सन् २०२१ को पछिल्लो जनगणनाले अस्ट्रेलियामा हरेक रात १२२,००० भन्दा बढी मानिस घरबारविहीन हुने गरेको देखाएको छ।
घरबारविहीन हुनु भनेको आफ्नो टाउकोमाथि छाना नहुनुमा मात्र सीमित हुँदैन।
अदृश्य घरबार विहीनताले अत्यधिक भिडभाड भएको आवास, सोफामा वा कारमा सुत्ने वा सङ्कटको बेला बस्ने ठाउँ क्राइसिस अक्कोमोडेसनमा बस्ने मानिसहरू पनि समावेश गर्छ।
गैर-सरकारी संस्थाहरूले सामान्यतया राज्य वा सङ्घीय सरकारको कोष प्रयोग गरेर सङ्कट आवास उपलब्ध गराउँछन्।
सङ्कट आवास कसको लागि हो?
जेड डनहयु सेल्भेसन आर्मीको होमेलेस्नेस नेसनल म्यानेजर हुन्।
र उनी भन्छन् सङ्कट आवास भनेको तत्काल नै आवश्यक भएका मानिसहरूलाई दिइने सुरक्षित किसिमको अस्थायी आवास प्रबन्ध हो।
"घरबारविहीन हुने कारणहरू भनेको कसैले जागिर गुमाउनु, सस्तो भाडाको आवासको अभाव, गरिबी, सामान्य स्वास्थ्य समस्याहरू वा मानसिक स्वास्थ्य समस्या जस्ता अवस्थाहरू हुन सक्छन्।"

घरेलु हिंसाका कारण घर छोड्ने महिलाहरू
सन् २०१६ देखि महिला घरबार विहीन हुने घटनामा १०.१ प्रतिशतले वृद्धि भएको अस्ट्रेलियाको तथ्याङ्क विभाग एबीएसले जनाएको छ।
एनाबेल ड्यानियल वुमेन्स कम्युनिटी सेल्टर (डब्लुसीएस)की प्रमुख कार्यकारी अधिकृत हुन्।
र उनी पनि घरेलु तथा पारिवारिक हिंसाका कारण धेरै महिलाहरू घरबारविहीन भएको उनीहरूले देखिरहेको भनाइ राख्छिन्।
डब्लुसीएसले ले घरबारविहीन महिलाहरूको लागि छोटो समयको आपत्कालीन आवास र सहयोग खोज्न मद्दत गर्छ ताकि उनीहरूले आफ्नो जीवन पुन: सुरुवात गर्न सकुन्।
ड्यानियल भन्छिन्, नेटवर्कले महिलाहरूलाई सस्तो, स्थायी आवास खोज्न मद्दत गर्छ जहाँ उनीहरू दुर्व्यवहारबाट मुक्त रहन सक्छन्।
डब्लुसीएस राज्य सरकारको हेल्प लाइनहरू र न्यु साउथ वेल्स र त्यसभन्दा बाहिर छरिएका स्थानीय समुदायहरूसँग जोडिएको छ।
र ड्यानियलको सुझाव छ कि यदि तपाईँले कम्प्युटर वा फोन प्रयोग गर्न सुरक्षित छ भने, तपाईँले वुमेन्स कम्युनिटी सेल्टर भनेर सर्च गर्न सक्नुहुन्छ वा यसको वेबसाइटमा जानुहोस्।
मद्दतको लागि सोध्नु कहिलेकाहीँ सबैभन्दा अप्ठ्यारो कुरा हुन सक्छ, तर समर्थनको लागि धेरै विकल्पहरू भएकोमा उनी जोड दिन्छिन्।
"यो (सङ्कटको) अवस्थामा एक्लोपनमा बस्न आवश्यक छैन। त्यहाँ धेरै अद्भुत विशेषज्ञता र धेरै समुदायहरू छन् जसले तपाईँलाई समर्थन र सहयोग गर्नेछन्।"

अनि घरेलु वा पारिवारिक हिंसा भोगेका अन्यको लागि के उपलब्ध छ?
यदि तपाईँ घरबारविहीन हुने अवस्था वा घरेलु र पारिवारिक हिंसाबाट गुज्रिँदै हुनुहुन्छ भने प्रत्येक राज्य र प्रदेशहरूमा सङ्कट समर्थन हेल्प लाइनहरू रहेका छन्।
र निस्सन्देह, घरेलु र पारिवारिक हिंसाका कारण महिला मात्र घर छाडेर भाग्दैनन्।
भिक्टोरियाको सेफ स्टेप्सले फोनमा हप्ताको सातै दिन २४ घण्टा पारिवारिक हिंसा सम्बन्धी सङ्कटमा सेवा दिन्छ।
यसले कुनै पनि उमेर, लिङ्ग, क्षमता र जुन सुकै भिसामा भएका मानिसहरूलाई पारिवारिक र घरेलु हिंसाबाट बच्न विशेष समर्थन पाउन सहयोग गर्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
निकोल अब्दिल्ला सेफ स्टेप्सको आवासीय सेवा तर्फकी कार्यकारी प्रबन्धक हुन्।
र उनी सेफ स्टेप्सले कसरी काम गर्छ भन्ने बारे बताउँछिन्।
"हामीले जोखिम मूल्याङ्कन र सुरक्षा योजना सञ्चालन गरेर, भिक्टोरियाभरि आपत्कालिन र समर्थित आवासको लागि मार्गहरू प्रदान गर्छौँ। यदि व्यक्ति गम्भीर जोखिममा रहेको मूल्याङ्कन गरिएको छ भने, हामी उसलाई सङ्कट आवास दिलाउन मद्दत गर्छौँ। "
आफ्नो वा अरू कसैको सुरक्षाको बारेमा चिन्ता छ भने जो कोहीले १८०० ०१५ १८८ मा फोन गरेर, safesteps.org.au मा इमेल गरेर वा तिनीहरूको वेबसाइटमा उपलब्ध रहेको च्याट सेवा मार्फत कुनै पनि समय सेफ स्टेप्सलाई सम्पर्क गर्न सक्छन्।

के तपाईँ अहिले सुरक्षित हुनुहुन्छ?
जब तपाईंले सङ्कट हेल्प लाइनमा कल गर्नुहुन्छ तपाईँको तत्कालको अवस्थाका बारेमा केही प्रश्नहरू सोधिनु सामान्य हो।
जसमा तपाईँ सुरक्षित भए नभएको, अङ्ग्रेजी बाहेकको भाषामा कुरा गर्न खोज्नेहरूका लागि उनीहरूको भाषा के हो, त्यस्तै कल ब्याक गर्न कत्तिको सुरक्षित हुन्छ लगायतका प्रश्नहरू सोध्न सकिने अब्दिल्लाको भनाइ छ।
यदि तपाईँ अङ्ग्रेजी बोल्नुहुन्न भने पनि तपाईँको साथी, सामुदायिक सेवा, जीपी वा तपाईँको अङ्ग्रेजी कक्षाको कोहीले - तपाईँको तर्फबाट दोभाषे उपलब्ध गराइदिन अनुरोध गर्न सक्छन्।
समर्थन सेवाहरूको बढ्दो माग
यदि तपाईँ तत्काल जोखिममा हुनुहुन्न भने, सेफ स्टेप्सले स्थानीय पारिवारिक हिंसा विशेषज्ञहरू र अन्य समर्थन सेवाहरूसँग सम्पर्क राख्न सहयोग गर्छ।
यसमा उपयुक्त किसिमको आप्रवासी र कानूनी सेवाहरू पनि पर्न सक्छन्।
तर दुर्भाग्यवश, अस्ट्रेलियामा पूरा गर्न सकिने क्षमता भन्दा बढी माग छ।
थप सहयोगको आवश्यकता हुँदा हुँदै पनि सेल्भेसन आर्मीले अहिले नै पनि घरबार विहीन ४०,००० मानिसहरूका लागि काम गर्छ र प्रत्येक वर्ष ८५०, ००० सङ्कट बेडहरू प्रदान गर्छ।
डा डनहयु धेरै राज्यहरूमा तपाईँहरूको नजिक रहेका सेवा प्रदान गर्ने स्थानसम्म पुग्ने बाटोहरू हुन्छन्।
"धेरै जसो राज्य सरकारहरूमा प्रणालीहरू छन् जहाँ मानिसहरू एक ठाउँमा गएपछि घरबार विहीनहरूलाई सहयोग प्रदान गर्ने प्रणालीमा पहुँच प्राप्त गर्न सक्छन्।"
सेवा प्रदायकसम्म पुग्ने सुरुवाती बिन्दु फेला पार्न, गुगलमा आफ्नो राज्य वा प्रदेशमा रहेको 'क्राइसिस अक्कोमोडेसन' सम्बन्धी सरकारी वेबसाइट खोज्नुहोस्। अथवा तपाईँ बस्ने ठाउँमा रहेका सेल्भेसन आर्मीका कुनै प्रतिनिधिलाई सम्पर्क गर्नुहोस् र भेट्ने समय निर्धारण गर्नुहोस्।

केही 'क्राइसिस अक्कोमोडेसन' सेवाहरू:
सङ्कटमा तपाईँले घरेलु र पारिवारिक हिंसाबाट भाग्ने व्यक्तिहरूको लागि आवास सहायताको लागि 1800RESPECT लाई फोन गर्न सक्नुहुन्छ।
सेल्भेसन आर्मी: 13 SALVOS (१३ ७२ ५८)
वुमेन्स कम्युनिटी सेल्टर्स: १८०० १५२ १५२
सेफ स्टेप्स: १८०० ०१५ १८८
अस्ट्रेलियन रेड क्रस: १८०० ७३३ २७६
असाइलम सीकर्स सेन्टर: (०२) ९०७८ १९००
मिसन अस्ट्रेलिया: १८०० २६९ ६७२
होमलेसनेस अस्ट्रेलिया: १८०० ८२५ ९५५
सङ्कटको बेला सरकारद्वारा गरिने भुक्तानी
यदि तपाईँलाई निकै खराब परिस्थितिको कारणले आफ्नो घर छोड्नै पर्ने भयो भने, तपाईँ सरकारी सङ्कट भुक्तानीको लागि पनि योग्य हुन सक्नुहुन्छ।
सर्भिस अस्ट्रेलियाका प्रवक्ता जस्टिन बट यो भुक्तानी गम्भीर आर्थिक कठिनाइ भोगिरहेका मानिसहरूका लागि उपलब्ध रहेको बताउँछन्।
सर्भिसेस अस्ट्रेलियाको १३१ २०२ मा बहुभाषी फोन सेवा छ, र वेबसाइटलाई पनि धेरै भाषाहरूमा अनुवाद गर्न सकिन्छ।
तपाईँसँग कुनै निश्चित ठेगाना नभए तापनि तपाईँलाई दिइँदै आइएको भुक्तानीहरू पाउनु हुनेछ।
यो सम्झन महत्त्वपूर्ण छ कि विशेष प्रशिक्षित व्यक्तिहरू तपाईँलाई मद्दत गर्न उपलब्ध छन्।
मिसन अस्ट्रेलिया, सेन्ट भिन्सेन्ट डे पल र अस्ट्रेलियन रेड क्रसले पनि तपाईँ जहाँ भए पनि र तपाईँलाई आवश्यक परेको बेलामा सङ्कटकालीन आवास र सहायता सेवाहरू उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्छन्।






