परिचय दिनोस् न।

Indra Jatra_nepali festival
Source: Narayan Maharjan/NurPhoto via Getty Images

बौद्ध धर्मावलम्बीका अनुसार जीवित देवी हुन् कुमारी। किंवदन्ती वा मिथक। भनिँदै सुनिँदै आएको। हाम्रो देवी नाचहरु लामो समय अघि देखि हुन्थे। गुणकामदेवले अष्टमातृका स्थापित गरिदिए, काठमाण्डु उपत्यकाको रक्षाका लागि।

यो नेपाल मण्डल असाध्य सुन्दर, रमणीय ठाउँ। यहाँ ऋषिमुनि देखि देवतासम्म हुन्थे। त्यो भएपछि दैत्यहरूको पनि यहाँ आँखा हुन्थ्यो।

उनीहरु पनि बेलाबेलामा यहाँ हमला गर्न आउँथे, राज्य स्थापित गर्न खोज्थे। त्यस कारणले अष्टमातृका स्थापित गरियो, जुन खड्ग आकारमा पछि पाइयो। खड्ग आकार भनेको रक्षाको संकेत हो, किनभने यो सबैको रक्षा गर्ने भैरवको प्रतीक हो। 

अष्टमातृकामा कौमारी पनि छन्।

तपाईंको नाटक चाहिँ मल्ल राजाले स्थापित गरेको जीवित देवी कुमारी भन्दा पनि अझ प्राचीन मिथकसँथ सम्बन्धित छ हैन त? त्यो मिथक छोटोमा भनिदिनुहोस् न।

हो, अझ प्राचीन हो। पाँच हजार वर्ष अगाडि यहाँ राज्य स्थापित गर्दाखेरी अष्टमातृका मध्ये एकजना कौमारी छिन्, र चन्द्रासुर भन्ने दैत्य छन्।

चन्द्रासुर आफ्नो दलबदल सहित नेपाल मण्डलमा हमला गर्न आयो। अजिमा, काली र अष्टमातृकाहरु सबैले समेत युद्धमा उसलाई परास्त गर्न सकेनन्।

उसको छलकपट चाहिँ के थियो भने कौमारी चाहिँ अविवाहित, अरू सबै चाहिँ विवाहित। त्यसैले उसँग दोब्बर शक्ति छ। आफुले ग्रहण गर्न पायो भने तीन त्रिलोकमा आफ्नो राज्य स्थापित हुने पक्का छ।

नेपाल मण्डलमा एकदम अशान्ती, अमन चैन खलबल। प्रजाहरुलाई दुःख दिने काम भइरहेको थियो। कौमारी आफ्नो बगैंचा वा मन्दिरमा जाँदाखेरी भेट्ने रहेछ उसलाई। एकले अर्कालाई मन पराइदिएछ। आमा बुवाले छुट्याउन खोज्छ।

"तिमीले असुरसँग विवाह गर्न गयौ भने तिमीबाट जन्मिने सन्तान सबै असुर भएर निस्किन्छ। हामी देवताको पनि अस्तित्व रहन्न, हामी परित्यक्त हुन्छौं। हामीले प्रजा र देशको रक्षा गर्न सकेन भने हामीलाई कसले मान्छ? देवता भएको के अर्थ भयो र? यसलाई हेर्ने कि तिम्रो मन परेको प्रेमीलाई हेर्ने?" भनेर धर्मसंकटमा पार्छन्।

आमा श्वेतकालीले हातमा जाँड पकाएर त्यसको रस निकालेर फकाएर कौमारीलाई खुवाउँछिन् र जे भने पनि मान्ने बनाउँछिन्। श्वेतकाली, श्वेतभैरव, र सबै अष्टमातृकाको शक्ति एउटा वज्रमा निहीत गरेर उसलाई पठाइदिन्छिन्।

living goddess_kumari_nepali festival_ Indra jatra_nepali culture
Masked dancers impersonate God and Goddess performing ritual triditional dance on the first day of Indra Jatra Festival celebrated in Basantapur Durbar Square, Source: Narayan Maharjan/NurPhoto via Getty Images

पहिलाको जस्तै प्रेमालाप हुन्छ। र दैत्य आफ्नो प्रेमिकाको काखमा सुतेको बेलामा छलकपट गरेर उसलाई हान्छ। कुरा गर्दै जाँदा दैत्यले भन्छ "मैले पनि तिमीलाई खासै प्रेम गरेको होइन, छल गरेर तिम्रो शक्ति लिन मात्र खोजेको। तिम्रो र मेरो छल बराबर भयो।"

त्यसपछि उसको भित्रको कर्तुत थाहा भयो कुमारीलाई र झन् क्रोधित हुन्छिन्। "म त निःस्वार्थ भावले प्रेम गर्थें तिमीलाई, तिमीले त छल पो गरेको रहेछौ", भनेर झन् क्रोधित हुन्छिन।

यसलाई संहारै गर्नु पर्ने रहेछ, आमाबुवाले भनेको त ठिकै रहेछ भनेर दुइचोटि हानेर उसलाई समाप्त पारिदिन्छिन्।

यो कथामा आधारित कुमारी नाटकले दिन खोजेको मुख्य सन्देश के हो?

मान्छेहरुमा एउटा अन्धविश्वास छ। जीवित देवी कुमारी उसको समयावधी सकेर निस्किन्छन्, अनि त्यसपछि उसको जीवन सदाकालका लागि कन्या नै भएर बस्नु पर्ने। त्यो त भएन।

उसको प्रेम गर्ने स्वतन्त्रता छ नि, छैन र? त्यसकारण हामीले यो नाटकमा देखाएको नै त्यही हो। कुमारीको जीवन, उसको प्रेमकथा र उसले गर्ने परित्यागहरु। त्यो पनि देश र जनता र आफ्नो आमा बुवा र पुर्खाका लागि। भनेपछि यो सन्देशमूलक भयो।

आधुनिक समयमा यस्तो पुरानो मिथकको के महत्व अथवा सान्दर्भिकता छ?

आधुनिक युवायुवतीले हाम्रो ईतिहास खोतलोस्। त्यसको पनि अभिबोध होस् उनीहरुलाई। हामी कहाँ बसिरहेका छौं, हाम्रो यो ठाउँ कसरी बन्यो भन्ने कुरा। यो नेपाल मण्डल शुरूवातदेखि बस्तीयोग्य भएपछि अहिलेसम्म यहाँ के के भयो त?

अर्को कुरा चाहिँ हाम्रो नाटकले कुमारी जीवन र उसले परित्याग गरेका कुराहरु देखाउँछ।

उसले चाहिँ राज्यका लागि गरेको हो। हामी त्याग पनि गर्नुपर्छ, आफ्नो लागि होइन अर्काको लागि। त्यो त सिकाउनु पर्यो नि। संस्कार त दिनु पर्यो। संस्कार दिएन भने आजका युवाले जिन्दगीभर दुःख पाउँछन्।

यसमा तपाईंले परम्परागत भेषभुषा, गहना र नृत्य प्रयोग गर्नुभएको छ। यति सब गरेर प्राचीन मिथकलाई आधुनिक मञ्चमा उतार्न कस्तो खालको चुनौतीहरू थिए?

काठमाण्डुमा अहिले पनि महाकाली नाचहरु, कुमार-दैत्यका नाचहरु र भैरव-कालीका नाचहरु छन्। हामीले त्यहाँबाट कुमारी र गुह्येश्वरीका चर्या नृत्यहरु प्रयोग गरेका छौं।

त्यस बाहेक कुमारी, दैत्य र अरु पात्रमा कसरी आधुनिकता ल्याउने भनेर हामीले ब्यालेमा परिणत गर्यौं। ब्याले रुसबाट आएको नृत्य शैली हो। फ्रान्सबाट एकजना क्यामिल भन्ने नृत्य प्रशिक्षकलाई यहाँ बोलाएर महिनौं दिन क्लास दियौं।

यसलाई आधुनिक रुपमा कसरी प्रस्तुत गर्ने ? एउटा चाहिँ मुद्राबाट। जस्तै, म तिमीलाई माया गर्छु भनेर बोल्नु नै जरुरी छैन। ब्याले, कन्टेम्पररी सबै मिसाएर राखेको।आधुनिकता ल्याउने काम ट्रिना जीले गर्नुभयो। 

यस किसिमले चर्या नृत्य र अरु प्राचीन कलाहरु अहिले आधुनिक मञ्चमा आईरहेका छन्। तर प्राचीन, डबलीमा गरिने परम्परागत शैली पनि अझै छ। त्यो चाहिँ अलिकति ओझेलमा परेजस्तो छ। त्यो नै नाश हुँदैछ भन्ने बारेमा कत्तिको चिन्तित हुनुहुन्छ?

जुन पींढिले गरिराखेको छ, त्यसपछिको पींढि त यसमा लाग्नेवाला छैन। तिनीहरुले छोड्दै गइरहेका छन्।

अब यसलाई कसरी जगेर्ना गर्ने भन्ने कुरा हो। परम्परागत नाच त अझै पनि वर्षेनी भइरहेको छ। डबलीमा आउँछन्, कसैले हेरोस् नहेरोस् आफ्नै तालमा बाजा बजाउँछन्, नाच्छन्, जान्छन्।

Nepal: Mask Dancers on Indra Jatra Festival
Masked dancers perform ritual traditional dance during Indra Jatra Festival celebrated in Basantapur Durbar Square, Kathmandu, Nepal. Source: AAP / Michael Nigro

त्यो सही ढंग पनि भएन एउटा कुरा।

हामीले यसमा चाहिँ एकतर्फ वहाँहरूको जस्ताको तस्तै पनि छ, अर्कोतर्फ त्यसलाई परिवर्तन गरेर अर्कै शैलीमा पनि देखाएका छौं। हामीले यस्तो तरीकाले ठाउँ ठाउँमा खुला थिएटरहरुमा देखाउन गयौं भने कम से कम दर्शकले केही आइडिया लिन्छन्।

हाम्रो त यस्तो छ है, यसलाई नासिन दिनु हुन्न है। यसलाई किन जगेर्ना नगर्ने? त्यो गर्न सक्यो भने केही हुन्छ कि भन्ने कहिँ कहिँ आशा छ मलाई।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now