अस्ट्रेलियामा एन्टीबायोटिकको चरम अभाव भएपछि चिकित्सक एवम् औषधि पसलहरूले विकल्प खोजिरहेका छन्।
माइक योङ्गले फर्मासिस्टका रुपका काम गर्न थालेको १६ वर्ष भयो तर उनले आफ्नो करिअर मै पहिलो पटक एन्टीबायोटिकको चरम अभाव भोगेका बताउँछन्।
“मैले कमाउण्डीङ्ग फार्मासिस्टका रूपमा काम गरेको झन्डै सात वर्ष भयो, अहिलेसम्म एन्टीबायोटिक बनाउन परेको थिएन, पहिले जहाँ कहीँ, सस्तो भाउमा एन्टीबायोटिक किन्न पाइन्थ्यो,” योङ्गले भने।
तर अहिले आएर अवस्था परिवर्तन भएको छ।
योङ्गका अनुसार उनका एक जना ग्राहकले पाँच वटा औषधि पसलमा घुम्दा पनि एन्टीबायोटिक किन्न नपाएपछि, उनी कहाँ कम्पाउन्डिङ्ग एन्टीबयोटिक खरिदका लागि आइपुगे।
कम्पाउण्डिङ्ग केमिस्टले एन्टीबायोटिक बनाउन मिल्छ?
कम्पाउण्डिङ्ग केमिस्टले एन्टीबायोटिक बनाउन सक्ने भए पनि, बजारमा पाइने एन्टीबायोटिकले बिरामीलाई एलर्जी वा अन्य कुनै समस्या दिएको खण्डमा मात्र उनीहरूकोमा ग्राहक आईपुग्छन्।
“मलाई यो कुराले निकै चिन्तित तुल्यायो, एक त औषधि महँगो पर्न जान्छ, दोस्रो चाहिँ अत्यावश्यक औषधिको बजारमा देखिएको चरम अभावलाई यसले झल्काउछ्,” योङ्ग भन्छन्।
हाल अस्ट्रेलियामा ३५० भन्दा बढी किसिमका औषधिहरू अभाव छ, यसमा पनि ४५ प्रकारका औषधिको त झन् चरम अभाव नै भइसक्यो।
तर अस्ट्रेलियाको औषधि नियामक निकाय थेरापेटिक गुड्स एडमिनीस्ट्रेशनका अनुसार भने अघिल्ला तीन वर्ष यताको अवस्थालाई हेर्ने हो भने यो निकै कम हो।
एन्टीबायोटिकमा चाहिँ करिब २० प्रकारका औषधिको अभाव यतिखेर अस्ट्रेलियाले भोगिरहेको छ।

के कारणले एन्टीबायोटिकको अभाव भएको हो?
थेरापेटिक गुड्स एडमिनीस्ट्रेशनका प्रमुख सहायक प्राध्यापक जोन स्किरीट एन्टीबायोटिकको अभाव हुनुमा थुप्रै कारणहरू रहेको बताउँछन्।
“हामीले के बुझ्नुपर्छ भने, उत्तरी गोलार्द्धमा मानिसहरू चिसो मौसमको बिचमा छन्, र त्यहाँ छाती र अन्य रोगको सङ्क्रमण बढेको छ, अस्ट्रेलियामा मात्र यसको अभाव भएको होइन,” स्किरीट भन्छन्।
यस बाहेक ढुवानी र प्राकृतिक विपत्ले पनि यसमा प्रमुख भूमिका खेलिरहेको बताइन्छ।
रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टीसनरका प्रमुख, डाक्टर माइकल राइट यसका बारेमा दीर्घकालीन समाधान खोजिनु पर्ने बताउँछन्।
“यो समस्याको दीर्घकालीन समाधान खोजिनु पर्छ, बिरामीलाई आवश्यकता परेका बेला एन्टीबायोटिक पाउनुपर्छ,” उनले भने।
टीजीएले समस्या समाधानका लागि प्रयास गरिरहेको र विकल्पहरूका बारेमा पनि विचार गरिरहेको जोन स्किरीटले बताए।
“जुलाईदेखि लागु हुने गरी पीबीएसबाट अनुदान पाउने कम्पनीहरूले ४ देखि ६ महिनासम्मलाई पुग्ने औषधि भण्डारण गर्नै पर्छ,” स्किरीटले नयाँ नियमका बारेमा भने।
अस्ट्रेलिया मै यस्ता औषधि उत्पादन हुने भए अभाव हुने सम्भावना कम हुने भएता पनि प्राध्यापक स्किरीट भने अस्ट्रेलियामा सबै औषधिहरू उत्पादन गर्न असम्भव हुने बताउँछन्।
"हामीले अस्ट्रेलियामा प्रयोग हुने सबै औषधिहरूलाई रजिस्टर्ड गरेका छौ, अस्ट्रेलियामा लाखौँ आषधिहरु प्रयोग हुन्छन्, सबै औषधिहरू अस्ट्रेलियाले बनाउन सक्दैन, यो भनेको संसारमा भएका सबै गाडीका मोडल बनाउ भनेको भन्दा पनि चुनौतीपूर्ण छ।”
टीजीएले आगामी महिनाबाट एन्टीबायोटिकको आपूर्ति बढ्ने र इस्टरसम्म अवस्था सामान्य बनिसक्ने आशा गरेको छ।





