कमनवेल्थका लागि समर्पित जीवन
एलिजाबेथ एलेक्जेन्ड्रा मेरी विन्जरको सन् १९२६ मा जन्म भएको थियो।
दोस्रो विश्वयुद्धताका किशोरावस्थामा रहेकी राजकुमारी एलिजाबेथ बेलायती सेनाको महिला शाखामा आबद्ध थिइन् भने सवारी चालक र मेकानिकको तालिम प्राप्त थिइन्।
सन् १९४७ उनले ग्रिस र डेनमार्कका राजकुमार फिलिपसँग विवाह गरिन र चार बच्चाकी आमा बनिन्: चार्ल्स, एन, एन्ड्रु र एडवार्ड।
चार्ल्स र एन सन् १९५२ को केन्या भ्रमण भन्दा अगाडी जन्मिएका थिए।
उक्त भ्रमणलाई उनका पिता राजा जर्ज छैटौँको असामयिक निधन पश्चात् छोट्टाउनु परेको थियो।
महिनौँ लामो तयारी पश्चात्, सन् १९५३ को जुन २ तारिखमा, युवा राजकुमारीलाई लन्डनको वेस्ट मिनिस्टर एबीमा राज्याभिषेक गरियो।

विश्वभरका करोडौँ मानिसहरूले सो राज्याभिषेक हेर्दा टेलिभिजनको सुरुवाती समयको एक ऐतिहासिक क्षण बन्यो।
राजगद्दी सम्हाल्नु भन्दा केही वर्ष अगाडी नै राजकुमारी एलिजाबेथले आफ्नो जीवन कमनवेल्थको सेवाका लागि समर्पित गरेकी थिइन्।
संवैधानिक राजतन्त्रको लागि अस्ट्रेलियालीहरूलाई एक ठाउँमा ल्याउने राष्ट्रिय पदमा रहेका प्रोफेसर डेभिड फ्लिन्टले उनको कमनवेल्थको सेवा गर्ने प्रतिबद्धता उनको अप्रिल १९४७ को २१ औँ जन्मदिनमा प्रसारण गरिएको थियो।
त्यति बेला उनी आफ्ना अभिभावक र बहिनीसँग दक्षिण अफ्रिकाको भ्रमणमा रहेकी थिइन्।
"जब उनी २१ औँ जन्म दिनका समय राज परिवारका साथमा केप टाउनमा थिइन्, उनी रेडियोमा गइन् र कमनवेल्थलाई सम्बोधन गरिन्। उनले गरेको सम्बोधनमा चर्चित प्रावधान रहेको थियो।"
महारानी एलिजाबेथ "म तपाईँहरू सम्पूर्णको सामुन्ने घोषणा गर्छु कि मेरो पुरा जीवन, लामो होस् वा छोटो, तपाइको सेवामा र हाम्रो महान् साम्राज्यवादी परिवारका लागि समर्पित हुनेछ जसमा हामी सबै पर्छौँ।"
कमनवेल्थमा ५४ स्वतन्त्र राष्ट्रहरू पर्दछन् जसको कुल जनसङ्ख्या २ अर्ब ४० करोड रहेको छ।
अहिलेको आधुनिक कमनवेल्थको स्थापना सन् १९४९ अप्रिल २६ तारिखमा भएको थियो।
त्यति बेला अस्ट्रेलिया, क्यानडा, भारत, न्यु जिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का र संयुक्त अधिराज्यका नेताहरूले लन्डन घोषणा वा लन्डन डिक्लरेसन लाई लागु गरे।
उक्त घोषणामा कमनवेल्थलाई स्वतन्त्र सदस्य राष्ट्रहरूको "स्वतन्त्र सङ्घ" का रूपमा परिभाषित गर्यो।
सन् १९५४ मा महारानी र राजकुमार फिलिपले छ महिना विश्व भ्रमणमा बिताए र त्यति बेला अस्ट्रेलियाको पनि भ्रमण गरेका थिए।
महारानीको अस्ट्रेलिया सम्बन्ध

त्यो बेलायती राष्ट्र प्रमुखलेअस्ट्रेलिया भ्रमण गरेको पहिलो अवसर थियो।
र डेभिड फ्लिन्टले आफू १६ वर्षको हुँदा भएको सो भ्रमणको स्मरण गर्छन्। राज जोडीलाई हेर्न उनले सिड्नीको मक्व्यरि स्ट्रिटमा नै रात बिताएका थिए।
"म सम्झिन्छु म मेरा स्कुलका साथीहरूसँग गएको थिएँ। र हामीले रात सिड्नीको मक्व्यरि स्ट्रिटमा बिताएका थियौँ र मलाई याद छ उनीहरूलाई मक्व्यरि स्ट्रिटमा देखेको।“
सन् १९९९ मा अस्ट्रेलियामा गणतन्त्रको लागि भएको असफल जनमतसंग्रह पश्चात उनको जीवनकाल भरि उक्त मुद्दा नउठाउने निर्णय भयो।
उनको शासनकालमा, महारानी ६ सय बढी परोपकारी संस्थाहरूकी संरक्षक रहेकी थिइन्। जसमा सैन्य, स्वास्थ्य र जनावरहरूको संरक्षण सम्बन्धी संस्थाहरू पनि रहेका थिए।
उनले आफ्नो जीवनकालमा अनगिन्ती मानिसहरूसँग भेट गरेकी थिइन्, र मानिसहरूको साहसले उनलाई निकै प्रोत्साहित गर्दथ्यो।
"सामान्य मानिसहरू जसले असामान्य कार्यहरू गरेका छन् उनीहरूलाई भेटेर मलाई शक्ति मिल्दछ। स्वयंसेवक, स्याहारकर्मीहरू, सामुदायिक संस्था र असल छिमेकीहरू।"
सक्रियता

महारानी एलिजाबेथ आफ्नो गद्दीनसीन जीवनभर ६०० बढी परोपकारी संस्थाहरूकी संरक्षक रहेकी थिइन्। जसमा सैन्य, स्वास्थ्य र जनावरहरूको संरक्षण सम्बन्धी संस्थाहरू रहेका थिए।
महारानीले गत वर्ष नोभेम्बरमा ग्लस्गोमा आयोजित संयुक्त राष्ट्र सङ्घको जलवायु सम्मेलनमा प्रतिनिधिहरू समक्ष राखिएको एक भिडियोमा आफू लगायत कोही पनि अमर नभएको बताएकी थिइन्।
अप्रिल सन् २०२० मा लाखौँ मानिसहरूको कोभिड-१९ का कारण मृत्यु भइरहँदा महारानीले निकै दुर्लभ सार्वजनिक सम्बोधन गरिन्।
विज्ञानको विकास र मानिसहरूको निको हुने नैसर्गिक चाहले अन्ततः महामारीबाट बाहिरिन सफल बनाउने उनले बताएकी थिइन्।
"हामी सफल हुन्छौँ र त्यो सफलता हामी सबैको हुनेछ। हामीले यो सोचेर आनन्द मान्नु पर्छ कि अझै धेरै झेल्न बाँकी भए पनि, राम्रा दिनहरू फर्किने छन्।"
महारानी एलिजाबेथ कमनवेल्थको प्रमुख हुन् र १६ कमनवेल्थ राष्ट्रहरूकी प्रमुख पनि हुन्, जसमा अस्ट्रेलिया पनि पर्दछ।
अन्य सदस्य राष्ट्रहरू या त गणतान्त्रिक या आफ्नै राजसंस्था भएका छन्।
महारानीले भोगेका अप्ठ्याराहरू

सन् १९९७ मा महारानीको लोकप्रियतामाथि प्रश्न उठ्यो जब राजकुमारी डायनाको कार दुर्घटनामा पेरिसमा ज्यान गयो।
पाँच दिनसम्म सार्वजनिक रूपमा देखा नपरेपछि सर्वसाधारणको दबाब बढ्यो र उनले राष्ट्रको नाममा सम्बोधन गरिन।
"उनी भिन्न र गुणवान् मानव थिइन्। राम्रो वा नराम्रो समय, उनले कहिल्यै पनि मुस्काउन र हाँस्न सक्ने क्षमता गुमाइनन् साथै न्यानोपन र दयालुपनबाट अरूलाई प्रेरित गर्न छोडिनन्।"
महारानी एलिजाबेथको समयको राजतन्त्र लोकप्रिय भएको प्रमाणित हुन्छ।
र सन् २०१२ मा उनको हीरक जयन्तीमा उनको विश्वव्यापी प्रशंसा भयो।
तिन वर्ष पश्चात उनी बेलायती राजतन्त्रमा लामो समयसम्म गद्दीमा रहने महारानी बनिन्।
१२ महिना पछि, सन् २०२१ को अप्रिलमा महारानीले निकै गहिरो व्यक्तिगत क्षति व्यहोर्नु पर्यो।
१०० वर्ष पुग्नु भन्दा दुई महिना अगाडी आफ्ना ७३ वर्ष लामो सहयात्रा गरेका श्रीमानको निधन भयो।
कोभिड-१९ प्रतिबन्धहरूका कारण महारानी एक्लै राजकुमार फिलिप्सको दाहसंस्कारमा बसेको देखिइन्।
राजकुमार चार्ल्सलाई आफ्ना पिता प्रति सम्मान दिने अभिभारा दिइएको थियो।
महारानी राजगद्दीमा आसीन भएको ७० वर्ष पुरा गर्दै प्लेटिनम जुबलीमा प्रवेश गरिरहँदा, राज परिवार भने राजकुमार एन्ड्रु र बाल यौन दुराचारी दोषी करार गरिएका जेफ्री एप्स्टेनबिचको मित्रताका कारण विवादमा आयो।
त्यस्तै राजकुमार ह्यारी र उनकी श्रीमती मेघन मार्केलको अन्य परिवारका सदस्यसँगको चिसो सम्बन्धको विषयले पनि विवाद सिर्जना गर्यो।
उनै महारानी एलिजाबेथ द्वितीयाको निधन पश्चात उनको सम्मानमा विश्वभरबाट प्रतिक्रिया आइरहेका छन्।
र राजतन्त्रवादी डेभिड फ्लिन्ट भन्छन् अस्ट्रेलियाली र कमनवेल्थ सधैँ उनको सेवाको ऋणी हुनु पर्छ।





